टेलिकमको नाफासँगै प्रतिसेयर आम्दानी खस्कियो


नेपाल टेलिकमको नाफासँगै प्रतिसेयर आम्दानी खस्किएको छ।

कम्पनीले सार्वजनिक गरेको अर्धवार्षिक वित्तीय विवरणअनुसार नाफामा ४३ करोड ५८ लाखले कमी आएको छ। साउनदेखि पुससम्म कम्पनीले ७ अर्ब ४८ करोड खुद नाफा कमाएको छ। जवकि गत आवको यस अवधिमा ७ अर्ब ९१ करोड कमाएको थियो।

कम्पनीको आम्दानी नै घटेपछि नाफामा कमी आएको हो। गत वर्ष २० अर्ब ६४ करोड आम्दानी गरेको उसको अहिले १९ अर्ब २७ करोड छ। आम्दानी घट्दा खर्च भने ६२ करोडले बढेको छ।

प्रतिसेयर आम्दानी १ सय रुपैयाँभन्दा कम छ। गत वर्षको यस अवधिमा १०५ रुपैयाँ ५८ पैसा भएकोमा अहिले ९९ रुपैयाँ ७७ पैसा छ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ६२५ बाट ६०२ रुपैयाँमा झरेको छ। चुक्ता पुँजी १५ अर्ब रहेको कम्पनीको जगेडा कोषमा ७५ अर्ब ३४ करोड रुपैयाँ छ।

सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ७६२ कायम भएको छ। कम्पनीको सेयर मूल्य एक वर्षको अवधिमा प्रतिकित्ता ९४० रुपैयाँसम्म पुगेको छ भने न्यूनतम ६२० रुपैयाँसम्म झरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.