नेपाल र चीनबीचको व्यापारमा महत्त्वपूर्ण मानिने तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि अब कोराला नाकाबाट व्यापारिक गतिविधि सुरू भएको छ।
यी दुई प्रमुख नाका पूर्ण रूपमा सञ्चालनमा नआउँदा दसैंको लागि सामान ल्याउन खोज्ने व्यापारीहरूलाई समस्या परिरहेको बेला, कोराला नाकाबाट व्यापार सुरू हुँदा राहत मिलेको छ।
भन्सार अधिकारीहरूका अनुसार कोरोला नाकाबाट आजदेखि नियमित व्यापार सुरू भएको छ।
नेपाल टेलिकमको इन्टरनेट जडान भएपछि कोराला नाकाबाट आजदेखि भन्सारको काम सुरू भएको भन्सार अधिकृत डिल्ली सुवेदीले जानकारी दिए।
उनका अनुसार, आज दुइटा कन्टेनर सामान नेपाल ल्याउन र दुइटा कन्टेनर सामान चीन पठाउन जाँचपासको काम भएको छ।
अहिले कोराला नाकामा २१-२२ वटा विद्युतीय गाडी जाँचपासको लागि रोकिएका छन्। तर, बैंक प्रक्रिया मिलाउने क्रममा रहेको कारण मंगलबार वा बुधबारदेखि मात्रै यस्ता गाडीको भन्सार जाँचपास हुने भन्सार अधिकारीले बताएका छन्।
भन्सार विभागका महानिर्देशक श्याम भण्डारीले कोराला नाका अहिले खुला रहेको र त्यहाँबाट सामान ल्याउन सुरू गरिएको बताए।
यस नाकाबाट सामान आयात गर्दा हालको अवस्थामा चीनबाट सामान ल्याउन अलिकति भए पनि सहयोग पुग्ने उनको भनाइ छ।
यसअघि, रसुवा नाका गत असार २४ गतेदेखि बाढी र पहिरोले गर्दा बन्द भएको छ।
यस्तै, तातोपानी नाका हुँदै चीनबाट नेपालतर्फ आउने सामान करिब ४६ दिनदेखि रोकिएको छ। कोदारीमा रहेको ३५ मिटरको सडक खण्ड मर्मत नहुँदा चीनको नेलम यार्डमा १५ सयभन्दा बढी कन्टेनर अलपत्र परेका छन्।
दसैंको मुखमा कच्चा पदार्थ र तयारी सामान नपाउँदा उद्योगी र व्यापारीहरूलाई गम्भीर समस्या परेको छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले रसुवा र तातोपानी दुवै नाका असहज हुँदा व्यापार चक्रमा नै ठूलो असर परेको बताए।
यसले नेपालका उद्योगहरूले ठूलो क्षति भोगिरहेको र निर्यात अर्डरहरू रद्द भइरहेको उनको भनाइ छ।
गोल्डस्टार जुत्ताका आपूर्ति प्रमुख संजीव कर्णका अनुसार, गोल्डस्टारका चार वटा कन्टेनर चिनियाँ भन्सारमा गेट पासको प्रतीक्षामा अड्किएका छन् भने १० वटा कन्टेनर नेपालमा एक महिनादेखि रोकिएका छन्।
गोल्डस्टारका प्रतिनिधिहरूले कच्चा पदार्थ नआउँदा उत्पादन घटेको र स्थानीय बजारको माग पूरा गर्न समस्या भएको बताएका छन्।
प्रतिनिधिहरूका अनुसार गोल्डस्टारको मात्रै ५० करोड रुपैयाँभन्दा बढीको कच्चा पदार्थ चीनमा अड्किएको छ।
यस्तो अवस्थामा कोराला नाकाबाट व्यापार सुरू हुनुले विशेष महत्त्व राख्छ।
व्यापारीहरूले तातोपानी नाकाबाट सामान ल्याउने अवस्था नरहेको र वर्षाका कारण पुलमा पनि क्षति पुगेकाले कोराला मार्गबाट सामान ल्याउने इच्छा देखाएका छन्।
व्यापारीहरूले रसुवा नाकाबाट पनि गाडी ल्याउने तयारी गरिरहेको बताएका छन्। यो नाकालाई प्रयोग गरेर नयाँ सुरूआत गर्ने अवस्था देखिएको छ।
तत्कालका लागि कोराला नाकामा सामान जाँचपासको कामलाई सहज बनाउन थप कर्मचारीको व्यवस्था गरिएको छ।
व्यापार सहजीकरण गर्न कोरोला नाकामा एक जना नायब सुब्बा र एक जना भन्सार अधिकृत थपिएको भन्सार विभागले जनाएको छ।