एलजीको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले नयाँ प्रविधिको एसी बजारमा ल्याएको छ। यो एसी 'भिआरएफ सिस्टम' को हो। एलजीले सन् २०१४ देखि नै यो प्रविधिको एसी ल्याए पनि कम्पनीले यसलाई हरेक वर्ष केही परिमार्जन गरेर बजारमा ल्याउँछ। यो नयाँ एसी पाचौं जेनेरेसनको हो।
यो प्रविधिको एसीको मुख्य विशेषता धेरै एसीलाई 'मनिटरिङ' गर्नु रहेको सिजीका सिनियर म्यानेजर विवेक ज्ञवालीले जानकारी दिए। यसबाट अन्य धेरै एसी जोड्न सकिने उनको भनाइ छ।
उनका अनुसार एसी जडान गर्नुपर्यो भने भित्र जति एसी छन्, बाहिर उति नै बक्सा राख्नुपर्छ। तर एलजीको 'भिआरएफ सिस्टम' एसीमा यो झमेला छैन।
'सामान्यतया प्रत्येक कोठामा एसी राख्दा बाहिर बक्सा पनि उति नै राख्नुपर्छ। यो एसी राख्दा भने कोठैपिच्छे बक्सा राख्न पर्दैन,' उनले भने।
यो एसीलाई कुनै खाली ठाउँमा राखेर घरमा भएका सबै एसीलाई पाइपमार्फत जोड्न सकिन्छ। घर/भित्र बाहिर जुनसुकै ठाउँमा पनि राख्न सकिने उनी बताउँछन्। यो प्रकारको एसी ठूला भवन, अपार्टमेन्ट, होटल तथा अस्पतालमा बढी प्रयोग हुन्छ।
झ्याल बाहिर कुनै पनि वस्तु राख्न चाहनुहुन्न भने यो प्रकारको एसी प्रयोग उपयुक्त हुन्छ। यस्तो एसी प्रयोग गर्दा भवनमा एसी छ कि छैन भन्ने पनि थाहै नहुने उनी बताउँछन्।
'यो इन्भर्टर टेक्नोलोजी एसी हो। तपाईंलाई कोठामा कति चिसो/तातो चाहियो त्योअनुसार एसीको कम्प्रेसर चल्छ,' उनले भने, 'आवश्यकता हेरेर एसीको कम्प्रेसरले स्पिड निर्धारण गर्छ। सापेक्षित आद्रता मध्यनजर गरेर एसी डिजाइन गरिएको हो।'
कम्प्रेसर (एसीको मुख्य मेसिन) एलजीले आफैंले बनाउने दावी गरेको छ।
यसमा थोरैमा दस हर्जदेखि १६५ हर्जसम्म स्पिड छ। कम चिसो चाहिएको छ भने न्यूनतम दस हर्जको स्पिडमा घुम्छ भने धेरै चाहिए १६५ हर्जसम्मको स्पिडमा घुम्छ। स्पिडमा घुम्ने मात्र होइन यसले बत्ती समेत बचाउन मद्दत गर्ने उनी बताउँछन्।
'प्रयोगकर्ताले आफूलाई चाहिएको स्पिड रिमोटबाट लगाउँछन् र आनन्दले बस्छन्,' उनले भने, 'पछि यसले अटोमेटिक रूपमा चिसो घटाउँदै जान्छ र प्रयोगकर्ताले लगाएको स्पिडमा गएर रोकिन्छ।'
यसमा बत्ती कम खपत गर्ने र कम आवाज निकाल्ने फिचरका साथै ठाउँ समेत बचाउने सिनियर म्यानेजर ज्ञवालीले बताए। एलजीले प्रकृति लक्षित गरेर एसी डिजाइन गर्दै आएको उनको भनाइ छ।
