लकडाउन खुलेसँगै मान्छेको चहलपहल बढेको छ। अनि कोरोना जोखिम पनि। मान्छे जति धेरैसँग सम्पर्कमा आउँछन्, संक्रमण संख्या बढ्ने सम्भावना उत्ति हुन्छ।
यही समस्या कम गर्ने उद्देश्यले 'सुरक्षा' नामक मोबाइल एप सार्वजनिक भएको छ।
गोयल फाउन्डेसनका सञ्चालक चिराग गोयलले एक साताअघि आफ्नो संस्थामार्फत् यो एप उपलब्ध गराएका हुन्। यसको मुख्य उद्देश्य कोरोना महामारी कम गर्नु भएको चिराग बताउँछन्।
उनका अनुसार गुगलको 'कन्ट्याक्ट ट्रेसिङ' जस्तै फिचर भएको यो एपले कुनै मान्छे कति जनाको सम्पर्कमा आएको छ र तीमध्ये कसैलाई कोरोना छ-छैन वा हुनसक्छ-सक्दैन भनेर सूचित गराउँछ।
केही वर्षअघि अफ्रिकामा इबोला महामारी बेला गुगलले ट्रेसिङ एप बनाएको थियो। यसको प्रयोगले मानिसमा संक्रमण हुने सम्भावना घटाउन सहज भएको थियो। त्यसलगत्तै गुगलले यो एप विश्वभर उपलब्ध गराएको थियो र यही फिचर सदुपयोग गर्दै 'सुरक्षा' एप बनेको चिरागले जानकारी दिए।
'सुरक्षा एप' ले कसरी काम गर्छ?
१. सुरक्षा एप सुरूमा आफ्नो मोबाइलमा डाउनलोड गर्नु पर्छ।
२. यसको प्रयोगका लागि मोबाइलको ब्लुटुथ र लोकेसन सधैं 'अन' राख्नु पर्छ।
३. त्यसपछि एपमा दिइएको ठाउँमा आफ्नो मोबाइल नम्बर, नाम, उमेर र जिल्ला लगायत कुराबारे जानकारी भर्नुपर्छ।
४. फर्म भरिसकेपछि आफ्ना बारेमा अन्य कुरा पनि राख्नु पर्छ। स्वास्थ्य अवस्था, पछिल्ला ६० दिनमा देशबाहिर भ्रमण गरेको थियो वा थिएन र संक्रमण व्यक्तिसँग सम्पर्कमा परेको छ वा छैन जस्ता प्रश्नको उत्तर दिनुपर्छ।
'यही विवरणका आधारमा एपले तपाईंमा कोरोना संक्रमण जोखिम कत्तिको छ भनेर देखाउँछ,' चिरागले जानकारी दिए।
अब यी विवरण भरेर एप चालु राखेको मान्छे, यही एप चालु राखेको अर्को मान्छे नजिक गयो भने दुवैले एकअर्काबारे जानकारी पाउन सक्छन्।
चिरागका अनुसार एप चलाएको कोही मानिस दुईदेखि छ मिटरसम्म दुरीमा आयो भने ब्लुटुथका मद्दतले त्यो मान्छेको यी सबै विवरण तपाईंको मोबाइलमा आउँछ र उसैगरी यताको विवरण उता जान्छ। एप नचलाएको मान्छेबारे भने जानकारी हुँदैन।
यो आधारमा आफूले भेटेका मानिसमा संक्रमण जोखिम कति धेरै छ वा छैन भनेर हेर्न सकिन्छ। त्यसैले एपमा आफ्नो जानकारी दिँदा सबैलाई सत्य कुरा राख्न चिराग सुझाउँछन्। यसले दुवै पक्षलाई सहज हुन्छ।
मान्छे भेटेको १४ दिनमा एपले फेरि तपाईंको मोबाइलमा ती मान्छेलाई कोरोना लक्षण छ वा छैन भनेर बताउँछ। यदि उसमा कोराना लक्षण देखियो भने त्यो मान्छे कहाँ गएको थियो, कति जनालाई भेटेको थियो र उसको स्वास्थ्य अवस्था कस्तो छ भनेर जानकारी दिन्छ।
'प्रभावकारी जानकारी पाउन दुवै व्यक्तिको मोबाइलमा सुरक्षा एप हुन जरुरी छ। जति धेरैले यो एप डाउनलोड गर्यो उति नै बढी फाइदा हुन्छ,' उनले भने।
कन्ट्याक्ट ट्रेसिङ एप प्रयोगले व्यक्तिगत जानकारीको सुरक्षामा प्रश्न उठ्ने डर निकै हुने कुरा विश्वभर फैलिएको छ। यसबारे 'सुरक्षा एप' निकै सचेत भएको चिरागको दावी छ।
'यसमा सबैको व्यक्तिगत जानकारी गोप्य राखिन्छ। यहाँ मान्छेको नाम कतै खुलाइँदैन। बरू नामको ठाउँमा मोबाइल डिजिटल नम्बर कोड देखाइन्छ। र, २५ दिनपछि ती सबै जानकारी एपबाट आफैं डिलिट हुन्छ,' उनले भने।
यसका साथै एपमा आवश्यक आपतकालीन सेवाको सम्पर्क, परीक्षण केन्द्रको स्थान र विश्वभर कोरोना संक्रमण संख्याको जानकारी पनि पाउन सकिन्छ।
सुरक्षा एप नेपालको पहिलो कन्ट्याक्ट ट्रेसिङ एप भएको चिरागको भनाइ छ।
'हामीले सरकारको स्वीकृति पाएपछि प्लेस्टोरमा आधिकारिक रूपमा रिलिज गरेका हौं,' उनले भने, 'दुई महिनाअघि नै एप बनाइसकेको थियौं तर गुगलसँग प्लेस्टोरमा राख्न स्वीकृति पाउन ढिलो भयो। यो एपको आवश्यकता कोरोना संक्रमण उचाइमा पुग्नुअघि नै थियो तर अब पनि ढिला भएको छैन।'
उनी थप्छन्, 'लकडाउन खुलेसँगै संक्रमण जोखिम बढेको छ। आफ्नो स्वास्थ्यबारे आफैं सावधानी अपनाउनु पर्छ। भारतले यस्तो एप मोबाइलमा राख्न अनिवार्य गरिसकेको छ।'
कोरोनाको संक्रमण नियन्त्रण गर्न सञ्चालित यो एपलाई पछि बाढीपहिरो वा कुनै प्राकृतिक प्रकोप भएका समयमा पनि प्रयोग गर्न मिल्ने बनाउने चिरागको योजना छ।