नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोशिएसन प्यानलका अध्यक्षका उम्मेदवार भुवनसिंह गुरूङ निर्वाचित भएका छन्।
गुरूङले ४२८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नरेश गेलालले (३६७ मत) प्राप्त गरे। गुरूङ ६१मतान्तरले विजयी भएका हुन्।
उनी म्यानेजमेन्ट प्रालिका संचालक हुन्। उनले संघमा यसअघि द्वितीय उपाध्यक्ष भएर पनि काम गरिसकेका छन्।
अध्यक्षमा विजयी भएसँगै गुरूङले सबै व्यवसायीको हकहितमा काम गर्ने बताए।
लोकतान्त्रिक एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसंगको तालमेलमा बनेको यो प्यानलले अध्यक्ष,महासचिवसहित १३ पदमा बिजयी भएको छ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोशिएसनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन बीच तालमेलमा बनेको संयुक्त व्यवसायी समूहका उम्मेदवार नरेश गेलाल समुहका ४ जना विजयी भएका छन्।
प्रथम उपाध्यक्षमा एलाइन्स ह्युमन रिसोर्सका सुजित कुमार श्रेष्ठ विजयी भएका छन्। संघका पूर्व महासचिव श्रेष्ठ ब्यवसायीबीच लोकप्रिय मानिन्छन्।
श्रेष्ठले ३७५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी नरेन्द्रप्रसाद ढकालले ७३ मत कम ३०२ मत प्राप्त गरे। त्यसैगरी सो पदमा प्रतिस्पर्धा गरेका स्वतन्त्र उम्मेदवार अख्तर हुसेनले १०१ मत प्राप्त गरे।
द्वितीय उपाध्यक्षमा गुरूङ प्यानलका अलर्ट ओभरसिज प्रालिका संचालक देवकुमार खोखालीले ४०२ मत प्राप्त गरि विजयी भएका छन्। भने उनका प्रतिद्वन्दी गेलाल प्यानलका मधुकर रिजालले २४ मत कम ३७८ मत प्राप्त गरे।
तृतीय उपाध्यक्षमा गेलाल प्यानलका बैकुण्ठ पौडेल वैभवले ४३५ मत प्राप्त गरी विजयी भएका छन्। पराजित हर्कबहादुर लिम्बूले ३५० मत प्राप्त गरे।
यसैगरी महासचिवमा गुरूङ प्यानलका उम्मेदवार ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका संचालक महेशकुमार बस्नेतले ४२३ मतसहित विजयी भए। उनका प्रतिद्वन्दी गेलाल प्यानलका कर्णराज कटुवालले ६१ मत कमी ३६२ मत पाए।
यसैगरी आकृति रिक्रुटिङ प्रा. लि.का संचालक गुरूङ प्यानलका कुन्छा दोर्जे डिङ्दोङले ३७४ मत प्राप्त गर्दैं सचिवमा विजयी भए। पराजित गेलाल प्यानलका उम्मेदवार अनिल बोगटीले ६३ मत कमी ३११ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवार ईश्वर सापकोटाले ९३ मत प्राप्त गरे।
कोषाध्यक्षमा विजयी गेलाल प्यानलका धनु सिंजालीले ४२८ प्राप्त गर्दा पराजित गुरूङ समूहका उम्मेदवार शुभ हारती मेनपावर प्रा लि का सञ्चालक विक्रम श्रेष्ठले ७१ मत कमी ३५७ मत प्राप्त गरे।
कार्यसमिति सदस्यहरुमा रिजा ओभरसिज प्रालिकी संचालिका रेखा शर्माले ४४७, इगल मेनपावर कन्सल्टेन्ट प्रालिका सञ्चालक कृष्ण ढकालले ४४२, युनिभर्सल एचआर सोलुसन प्रालिका संचालक भरत सापकोटाले ४३५, राज ग्रुप अफ कम्पनीका सञ्चालक राज लामा तामाङले ४२७, रसुवा ओभरसिज प्रालिका संचालक सुवर्ण लामाले ४०९, विनर एचआर शोलुशन प्रा लि की सञ्चालक हिमा गुरूङले ३४९, रियो ओभरसिज प्रा लि की सञ्चालक रमा खड्काले ३८८, हिमालयन भ्याली नेपाल प्रा. लि.का संचालक देवीप्रसाद गिरीले ३७७, इम्पेरियल ओभरसिज प्रा. लि.की संचालक विद्यालक्ष्मी बज्राचार्य ३५३ र सेक्युर नेपाल जब प्रा. लि.का संचालक सुमनराज पाण्डेले ३४३ मत प्राप्त गरि विजयी भएका छन्।