राष्ट्रिय लेखमान तथ्यांकले अर्थतन्त्रमा सुधारको संकेत देखाएको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमास तथ्यांकले लामो समयदेखि समस्या देखिएका क्षेत्रमासमेत सुधार भएको देखाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक तथ्यांक विश्लेषणका आधारमा कुल गार्हस्थ्य उत्पादन मापन गर्ने १८ सूचकमध्ये चालु वर्षको दोस्रो त्रैमासमा कुनै पनि सूचक ऋणात्मक देखिएका छैनन्। पहिलो त्रैमासको परिमार्जित तथ्यांकमा समेत कुनै पनि क्षेत्र ऋणात्मक देखिएका छैनन्।
तथ्यांक कार्यालयले पछिल्लो त्रैमासको प्राम्भिक अनुमान र त्यसअघिको त्रैमासको परिमार्जित (रिभाइज) तथ्यांक सार्वजनिक गर्ने गर्छ। प्रारम्भिक तथ्यांकको आधारमा अघिल्लो पहिलो त्रैमासमा निर्माण क्षेत्र ऋणात्मक देखिएको थियो। तर बुधबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको परिमार्जित तथ्यांक निर्माण क्षेत्र पहिलो त्रैमासमा ०.९ प्रतिशतको वृद्धिदर देखाइएको छ।
‘हामीले तीन तहमा तथ्यांक निकाल्ने गर्छौं। पहिले प्रारम्भिक निकालिन्छ। त्यसपछि परिमार्जित तथ्यांक र त्यसपछि यथार्थ तथ्यांक भन्ने हुन्छ,’ राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले भने, ‘पहिलो त्रैमासको परिमार्जित तथ्यांक र दोस्रो त्रैमासको प्राम्भिक तथ्यांकले अर्थतन्त्रका सबै क्षेत्रमा वृद्धिदर देखिन्छ।
लगातार दुई वटा त्रैमास नै सबै क्षेत्र धनात्मक देखिनु सकरात्मक संकेत भएको तथ्यांक अधिकारीहरू बताउँछन्।
दोस्रो त्रैमासमा निर्माण, खानी र उत्पादनमुलक उद्योगमा उल्लेखनीय सुधार देखिएको छ। निर्माण क्षेत्रको वृद्धिदर ९.१ प्रतिशत पुगेको छ। उत्पादनमुलक उद्योगको वृद्धिदर ७.४ र खानी तथा उत्खनन क्षेत्रको वृद्धिदर ९.५ प्रतिशत पुगेको छ।
‘औद्योगिक कच्चा पदार्थको आयात वृद्धि, यस्ता सामानको माग तथा उपभोगमा सुधार र उत्पादनमुलक उद्योग र निर्माण दुवै क्षेत्र वृद्धिदर बढ्नुले अर्थतन्त्रमा सुधारोन्मुख भएको संकेत गरेको छ,’ लामिछानेले भने।
आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमास (कात्तिक, मंसिर र पुस) महिनाको तुलनामा चालु वर्षको यीन महिनाको वृद्धिदर हो यो।
दोस्रो त्रैमासमा ढुवानी तथा भण्डार क्षेत्र, थोक तथा खुद्रा व्यापार र मोटरसाइकल तथा गाडी मर्मत क्षेत्रमा पनि अपेक्षित सुधार देखिएको छ। ढुवानी तथा भण्डा क्षेत्र १४ प्रतिशतले बढ्दा होलसेल तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ६.१ प्रतिशत रहेको छ। यसले माग र आपूर्ति दुवैमा सुधार आएको देखाउँछ।
दोस्रो त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा ५.१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ। यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा यातायात क्षेत्रमा भएको वृद्धि, निर्माण क्षेत्रमा भएको वृद्धि, कृषि उत्पादनमा भएको वृद्धि, विद्युत उत्पादन तथा वितरणमा भएको वृद्धिसँगै वित्तीय मध्यस्थताको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका तथ्यांक कार्यालयले जनाएको छ। समग्रमा यस त्रैमासमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक क्षेत्र सबैमा धनात्मक वृद्धिदर रहेको अनुमान छ।
अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर ३.२ प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान गरिएको छ। धानको उत्पादनमा भएको वृद्धि साथै तरकारी, अमिलो जातका फलफूल तथा हिउँदे फलफूल र पशु-पंक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको कार्यालयले जनाएको छ।
अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा कृषि तथा व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादनमा भएको वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धिका कारणले गर्दा व्यापार क्षेत्रको वृद्धि थप विस्तार भएको जनाइएको छ।
गत आर्थिक वर्षको दोश्रो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकमा औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण उत्पादनमुलक उद्योग क्षेत्रको वृद्धिमा उल्लेख्य सुधार हुन गएको प्रारम्भिक अनुमान छ।
वित्तीय तथा विमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ६.६ प्रतिशत हुने अनुमान गरिएको छ। सूचना तथा प्रविधिक्षेत्रको वृद्धिदर ४.९ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।
यस त्रैमासिकमा सार्वजनिक प्रशासन तथा रक्षा २.२४, स्वास्थ्य ३.१, घरजग्गा कारोबार ३.१४ लगायतका अन्य क्रियाकलापको वृद्धिदर सामान्य रहेको छ।