खर्च बढ्दो, आम्दानी घट्दो। वनस्थली बस्ने सीतामाया तामाङलाई अचेल यो चिन्ताले सताउन थालेको छ।
'काठमाडौंमा कसरी टिक्ने होला' भन्दै श्रीमान विकल्पलाई भनिरहेकी हुन्छिन्। वनस्थली चोकमा सामान्य डेरी पसल चलाउँछन् उनीहरू। घरखर्च जोहो यसैको आम्दानीले भइरहेको छ।
तीन-चार महिनाअघि दैनिक एक सयदेखि दुई सय ५० लिटरसम्म दूध बिक्री हुन्थ्यो। अहिले ५० लिटर पनि बिक्दैन।
'पहिले दुई/तीन लिटर दूध लैजानेले ग्राहकले अहिले एक/डेढ लिटर मात्र लैजान्छन्,' सीतामायाले पछिल्लो समय ग्राहकको किन्ने क्षमता कम भएको आकलन गर्दै भनिन्, 'अहिले मानिसहरूसँग पनि पैसा छैन रे भनेको सुन्छु। किन्नेलाई पनि समस्या, हामीजस्तो व्यापार गरी खानेलाई पनि समस्या।'
व्यापार घटे पनि उनको घरखर्च घटेको छैन। चार जनाको उनको परिवारलाई पहिले दुई छाक दालभात मात्र खान महिनामा पाँच हजार रूपैयाँ लाग्थ्यो। अहिले १० हजार रूपैयाँले पनि नपुग्ने उनले बताइन्।
दैनिक उपभोग गर्ने चामल, आँटादेखि बिस्कुटसम्मको भाउ बढेको छ। बच्चाहरूलाई पहिले घर र स्कुलमा गरेर एक सय रूपैयाँले खाजा पुग्थ्यो। अहिले दुई सय रूपैयाँले पनि भ्याउँदैन।
'बच्चाहरू पहिले बिहान बिस्कुटको सानो एक/एक प्याकेट खाँदा अघाउँथे। अहिले त बिस्कुटको तौल घटेर आएको छ क्यार, दुई प्याकेट चाहिन्छ,' उनले हाँस्दै भनिन्।
सोही ठाउँमा बस्ने फूलमाया श्रेष्ठको पनि अवस्था उस्तै छ। उनको तीन जनाको परिवार छ। केही समय अघिसम्म परिवारको मासिक खाना खर्च आठदेखि दस हजार रूपैयाँ थियो। पछिल्लो समय १५ हजारभन्दा बढी खर्च हुने उनले बताइन्।
'बजारमा सामान किन्न गयो, सबैको भाउ बढेको छ मात्रै भन्छन्,' उनले भनिन्, 'घटेको केही छैन। हाम्रो कमाइ मात्र कम भएको छ।'
घरमा चाहिने सानादेखि ठूलासम्म सबै वस्तुको भाउ बढेको उनले अनुभव गरेकी छन्। केही समय अघिसम्म ५५ रूपैयाँमा एक प्याकेट किन्दै आएको लुगा धुने सर्फको भाउ बढ्दैबढ्दै ९० रूपैयाँ पुगेको छ। ५० रूपैयाँमा आउने मन्जन पनि ९० भन्दा बढी पर्न थालेको छ। साबुन, स्याम्पुदेखि बिस्कुट, पाउरोटीजस्ता खाजा र अधिकांश दैनिक किराना सामानको भाउ उकालो लागेको लाग्यै छ।
फूलमायाले भनिन्, 'यसैगरी मूल्य बढ्दै जाने हो भने त घर चलाउनै सकिँदैन। अहिलेको कमाइले राम्ररी खानलाउनै पुग्दैन। अनि विदेशतिर जानुपर्ने अवस्था आउँछ।'
काठमाडौंका खुद्रा तथा किराना व्यवसायी चन्द्र थापा बजारमा दैनिक उपभोग्य वस्तुको अत्यधिक मूल्य बढेको बताउँछन्। उनका अनुसार पछिल्लो समय चामल, आँटा, मैदा, कफी, मन्जन, सर्फ, साबुन-स्याम्पू लगायत थुप्रै सामानको भाउ धेरै नै बढेको छ। जसको भाउ बढेको छैन, त्यसको तौल कम भएर आएको छ।
'५/१० रूपैयाँ थपघट हुनु सामान्य हो। तर यति कम अवधिमा १५/२० प्रतिशत बढ्नु त धेरै हो,' उनले भने, 'दैनिक उपभोगमा पनि प्रमुख सामानहरूको भाउ बढेको छ। कतिपयको तौल घटेको छ।'
पहिले दस रूपैयाँमा एक पुरिया बिस्कुट आउँथ्यो। अहिले पनि आउँछ तर कम तौलको। त्यस्तै पाउरोटीजन्य खानेकुरा पनि कम परिमाणमा आउन थालेको छ।
