सरकारले अन्तर्राष्ट्रिय आप्रवासी दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ।
१६ डिसेम्बरदेखि २२ सम्म देशव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको कार्यक्रमको मूल समारोह समितिले जानकारी दिएको छ।
सचेत सीपमूलक र सुरक्षित रोजगारः मर्यादित श्रम आप्रवासनको मूल आधार नासहित दिवस मनाउन लागिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।
दिवसलाई प्रदेश तथा स्थानीय तहसम्म पुर्याउन प्रदेश सरकार तथा स्थानीय तहको अगुवाइमा जिल्लास्थित विभिन्न सरकारी निकायहरु, वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संघसस्था, सबै राजनीतिक दल, नागरिक समाज, गैरसरकारी संस्था तथा ट्रेडयुनियनहरुको समेत सहभागितामा कार्यक्रम आयोजना हुने भएको छ।
यी कार्यक्रमहरुमार्फत् सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ। साथै यो क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सहयोग पुग्ने विश्वास आयोजकको छ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २००० डिसेम्बर ४ मा प्रस्ताव नं ५५/९३ लाई पारित गरेको थियो। संसारभर ठूलो संख्यामा रहेका आप्रवासीको सरोकार दस्तावेज पारित भएको दिन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका रुपमा मनाउने गरिएको छ। नेपालमा पनि हरेक वर्ष यो कार्यक्रम मनाइँदै आएको छ।