श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आगामी साउन १ गतेदेखि लागु हुने गरी श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउन गृहकार्य सुरू भएको जानकारी दिएको छ।
विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले न्यूनतम पारिश्रमिक निर्धाणका लागि काम सुरू भइसकेको बताए।
महानिर्देशक भट्टराईले अघिल्लो पटक वृद्धि गरिएको पारिश्रमिक अझै कतिपय प्रतिष्ठानमा कार्यान्वयन नभएको पाइएको बताए। विभागले अनुगमन गर्दा यस्तो देखिएको उनको भनाइ छ।
विभागले शुक्रबार न्यूनतम पारिश्रमिक कार्यान्वयन सम्बन्धमा एक सूचना समेत जारी गरेको छ।
सरकारले २०८० साउन १ गतेदेखि लागु हुने गरी श्रमिकहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरेको सूचना राजपत्रमा सोही बेला प्रकाशित गरेको थियो।
उक्त सूचना अनुसार हाल श्रमिकहरूको मासिक पारिश्रमिक १७ हजार तीन सय रूपैयाँ तोकिएको छ। जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० रूपैयाँ तोकिएको छ। भने महँगी भत्ता ६ हजार ४८० रूपैयाँ तोकिएको छ।
आगामी वर्षदेखि लागु हुने नयाँ पारिश्रमिक अहिलेको महँगी लगायत सबै कुरालाई मध्यनजर गरेर निर्धारण गरिने महानिर्देशक भट्टराईले बताए।