पछिल्लो आर्थिक वर्ष (२०८१/८२) मा बजार उत्पादन र मानिसहरूले गर्ने उपभोगमा सुधार देखिएको छ। सरकारले संकलन गर्ने उत्पादन र उपभोग केन्द्रित राजस्व तथा निजी क्षेत्रले गरेको बजार अध्ययन प्रतिवेदनले यो सुधार भएको देखाएको हो।
यो आर्थिक वर्षमा विदेशबाट वस्तु आयातका कारण भन्सार बिन्दुमा उठाइने शुल्क (भन्सार महसुल) १५ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा दुई खर्ब एक अर्ब रुपैयाँको भन्सार महसुल उठेको थियो, जुन आर्थिक वर्ष २०८१/८२ मा बढेर दुई खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ।
उत्पादन, बिक्री र सेवामा लाग्ने भ्याट करिब १४ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब ३० अर्ब रुपैयाँको यस्तो भ्याट उठेकोमा आर्थिक वर्ष २०८१/८२ मा एक खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ।
आन्तरिक उत्पादनको क्रममा संकलन गरिने अन्तशुल्क २० प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब ९ अर्ब रुपैयाँको यस्तो अन्तशुल्क उठेको थियो, जुन आर्थिक वर्ष २०८१/८२ मा एक खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ।
विगतमा कुनै पनि आर्थिक वर्षमा आन्तरिक उत्पादनमा केन्द्रित अन्तशुल्क नघटेकोमा आर्थिक वर्ष २०८०/८१ मा घटेको थियो। पछिल्लो वर्षमा भने औसत वृद्धिदर बराबरकै संकलन भएको छ।
भन्सार महसुलले वस्तु आयातमा भएको सुधार देखाएको छ। त्यस्तै, आन्तरिक उत्पादन तथा बिक्रीमा केन्द्रित अन्तशुल्क र भ्याटको वृद्धिदरले उत्पादन बढेको सङ्केत गरेको छ।
नेपाल उद्योग परिसङ्घले गर्ने बजार सर्वेक्षणले पनि पछिल्लो आर्थिक वर्षमा उत्पादन र उपभोग दुवैमा सुधार देखाएको छ। आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (माघ, फागुन र चैत) केन्द्रित सर्वेक्षणमा ७३ प्रतिशत क्षमतामा ठूला उद्योगहरू सञ्चालनमा रहेको देखाएको छ।
सामान्यतया, यस्ता उद्योगहरू क्षमताको ९० प्रतिशत हाराहारी सञ्चालन हुने गर्छन्। तर, आर्थिक वर्ष २०८०/८१ मा ६० प्रतिशत क्षमतामा सञ्चालन भएको थियो। आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा ६२ प्रतिशत पुगेको थियो भने तेस्रो त्रैमासमा बढेर ७३ प्रतिशत पुगेको छ। उद्योगीहरूले ७० प्रतिशतभन्दा बढीको क्षमतामा उद्योग सञ्चालन हुनुलाई राम्रो उत्पादनको रूपमा लिने गर्छन्।
बजारको मागमा पनि सुधार आएको देखिएको छ। सीएनआईको बजार सर्वेक्षणले यस्तो बजार मागमा २५ प्रतिशतको वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (कात्तिक, मङ्सिर र पुस) मा १७ प्रतिशतको वृद्धिदर देखिएको थियो। यसले क्रमशः बजार मागमा सुधार देखिएको सङ्केत गर्छ।
वार्षिक एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताको प्रशासन गर्ने निकाय ठूला करदाता कार्यालयका अधिकारीहरू पनि पछिल्लो आर्थिक वर्षमा उत्पादनमा सुधार आएको बताउँछन्।
