अहिले दुइटा उपग्रह एक ऐेतिहासिक 'मिसन' मा अन्तरिक्षको यात्रामा निस्केका छन्। उनीहरूको लक्ष्य कृत्रिम सूर्यग्रहण सिर्जना गरेर सौर्य वायुमण्डलको बाहिरी सतहको थप अध्ययन गर्ने हो।
युरोपियन स्पेस एजेन्सी (इएसए) को प्रोबा-३ मिसन अन्तर्गत दुई उपग्रहको प्रक्षेपण बुधबार दिउँसो गर्ने कार्यक्रम तय भएको थियो। तर केही प्राविधिक समस्याका कारण निर्धारित कार्यक्रम एक दिन पर धकेलियो।
अन्तत: नेपाली समय अनुसार बिहीबार दिउँसो करिब ४:२० बजे आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को सतिश धवन अन्तरिक्ष केन्द्रबाट यी दुई उपग्रह प्रक्षेपण गरियो। प्रक्षेपणको लगभग १८ मिनेटपछि यी दुई उपग्रह इसरोको पिएसएलभी प्रक्षेपण यानबाट छुट्टिएका थिए।
यीमध्ये ओकल्टर स्पेसक्राफ्ट (ओएससी) नाम दिइएको एक उपग्रहको आयतन २ घनमिटर र वजन करिब २४० किलोग्राम छ। यसमा १.४ मिटर व्यास भएको एउटा गोलो 'डिस्क' पनि छ। कोरोनाग्राफ स्पेसक्राफ्ट (सिएससी) नामक अर्को उपग्रहको आयतन १ घनमिटर र वजन करिब ३१० किलोग्राम छ।
कसरी बन्नेछ कृत्रिम पूर्ण सूर्यग्रहण?
करिब चार महिना विभिन्न परीक्षण भएपछि यी दुई उपग्रह एउटा अत्यन्तै लाम्चो अण्डाकार कक्षमा प्रवेश गरेर पृथ्वीको परिक्रमा गर्नेछन्। यो कक्ष र पृथ्वीबीचको दुरी कम्तीमा ६०० किलोमिटर र बढीमा ६० हजार किलोमिटर हुनेछ।
पृथ्वीबाट सबभन्दा टाढाको विन्दुमा पृथ्वीको गुरूत्वाकर्षणको प्रभाव सबैभन्दा कमजोर हुनेछ। त्यस विन्दुमा अगाडि उडिरहेको ओकल्टरले डिस्कको मद्दतले सूर्यलाई पूरै छेकेर कृत्रिम पूर्ण सूर्यग्रहण सिर्जना गर्नेछ। त्यस बेला छायामा परेको कोरोनाग्राफमा रहेका उपकरणले सूर्यको वायुमण्डलको सबैभन्दा बाहिरी सतह (कोरोना) को मापन गर्नेछन्। त्यस्तै, कोरोनाग्राफमा जडान गरिएको टेलिस्कोपले कोरोनाका तस्बिरहरू उच्च रिजोलुसनमा खिच्नेछ। यी तस्बिर र तथ्यांकको सहायताले पृथ्वीमा रहेका वैज्ञानिकले कोरोनाका बारेमा अझ राम्रोसँग बुझ्न सक्नेछन्।
कृत्रिम पूर्ण सूर्यग्रहण सिर्जना गर्न यी दुई उपग्रह निरन्तर करिब १५० मिटरको दुरीमा उड्नेछन्। यिनीहरू बीचको दुरी कहिल्यै पनि १ मिलिमिटर अर्थात् मानिसको नङको मोटाइभन्दा धेरै तलमाथि हुने छैन। त्यसका लागि यी दुई उपग्रहले लेजर, एलइडी बत्ती, लाइट सेन्सर, जिपिएस, रेडियो सम्पर्क आदिको सहाराले सटीक रूपमा निरन्तर एकअर्काको अवस्थिति र आफूहरू बीचको दुरी पहिल्याउनेछन्।
यस प्रकारको सटीक उडान गर्न लागिएको यो नै पहिलो पटक हो। यस्तो उडान प्रदर्शन गर्नु पनि प्रोबा-३ मिसनको एउटा लक्ष्य हो।
'यो एउटा नयाँ अवधारणा, एउटा नयाँ प्रविधि प्रदर्शन गर्न अन्तरिक्षमा भएको प्रयोग हो,' इएसएमा प्रोबाका प्रोजेक्ट म्यानेजर डेमियन गालानो भन्छन्, 'हामीले यी दुई अन्तरिक्ष यानको उडान मार्गलाई धेरै राम्रोसँग नियन्त्रण गर्नुपर्ने हुनाले यो अत्यन्त चुनौतीपूर्ण छ।'
किन महत्त्वपूर्ण छ कोरोनाको अध्ययन?
