टिकटकले कन्टेन्ट क्रिएटरहरूसँग सेफ्टी एम्बेसडर कार्यक्रम अन्तर्गत नेपालमा डिजिटल सुरक्षाबारे चेतना जगाउन कार्यक्रम गरेको छ।
शनिबार काठमाडौंमा एक कार्यक्रम गर्दै टिकटकले सेफर टुगेदर अभियान सञ्चालन अन्तर्गत आफ्ना प्रयोगकर्ता र प्लेटफर्म दुवैको सुरक्षामा जोड दिएर के गर्न सकिन्छ र के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित सामूहिक छलफल गरेको हो।
कार्यक्रममा ओशिन सिटौला, पराक्रम राणा, मङ्गिता मानन्धर (माई डार्लिंग फुड), सुशान्त प्रधान, राष्ट्र विमोचन तिमल्सेना र श्री पाण्डेलगायत कन्टेन्ट क्रिएटर सहितको सामूहिक छलफल भएको थियो।
वक्ताहरूले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगीहरू लगायतका डिजिटत सुरक्षाका विभिन्न पक्षहरूबारे छलफल गरेका थिए।
कार्यक्रममा कसरी आकर्षक कन्टेन्ट सिर्जना गरेर राम्रो कन्टेन्ट क्रिएटर बन्न सकिन्छ भन्नेबारे कार्यक्रमका अतिथिहरूलाई सुझाव र दिशानिर्देशहरू पनि दिइएको थियो।
त्यस्तै टिकटक प्लेटफर्ममा 'सेफ्टी सेन्टर' मा सुरक्षा अपडेटहरूका लागि केन्द्रीकृत स्थान प्रदान गरिएको र यसले प्लेटफर्ममा सुरक्षा दिन सबै कार्यहरू सम्बन्धी जानकारीहरू प्रदान गर्ने जनाइएको छ।
सुरक्षा केन्द्रमा नयाँ प्रयोगकर्ता र अभिभावकहरूका लागि गाइड, सुरक्षा सुनिश्चित गर्न के गर्ने भन्ने जानकारी र पूर्ण गोपनीयता गाइड सहितका सबै टुल्स र सुझावहरू समावेश गरिएको बताइएको छ।
नेपाल सरकारले फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने भनेर तीन महिना समय दिएको थियो। जसअनुसार नभएपछि टिकटक प्रतिबन्ध गरिएको थियो। पछि टिकटक नेपाल सरकारले राखेका सबै सर्त र निर्देशिकाले व्यवस्था गरेका विषयमा सहमति जनाउँदै दर्ता भयो र प्रतिबन्ध पनि फुकुवा भएको हो।
धेरै टिकटक प्रयोगकर्तालाई नेपालमा कहिलेदेखि मनिटाइजेसन फिचर सुरू हुन्छ भन्ने चासो देखिन्छ।
हाल अमेरिका, जर्मनी, युके, फ्रान्स, इटाली, स्पेन लगायतका देशमा टिकटक मनिटाइजेसन फिचर उपलब्ध छ। दक्षिण एसियाका भने कुनै पनि देशमा यो फिचर उपलब्ध छैन।
लाइभमार्फत् कन्टेन्ट बनाएर गिफ्टबाट आम्दानी गर्नेहरू धेरै भए पनि तत्काल दक्षिण एसियामा टिकटक मनिटाइजेसन फिचर सुरू हुने देखिँदैन।
टिकटकले मनिटाइजेसन फिचर नभएका देशहरूमा सम्भाव्यता अध्ययन गरिरहेको छ। तर नेपाल लगायत दक्षिण एसियाली देशमा यो फिचर कहिले सुरू हुन्छ भन्ने अहिल्यै भन्न सकिने अवस्था छैन।