एनसेलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का रूपमा माइकल फोले नियुक्त भएका छन्। उनको यो नियुक्ति यही कार्तिक १५ देखि लागू हुनेछ।
नयाँ सिइओ नियुक्तिसँगै कार्यवाहक सिइओका रूपमा समेत कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सिएफओ)को मिकालाई निरन्तरता दिनेछन्।
दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव बोकेका फोलेले यसअघि यस क्षेत्रका प्रमुख कम्पनीहरू नेतृत्वको गरेका छन्।
एनसेलमा आवद्ध हुनु अघि फोले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत थिए। उनले त्यहाँ सातवटा फ्राङ्कोफोन अफ्रिकी बजारहरूको सञ्चालनको जिम्मेवारी पाएका थिए।
उनले टेलिनोर पाकिस्तान (टिपी)मा, ग्रामीणफोन (बंगलादेश) र टेलिनोर (बुल्गेरिया)मा पनि सिइओको रूपमा काम गरेका थिए।
फोलेले टामीर माइक्रोफाइनान्स (हालको इजिपैसा, पाकिस्तान)का अध्यक्ष र टेलिनोर हेल्थका अध्यक्षको रूपमा पनि काम गरेका छन्।
हाल उनी अफ्रिकाको अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी वाटु अन्तर्गतको वाटु डिआरसी एसएका अध्यक्षका रूपमा कार्यरत छन्।
नियुक्तिपछि फोलेले भने, ‘काठमाडौंमा एनसेलको यो जिम्मेवारी लिन पाउँदा म अत्यन्त खुसी र सम्मानित महसुस गरिरहेको छु। एनसेल, देशका लागि महत्वपूर्ण पूर्वाधार हो, जसले नेपाली जनताका लागि नयाँ अवसरहरू सृजना गर्दै, डिजिटल रूपान्तरणलाई अघि बढाउने, आर्थिक प्रतिस्पर्धात्मकता बढाउने र विदेशी लगानी आकर्षित गर्ने अपार सम्भावना बोकेको छ।’
आजको डिजिटल, एआई पावर्ड र सामाजिक सञ्जालको युगमा, दूरसञ्चार कम्पनीहरूले केवल सेवा प्रदायक मात्र नभएर समाजको डिजिटल संरचना बुन्ने भूमिका निभाइरहेको उनले बताए।
फोले म्याकगिल विश्वविद्यालयका स्नातक हुन् र इनसिडबाट उनले ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्स मा एजुकेटिभ सर्टिफिकेटस् प्राप्त गरेका छन्। उनी क्यानडा–केन्या दुबैको नागरिक हुन्।