श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालले समावेशी आर्थिक वृद्धि, गरिबी न्यूनीकरण र सामाजिक सुरक्षाको पहुँच विस्तारमा पछिल्लो केही वर्षमा उल्लेखनीय प्रगति गरेको बताएका छन्।
उनले ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा बोल्दै विभिन्न प्राकृतिक प्रकोप, महामारी लगायतका बाबजुद उपलब्धि हासिल गरेको बताए।
सरकारले अधिकारसहितको रोजगारी, समावेशी विकास र समृद्धिमा जोड दिएको पनि उनले बताए।
'रोजगार सृजनालाई विकासको मूल आधारका रूपमा स्थापना गरेका छौं। नेपालको सरकारले यस दशकलाई आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणा गर्दै सार्वजनिक–निजी साझेदारी तथा विकास सहकार्यमार्फत रोजगार क्षेत्रमा लगानी वृद्धि गरिरहेको छ,' उनले भने।
सिप विकासका लागि पनि सरकारले ध्यान दिएको उनले बताए।
डिजिटल, हरित र उद्यमशीलतामा आधारित सिप विकासमा विशेष ध्यान दिएको उनको भनाइ छ।
'हामीले सिपयुक्त श्रमशक्तिलाई स्वदेश तथा वैदेशिक रोजगारीका लागि तयार गरिरहेका छौं। सुरक्षित, मर्यादित र व्यवस्थित रोजगारीका लागि काम गरिरहेका छौं,' उनले भने।
मन्त्री भण्डारीले सबैका लागि समावेशी, सार्वभौमिक र दिगो सामाजिक सुरक्षा प्रणालीप्रति प्रतिबद्ध रहेको बताए।
यसमा अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई समेत जोड्दै लगेको उनले उल्लेख गरे।
नेपाल 'डिसेन्ट वर्क एजेन्डा'मा पूर्णप्रतिबद्ध रहेको पनि उनले बताए।