अहिले बजारमा सबभन्दा धेरै भाउ बढेको चामलको हो।
एक महिनाअघि मात्र सोना मन्सुली चामल ३० किलोको एक बोराको १५ सयदेखि १६ सय रूपैयाँ पर्थ्यो। अहिले यही चामल १८ सय रूपैयाँसम्म पर्छ।
जिरा मसिनो चामल २५ किलोको एक बोरा १७ सय रूपैयाँदेखि पाइन्थ्यो। अहिले २२ सयसम्म पर्छ। यो चामल मध्यम वर्गका ग्राहकहरूले धेरै लैजाने थापा बताउँछन्।
त्यस्तै २५ सयदेखि २८ सय रूपैयाँमा पाइने लङग्रेन बासनादार चामलको बीस किलोको बोरालाई अहिले तीन हजारदेखि ३२ सयसम्म तिर्नुपर्छ।
किलोको ५० रूपैयाँमा बिक्री भइरहेको आँटा अहिले ९० रूपैयाँ पुगको छ। ६० रूपैयाँको मैदा ९५ रूपैयाँ पुगेको उनले जानकारी दिए।
यसबाहेक मन्जनको भाउ दुई महिनाका बीचमा २० प्रतिशतसम्मले बढेको छ। पहिले १ सय ४० रूपैयाँमा पाइने मन्जन अहिले एक सय ८० रूपैयाँ पर्छ। प्रतिगोटा ४० रूपैयाँ पर्ने लुगा धुने साबुन ६० रूपैयाँसम्म पर्छ। किलोको १ सय १५ मा पाइने सामान्य सर्फ एक सय ४० रूपैयाँ पुगेको छ। त्यस्तै एक सय ९० रूपैयाँको एक प्याकेट कफीलाई अहिले दुई सय ६० रूपैयाँसम्म पर्छ।
बिस्कुट तथा पाउरोटीमा केहीको मूल्य बढेको छ भने केहीको तौल कम गरिएको हो।
'दुई/तीन महिनाको बीचमा बिस्कुट, पाउरोटीको भाउ एक प्याकेटमा १० देखि २० रूपैयाँसम्म बढेको छ,' थापाले भने, 'नबढ्नेको तौल कम भएर आएको छ।'
मैदा तथा आँटाको मूल्य बढेसँगै यसबाट बन्ने खानेकुराको भाउ बढेको हो। यसका साथै बजारमा किनेर खाने खाजाको मूल्य पनि बढेको छ। एक सय २० रूपैयाँमा पाइने भेज मःमको भाउ एकैपटक एक सय ५० रूपैयाँ पुगेको एक उपभोक्ताले बताए।
'किन यसरी भाउ बढेको भन्दा सबै कुरा महँगो भएको छ भन्छन्,' उनले भने।
बजार महँगीले एकातिर उपभोक्ता मर्कामा परेका छन्। अर्कातिर बिक्रेतालाई पनि घाटा भइरहेको व्यवसायीहरू बताउँछन्। बजार महँगीअनुसार बिक्री मूल्य समायोजन गर्न नसक्दा नोक्सानी बेहोरिरहेको होटल व्यवसायी राज क्षेत्रीले बताए।
'कच्चा पदार्थको मूल्य बढेअनुसार खानेकुराको भाउ बढाउन नसक्दा घाटा भइरहेको छ,' उनले भने, 'हामी सबै सामान महँगोमा किनिरहेका छौं। लागतअनुसार मूल्य बढाएका छैनौं। ग्राहकको खरिद क्षमता कम भएका बेला मूल्य बढाउँदा सबैलाई मर्का पर्छ।'
पछिल्लो तीन-चार महिनायता बजार भाउ अकस्मात र अस्वाभाविक रूपमा बढेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन्। भारतबाट गहुँ-चामल ल्याउन केही कठिनाइ छ। तर यत्ति कारणले चर्को मूल्य हुनु अस्वाभाविक भएको उनले बताए।
'हो, अहिले गहुँ र चामल आयातमा समस्या छ। तर त्यसले मात्र भाउ यति चर्को हुन नपर्ने हो। थोरै प्रतिशतले मात्र मूल्य वृद्धि हुनु पर्ने थियो। दोब्बर/तेब्बर वृद्धि हुनु कसरी स्वाभाविक मान्ने,' उनले भने।
स्थानीय तथा प्रदेश सरकारको अनुगमन तीव्र नभएकाले व्यापारीले मनलाग्दी भाउ तोकेको र उपभोक्ताले बढी मूल्य तिर्नुपरेको उनको भनाइ छ।