सामसङको ग्यालेक्सी रिङ (औँठी) अब ५३ देशहरूमा उपलब्ध हुने भएको छ।
यसमा भएको स्मार्ट वेयरेबल प्रविधिको कारण सकारात्मक प्रतिक्रिया पाएरहेको यस स्मार्ट रिङलाई कम्पनीले ५३ देशहरूमा उपलब्ध गराएको बताएको छ।
यो स्मार्ट रिङ १५.७ मिलिमिटरदेखि करिब २४ मिलिमिटरसम्मको ११ विभिन्न आकारहरूमा उपलब्ध हुने कम्पनीको भनाइ छ।
यसको ब्याट्री सात दिनसम्म टिक्ने कम्पनीको दाबी छ।
प्रिमियम टाइटेनियम धातुबाट बनेको ग्यालेक्सी रिङ तीन रंगहरू टाइटेनियम ब्ल्याक (कालो), टाइटेनियम सिल्भर (चाँदी), र टाइटेनियम गोल्ड (सुनौलो) मा उपलब्ध छ।
यो पानी (आइपी ६८) र धुलो प्रतिरोधी छ। १०० मिटरसम्मको पानीको गहिराइमा पुग्दा समेत यसमा पानी नपस्ने बताइएको छ।
ग्यालेक्सी रिङ २०२४ मा ग्यालेक्सी जेड फोल्ड ६ स्मार्टफोन सिरिजको साथमा सार्वजनिक गरिएको थियो। भारतमा सामसङ ग्यालेक्सी रिङको मूल्य ३८ हजार ९९९ भारू तोकिएको छ।
निद्रा परे नपरेको, सुत्दा घुरे नघुरेको विश्लेषण यस रिङले गर्दछ। यो रिङ लगाउने व्यक्ति दैनिक कति समय सुत्छ, उसको मुटु तथा श्वासप्रश्वास प्रणाली कस्तो छ लगायतको जानकारी प्रदान गर्दछ।
सामसङ एआईकासाथै यसले एक विस्तृत स्वास्थ्य रिपोर्ट तयार गर्छ जसमा ऊर्जा स्कोर जस्ता स्वास्थ्य मेट्रिक्सहरू समावेश हुन्छन्।
ग्यालेक्सी रिङमा तीन–सेन्सर प्रणाली छ जसमा अप्टिकल बायो–सिग्नल सेन्सर, तापक्रम सेन्सर र एक्सेलेरोमिटर पर्दछ। यसले सामसङको हेल्थ एपसँग मिलेर काम गर्छ।
प्रयोगकर्ताहरूले हाउभाउ (जेस्चर) बाटै ग्यालेक्सी स्मार्टफोनमा फोटो खिच्न वा अलार्म बन्द गर्न र डबल पिन्चको प्रयोग गर्न सक्छन्।