पछिल्ला वर्षहरूमा हरेक काममा मेसिनको प्रयोग बढ्न थालेको छ। व्यक्तिगत सामग्रीदेखि उत्पादन प्रक्रियासम्ममा मेसिनको उपयोग बढ्दो छ।
मेसिन तथा विद्युतीय उपकरणहरूको बढ्दो प्रयोगका कारण हरेक वर्ष यस्ता वस्तुको आयात बढ्दो छ। पछिल्लो आर्थिक वर्षमा गाडी तथा सवारी साधन बाहेकका मेसिनरी सामानको आयात करिब साढे दुई खर्ब रूपैयाँ बराबरको भएको छ।
यस्ता मेसिनरी सामानको प्रयोग बढ्नुले उत्पादन वृद्धि र जीवनस्तर सुधारमा ठूलो प्रभाव देखिने सरोकारवाला बताउँछन्।
आर्थिक वर्ष २०८१/८२ मा एक खर्ब २४ अर्ब रूपैयाँ बराबरको मेसिनरी वस्तु र यसका पाटपूर्जाको आयात भएको छ।
यो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ७ प्रतिशतले बढी हो। त्यो वर्ष एक खर्ब नौ अर्ब रूपैयाँको यस्ता सामान आयात भएका थिए।
पछिल्लो आर्थिक वर्षमा ७३ अर्ब ८७ करोड रूपैयाँ बराबरको विद्युतीय उपकरण आयात भएको छ।
त्यसअघिको वर्षको तुलनामा यस्ता सामानको आयात ४ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा यस्ता सामानको आयात ६९ अर्ब ९० करोड रूपैयाँको भएको थियो।
त्यस्तै पछिल्लो आर्थिक वर्ष दूरसञ्चार तथा यस्ता उपकरणको आयात ४३ अर्ब ८ करोड रूपैयाँ बराबरको भएको छ।
यस्ता वस्तुको आयातमा पनि त्यसअघिको वर्षको तुलनामा ३ प्रतिशतको वृद्धिदर छ। आर्थिक वर्ष २०८०/८१ मा यस्ता वस्तुको आयात ३५ अर्ब ५८ करोड रूपैयाँ बराबरको भएको थियो।
सवारी साधनमा प्रयोग हुने बाहेकका अन्य उपकरणको आयात करिब साढे दुई खर्ब रूपैयाँ बराबरको देखिएको छ।
आर्थिक वर्ष २०७९/८० मा सबै प्रकारका मेसिनरी सामानको आयात उल्लेखनीय रूपमा घटेको थियो। त्यसपछिका दुई आर्थिक वर्षमा नै यस्ता सामानको आयातमा सुधार देखिन्छ।
यस्ता सामग्रीभित्र उद्योगले प्रयोग गर्ने ठूला मेसिनहरूदेखि लिएर घरायसी प्रयोजनका उपकरण तथा व्यक्तिगत प्रयोजनका उपकरणहरू रहेका हुन्छन्।
गत आर्थिक वर्षमा करिब साढे दुई खर्ब रूपैयाँ बराबरको यस्ता सामग्री आयात हुँदा ३५ अर्ब बढीको स्मार्टफोन र करिब नौ अर्ब रूपैयाँ बराबरको ल्यापटप नोट बुकको आयात भएको छ।
धेरै आयात हुने मेसिनरी तथा विद्युतीय सामग्रीहरू
आयातीत मेसिनरी सामग्री
|
आयात मूल्य
|
स्मार्टफोन
|
३५ अर्ब ५४ करोड
|
ल्यापटप र नोटबुक
|
८ अर्ब ८३ करोड
|
१०० भोल्टभन्दा बढी भोल्टेजका लागि विद्युतीय कन्डक्टर
|
५ अर्ब ८७ करोड
|
एयर कन्डिसनिङ मेसिन
|
५ अर्ब १६ करोड
|
घरमा प्रयोग गरिने रेफ्रिजरेटर