ठूलो माछाको पखेटाको बान्कीलाई आधार मानेर एसीको फ्यान डिजाइन गरिएको छ। यसलाई 'सिरेटेड डिजाइन' भनिन्छ। यसले राम्रो गतिमा हावा फाल्न सघाउँछ। यसमा 'ब्ल्याक फिन' टेक्नोलोजी छ। अगाडिपट्टी कालो रङ गरिएको छ जसले खिया लाग्न दिँदैन र लामो समयसम्म बचाइ राख्छ।
कम्पनीका अनुसार यसमा ६ वटा बाइपास भल्भ छ जसले कम्प्रेसर खिइने समस्या कम गर्छ। त्यस्तै भ्यापर इन्जेक्सन प्रविधिले बढी जाडोका बेलामा छिटोभन्दा छिटो तातो हावा पठाउँछ। एसीको कम्प्रेसर पिक (पोलिथेराइन इथर किटोन) कच्चा पदार्थबाट बनेकाले धेरै बलियो हुने ज्ञवालीको दावी छ। यसमा कम्पनीले दस वर्ष वारेन्टी दिएको छ।
यो एसीमा एलजीले प्याटेन्ट गरेको हाइपर (हाइ प्रेसर ओयल रिर्टन) प्रविधि छ। यसले प्रत्यक्ष रूपमा तेल सिधै कम्प्रेसरमा पठाउने उनले बताए, 'अन्य एसीमा विभिन्न रूट हुँदै जान्छ। यसमा भएको स्मार्ट ओयल म्यानेजमेन्टले लुब्रिकेसनका लागि तेल सकियो भने आफैं तेलको सेन्सरले पठाउँछ। यसले कम्प्रेसरमा घुम्ने मोटर्स चाँडै खिइन दिँदैन।'
उनका अनुसार एसीको मूल्य टनअनुसार पर्छ। एक टनको बजार मूल्य एक लाख पचास हजार रूपैयाँ छ। त्यो अनुरूप कतिवटा कोठामा एसी प्रयोग गरिएको छ, मूल्य जोडिन्छ। यो मूल्यभित्र यसमा लाग्ने पाइप, आउट डोर एसी र जडान खर्च सबै जोडिने उनी बताउँछन्।
एलजीका एसी वाल माउन्टेड, सिलिङ क्यासेट, डक्टेबल र फ्लोरिस्ट्यान गरी चार प्रकारमा पाइन्छ। वाल माउण्टेड एसी घर वा भवन निर्माण भएपछि पनि सजिलै भित्तामा राख्न सकिन्छ। तर त्यसका लागि पाइप राख्ने ठाउँ भने पहिल्यै बनाउनु पर्ने उनले बताए।
कोठाको भित्ता वा सिलिङमा डिजाइन गरिएको छ एसी राख्न मिल्दैन। तर भुइँमा ठाउँ छ भने फ्लोरिस्ट्यान एसी राख्न सकिन्छ। यो दराज जसरी राख्न मिल्ने भएकाले धेरे ठाउँ पनि ओगट्दैन।
भुइँको ठाउँ पनि एकदमै कम छ र भित्ता वा सिलिङमा डिजाइन गरिएको छ भने डक्टेबल एसी प्रयोग गरिन्छ। यो प्रकारको एसी होटलमा बढी प्रयोग हुन्छ। यो एसी जडान गर्न भवन निर्माण गर्दै एसी राख्न ठाउँ छुट्याउनु पर्छ।
कोठाको भित्तामा सुन्दर डिजाइन गरिएको छ वा एसी राखेको थाहै नहुने गरी जडान गर्ने हो भने सिलिङ क्यासेट प्रयोग गर्न सकिन्छ। यो प्रकारको एसी सिलिङभित्र लुकेर बस्छ। यो जडान गर्न भवन बनाउँदै ठाउँ छुट्याउनु पर्छ।
एलजीका कुनै पनि सामान बिक्री भइसकेपछि केही समस्या परे ग्राहकले टोल फ्री नम्बर १६६००१००२११ मा सम्पर्क गर्न सकिने ज्ञवाली बताउँछन्, 'कल आएपछि हामी २४ घण्टाभित्रै समाधान गर्छौं।'