यस मिसनको अर्को लक्ष्य सूर्यको कोरोनाको थप अध्ययन गरेर यसका बारेमा अझै राम्रोसँग बुझ्नु हो।
सूर्यको प्रचण्ड तेजका सामु सामान्य अवस्थामा यसको कोरोना दस लाख गुणा मधुरो देखिन्छ। यसलाई पूर्ण सूर्यग्रहण लाग्दा मात्रै अरू बेलाभन्दा अलि राम्रोसँग देख्न सकिन्छ। त्यसैले यो वैज्ञानिकहरूका लागि सदैव कुतूहलको विषय रहिआएको छ। र, उनीहरू पूर्ण सूर्यग्रहणका बेला यसको अध्ययन गर्छन्।
सूर्य र चन्द्रमाको आकार र पृथ्वीबाट यिनको दुरीका कारण सूर्यग्रहण बर्सेनि हुने प्राकृतिक घटना हो। सूर्यको व्यास चन्द्रमाको भन्दा लगभग ४०० गुणा ठूलो छ। संयोगवश पृथ्वीबाट सूर्य चन्द्रमा भन्दा लगभग ४०० गुणा टाढा पनि छ। त्यसैले आकाशमा हेर्दा सूर्य र चन्द्रमाको आकार बराबर देखिन्छ।
चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आएर सूर्यलाई आंशिक रूपमा छेकेको बेला खण्डग्रास सूर्यग्रहण लाग्छ। जब सूर्य, चन्द्रमा र पृथ्वी एउटा सिधा रेखामा हुन्छन् र बीचमा रहेको चन्द्रमाले सूर्यलाई पूरै छेक्छ, त्यसलाई पूर्ण सूर्यग्रहण अथवा खग्रास सूर्यग्रहण भनिन्छ। पूर्ण सूर्यग्रहणका बेला चन्द्रमाको वरिपरि देखिने उज्यालो भाग नै सूर्यको कोरोना हो।
तर पूर्ण सूर्यग्रहण प्राय: प्रत्येक १८ महिनामा एक चोटि लाग्छ र पृथ्वीको कुनै सानो भागबाट मात्र हेर्न सकिन्छ। कुनै कुनै ठाउँबाट त एक चोटि पूर्ण सूर्यग्रहण देखिएपछि फेरि ४०० वर्षसम्म नदेखिन सक्छ।
त्यस्तै, कहिलेकाहीँ बादलले पूर्ण सूर्यग्रहणलाई ढाक्न सक्छ। मौसम सफा भएर पूर्ण सूर्यग्रहण हेर्न मिल्यो भने पनि यसको अवधि केही मिनेट मात्रै हुन्छ। त्यसकारण वैज्ञानिकहरूले कोरोनाको अध्ययन गर्ने पर्याप्त समय र अवसर पाउँदैनन्।
प्रोबा-३ मिसनले वैज्ञानिकहरूलाई कोरोनाको अध्ययन गर्न यथेष्ट समय प्रदान गरेर यस समस्याको समाधान गर्नेछ। किनभने, यी दुई उपग्रहले प्रत्येक १९.७ घण्टामा पृथ्वीको एक परिक्रमा गर्दा ६ घण्टा लामो कृत्रिम पूर्ण सूर्यग्रहण सिर्जना गर्नेछन्।
बीस करोड युरो (झन्डै २९ अर्ब रूपैयाँ) लागत रहेको यस मिसनले आवश्यकता अनुसार प्रत्येक हप्ता कम्तीमा दुई चोटि र दुई वर्षभित्र कुल १००० घण्टाभन्दा बढी अवधिका यस्ता कृत्रिम सूर्यग्रहण बनाउने लक्ष्य राखेको छ।
सन् २०२५ को मार्चसम्ममा यस मिसनबाट कोरोनाका प्रथम तस्बिरहरू प्राप्त हुने अपेक्षा गरिएको छ।
वैज्ञानिकहरूले कोरोना किन सूर्यभन्दा अत्यधिक तातो छ भन्ने प्रश्नको सही उत्तर पनि अहिलेसम्म पाउन सकेका छैनन्। सूर्यको सतहको तापक्रम ५५०० डिग्री सेल्सियस छ। तर यसको कोरोनाको तापक्रम १० लाखदेखि ३० लाख डिग्री सेल्सियससम्म हुन सक्छ। प्रोबा-३ मिसनबाट प्राप्त नयाँ तथ्यांकले यो रहस्यमाथि प्रकाश पार्न पनि मद्दत गर्ने अपेक्षा गरिएको छ।
सूर्यमा हुने विभिन्न गतिविधि र तिनका कारण हामीलाई हुने सम्भावित असर र जोखिमका कारण पनि वैज्ञानिकहरूका लागि कोरोनाका बारेमा सकेसम्म धेरै जान्नु महत्त्वपूर्ण छ।
कोरोनल मास इजेक्सन हुँदा सूर्यबाट प्लाज्मा (विद्युतीय चार्ज बोकेको ग्यास) र चुम्बकीय क्षेत्र निस्केर अन्तरिक्षमा दसौं लाख किलोमिटर परसम्म पुग्छन्। त्यस्तै, सौर्य आँधीमा विद्युतीय चार्ज बोकेका इलेक्ट्रोन आदि कण र अन्य सौर्य पदार्थको विस्फोट भएर तीव्र गतिमा धेरै टाढासम्म अन्तरिक्षमा फैलिन्छ।
यिनीहरू पृथ्वीसम्म आइपुगे भने अन्तरिक्ष यानहरूमा क्षति पुर्याउन सक्छन्। त्यति मात्रै होइन, यिनीहरूले संसारभरकै जिपिएस र सञ्चार प्रणाली ठप्प पार्न र विद्युत अवरूद्ध पार्न सक्छन्।
कोरोनाका बारेमा थप बुझ्न पाए त्यसले यस्ता सौर्य गतिविधिहरूको अझै राम्रो पूर्वानुमान गर्न सकिने वैज्ञानिकहरू विश्वास गर्छन्।
दुई वा बढी उपग्रह सहितका यस प्रकारका मिसन मार्फत जलवायु संकटका साथै सौर्यमण्डलका पिण्डहरू र धेरै टाढा रहेका ग्रहहरूका बारेमा पनि अध्ययन गर्न सकिनेछ।
दुई वर्ष सञ्चालनमा रहेपछि यी उपग्रह बिस्तारै पृथ्वीतर्फ झर्नेछन् र सम्भवत: पाँच वर्षभित्र वायुमण्डलमा जलेर नष्ट हुनेछन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)