डिजिटल टिभीको प्रशारण काठमाडौंमा मात्रै सीमित


काठमाडौं उपत्यकाका सम्पूर्ण टेलिभिजनहरु डिजिटलाइज्ड प्रविधिमा रुपान्तरण भए पनि अन्यन्त्र भने चुनौतिपूर्ण बनेको छ।

सरकारले वैशाख १५ सम्म हरेक महानगर र उपमहानगरका टेलिभिजनहरुलाई डिजिटलाइज्ड गर्ने लक्ष्य लिएकोमा उपत्यकाका काठमाडौं र ललितपुर महानगरमा यो सम्पन्न भएको हो।

बिराटनगर, पोखरा, बिरगन्ज र भरतपुर महानगरसहित ११ वटा उपमहानगरपालिकाका टेलिभिजनहरुलाई डिजिटलाइज्ड प्रविधिमा लैजान बाँकी छ। सूचना तथा संचार मन्त्रालयकी सहप्रवक्ता संगीता ओझाका अनुसार उपत्यकाबाहिर प्राविधिक रुपमा समस्याहरु रहेकाले समयमै डिजिटलाइज्ड हुन नसकेको बताइन्।

उपत्यकाबाहिर स्थानीय केबल संचालकहरुलाई नै डिजिटलाइज्ड प्रविधिमा रुपान्तरण हुनका लागि अवसर दिइएको उनले जानकारी दिइन्। व्यवसायीहरुले काठमाडौं उपत्यकाबाहिरका हकमा असार १५ सम्मको समय माग गरेका छन्।

नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले प्राविधिक समस्याका साथै सेट टप बक्सको समेत अभाव हुने भएकाले केही समय माग गरिएको जानकारी दिए।

‘यहाँ केबलबाट संचालन हुने टेलिभिजनमा सबै च्यानल कटौती भएपछि सेट टप बक्सको माग बढेको छ’ उनले भने ‘एकै पटक अन्य महानगर उपमहानगरमा पुर्याउन सक्ने स्थिति पनि रहँदैन।’

सरकारले एनालग अर्थात तारबाट सञ्चालित प्रविधिलालाई डिजिटलमा परिणत गर्नुपर्ने व्यवस्था गरेको छ। जसले गर्दा केबल मार्फत टिभी हेरिरहेका ग्राहकले सेट–टप बक्स जडान गर्नुपर्ने अनिवार्य भएको हो।

अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आइटियु) ले एनालग प्रविधिलाई विस्थापित गर्दै डिजिटलमा जान आफ्ना सदस्य राष्ट्रहरुलाई निर्देशन दिएसँगै नेपाल सदस्य राष्ट्र भएकाले निर्णय कार्यान्वयनमा लागेको हो।

यो व्यवस्थाले ग्राहकले उच्च गुणस्तरको डिजिटल टिभीमा आफूले चाहेको च्यानल उचित मूल्यमा हेर्न सक्ने ओझाको भनाइ छ। डिजिटल प्रविधिले ग्राहक संख्या, सेवा तथा राजस्व पारदर्शी र वृद्धि समेत हुने मन्त्रालयको दावी छ।

के फाइदा छ डिजिटल प्रविधिमा ?
नेपाल केबल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले यो प्रविधिले विद्यमान टिभी प्रसारणको गुणस्तरमा आमुल परिवर्तन आएको दाबी गरे।

सेट­टप बक्स जडान गर्दा त्यसले अडियो र भिडियोलाई डिजिटल प्रशोधन गर्ने र मल्टिप्लेक्स सिग्नल दिने हुनाले डिजिटल टिभीमा गुणस्तरीय पिक्चर र आवाजमा प्रसारण हुने लेकालीको भनाइ छ। उनले भने ‘थ्रिडी, एचडी, एचडी प्लस, सुपर एचडी, अल्ट्रा एचडीसहितको मल्टिपल हाइ ब्यान्डविथमा टिभी प्रशारण हुन्छ।’

इन्टरनेट जोडेर टिभीबाटै म्यासेज आदानप्रदान गर्ने, युट्युबबाट भिडियो हेर्न, इन्टरनेट चलाउने र अनलाइन च्यानल हेर्ने सुविधा मिल्नेछ भने आफूलाई हेर्न मन लागेका कार्यक्रम रेकर्ड गरेर फूर्सद भएको समयमा हेर्न समेत सकिन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.