यो आर्थिक वर्षमा विशेषतः दूरसञ्चार क्षेत्रबाट संकलन हुने राजस्व अनपेक्षित रूपमा घटेको र बैङ्किङ क्षेत्रबाट संकलन हुने राजस्व पनि अपेक्षाभन्दा निकै कम मात्रै संकलन भएको थियो। तर, उत्पादनमूलक उद्योगको आय तथा कारोबारमा आएको सुधारले यो कार्यालयले उठाउने राजस्व १० प्रतिशतले बढेको थियो।
‘डन्डी, सिमेन्टलगायतका उत्पादनमूलक उद्योगको उत्पादन र कारोबार बढेको देखिएको छ। ठूला उद्योगहरूमार्फत संकलन हुने उत्पादनमा आधारित भ्याट २२ प्रतिशतले बढेको कारण पनि आन्तरिक उत्पादनमा राम्रो सुधार देखिन्छ,’ ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्यालले भने।
चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहाल राजस्व तथ्याङ्कले आर्थिक गतिविधिमा सुधारको सङ्केत गर्ने बताउँछन्।
‘राजस्व तथ्याङ्कले समग्रमा, आर्थिक गतिविधिहरू बढ्न थालेको तथ्याङ्कहरूले पुष्टि गर्छन्। गत वर्ष करका दरहरूमा ठूलो परिवर्तन नगरिएको अवस्थामा पनि यो वृद्धि सकारात्मक मान्न सकिन्छ, उनले भने।
सरकारले विभिन्न १५ वटा उपशीर्षकमा विभाजन गरेर राजस्व संकलन गर्ने गर्छ। यसमध्ये गत आर्थिक वर्षमा ब्याज कर बाहेक सबै शीर्षकको राजस्व बढेको देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा पनि बैङ्क तथा वित्तीय संस्थाले दिने निक्षेपको ब्याजदर लगातार घटाएका कारण यसको प्रभाव करमा देखिएको छ। यो वर्ष यस्तो कर १८ प्रतिशतले घटेको छ।
आर्थिक वर्ष २०८०/८१ मा ३६ अर्ब ८३ करोड रुपैयाँको यस्तो कर संकलन भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा भने ३० अर्ब २१ करोड मात्र संकलन भएको छ।
ब्याज करको संकलन कम भएको कारणले नै भ्याट, अन्तशुल्क तथा भन्सार महसुलबाट संकलन हुने करको तुलनामा गत वर्ष आयकरको वृद्धिदर निकै कम छ। समग्रमा गत वर्ष आयकरको वृद्धिदर पाँच प्रतिशतको मात्रै छ।
आर्थिक वर्ष २०८०/८१ मा दुई खर्ब ८३ अर्ब रुपैयाँ समग्र आयकर संकलन भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा भने दुई खर्ब ९७ अर्ब रुपैयाँ संकलन भएको छ।
तर, ब्याज करबाहेकको आयकर भने ८.५ प्रतिशतले बढेर दुई खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ।
औसत राजस्व वृद्धिदरको तुलनामा ब्याज कर बाहेकको राजस्व वृद्धिदर पनि केही कम देखिन्छ। सीए शेषमणि दाहालले कारोबारबाट संकलन हुने राजस्वको तुलनामा आयबाट संकलन हुने राजस्व संकलन कम हुनुले विगतको घाटा कम गरेको हुन सक्ने बताउँछन्।
‘अघिल्लो वर्षको तुलनामा आय बढे पनि विगतमा भएको घाटा पूर्तिले पनि यसमा प्रभाव देखिएको हुनसक्छ। विगतमा बढी तिरिएको कर यो वर्षको आयबाट तिर्नुपर्ने करमा मिलान भएको कारण पनि कर कम देखिन सक्छ,’ सीए दाहालले भने, ‘सम्बन्धित वर्षमा कारोबारका साथै लगानी तथा खर्च बढ्यो भने पनि यस्तो करमा कमी आउन सक्छ, यसको प्रभाव पछिल्ला वर्षहरूमा देखिन सक्छ।’