|
५ अर्ब १२ करोड
|
१०,००० किलोभोल्ट-एम्पियरभन्दा बढी पावर क्षमता भएका तरल डाइइलेक्ट्रिक ट्रान्सफर्मर
|
३ अर्ब ८० करोड
|
हाइड्रोलिक टर्बाइन, वाटर व्हिलका भागहरू (रेगुलेटरसहित)
|
३ अर्ब ६५ करोड
|
१० किलोभन्दा कम क्षमताका स्वचालित वासिङ मेसिन
|
३ अर्ब २३ करोड
|
३६० डिग्री घुम्ने सुपरस्ट्रक्चर भएका सेल्फ-प्रोपेल्ड बुलडोजर
|
२ अर्ब ९७ करोड
|
ट्याप, कक र अन्य भल्भजस्ता उपकरण
|
२ अर्ब ८६ करोड
|
सेल्फ-प्रोपेल्ड बुलडोजर, एक्स्क्याभेटर
|
२ अर्ब ५९ करोड
|
लिड-एसिड ब्याट्री
|
२ अर्ब ५४ करोड
|
७५० किलोभोल्ट-एम्पियरभन्दा बढी आउटपुट भएका एसी जेनेरेटर
|
२ अर्ब ३४ करोड
|
राउटर
|
२ अर्ब १४ करोड
|
१२ वाटभन्दा कम पावरका सेल्फ-कन्टेन्ड इलेक्ट्रिक मोटर भएका टेबल, भुइँ, भित्ता, सिलिङ वा छतका पङ्खा
|
२ अर्ब १० करोड
|
माटो, ढुङ्गा, अयस्क आदिका लागि क्रसिङ वा ग्राइन्डिङ मेसिन
|
२ अर्ब २ करोड
|
राष्ट्रिय तथ्यांक विभागका पूर्वनिर्देशक ईश्वरी भण्डारी यस्ता सामग्रीको आयातले जीवनस्तर सुधार गर्न र दीर्घकालमा उत्पादन सुधारमा सहयोग पुग्ने बताउँछन्।
'मेसिनरी सामानको जति धेरै प्रयोग भयो। जीवनस्तर सुधार गर्न र उत्पादन बढाउन त्यतिनै धेरै मद्दत गरेको हुन्छ,' उनले भने।
'मेसिनरी सामानको आयात भएकै वर्ष उत्पादनमा प्रभाव नदेखिएको हुन सक्छ। तर केही वर्षमा नै यसको बजार प्रभाव देखिन्छ। समग्रमा यस्ता सामग्रीको उपयोग बढ्नु राम्रो हो,' उनले थपे, 'नेपालीको जीवनस्तर सुधारमा ठूलो परिवर्तन देखिनु यस्ता सामग्रीको उपयोग बढ्नु पनि प्रमुख कारण हो।'
घरपरिवार सर्वेक्षण २०७८ अनुसार ७३ प्रतिशत घर परिवारले स्मार्टफोन फोन प्रयोग गरेका छन्।
५३ प्रतिशत घरपरावारले विद्युतीय पंखाको प्रयोग गरेका छन्। २३ प्रतिशत घरपरिवारले रेप्रिजरेटर, ४ प्रतिशत जनसंख्या वासिङ मेसिन, ०.८ प्रतिशतले एयर कन्डिसनर प्रयोग गरेको देखिएको थियो। त्यस्तै ल्यापटक कम्प्युटर प्रयोग गर्ने घर परिवारको संख्यामा पनि १५ प्रतिशत माथि देखिएको छ।
पछिल्ला वर्षहरूमा विशेगरी कृषि र घरायसी तथा किचनमा उपयोग गरिने मेसिनरी सामग्रीको उपयोग तथा आयात बढ्दो क्रममा रहेको भन्सार तथ्यांकले देखाएको छ।
खेत जोत्ने ट्राक्टर, धान रोप्ने मेसिन, दूध दुहुने मेसिन, मही पार्ने मेसिन, मकै छोडाउने हाते तथा विद्युतीय मेसिन लगायतको उपयोग तथा आयात बढ्दो छ। केही यस्ता मेसिनरी सामग्रीको नेपालमा समेत उत्पादन हुन थालेको छ।