कार्टन, टिनको भाडो तथा प्लाष्टिक पाउचको बिक्री उल्लेखनीय बढेको छ।
सम्बन्धित व्यवसायीहरूका अनुसार यी उत्पादनको माग गत भदौदेखि निरन्तर बढ्दो क्रममा छ।
गत वर्ष यी तीन प्रकारका उद्योगहरूको उत्पादन निकै घटेको थियो।
बजारको माग निकै कम तर तीव्र प्रतिस्पर्धाको कारण करिब दुई दर्जन कार्टन उद्योग बन्न भएका थिए।
व्यवसायी सञ्जिव साहका अनुसार पछिलो डेढ वर्षको अवधिमा २० वटा कार्टन उद्योग नै बन्द भएका छन्।
उक्त अवधिमा विराटनगरमा ४, वीरगञ्जमा ३, हेटौंडामा २, भैरहवामा ४, नारायणघाटमा ३ र काठमाडौंमा ४ वटा कार्टन उत्पादन गर्ने उद्योगहरू बन्द भएका थिए।
सञ्चालनमा रहेका उद्योगहरू पनि क्षमताको ३५ देखि ४० प्रतिशत मात्रै उत्पादन गरेका थिए।
यो वर्षको बजार माग बढेपछि व्यवसायी उत्साहित भएका छन्।
यस्तो कार्टनको मुख्य प्रयोग चाउचाउ उद्योग, मदिरा उद्योग, तेल उद्योग, जुत्ता–चप्पल उद्योग र अन्य घरायसी प्रयोजन तथा विद्युतीय सामग्री उत्पादन गर्ने उद्योगमा हुने गर्छ।
अन्य क्षेत्रका उद्योगमा यी कार्टनको माग ठूलो उतारचढाब देखिएको छैन।
तर, खाने तेल उद्योगले प्रयोग गर्ने कार्टनको प्रयोगमा भने निकै ठूलो उतारचढाव देखिएको छ।
'गत वर्ष तेलको कारोबार नै निकै कम भयो जसको असर हाम्रो उद्योगहरू देखियो,' फाइन कोरूगेसन प्याकेजिङ उद्योगका प्रतिनिधि सञ्जीव साहले भने, 'यो वर्ष वनस्पति तेलको निर्यात निकै बढेको छ। कार्टनको माग पनि बढेको छ।'
बिक्री उल्लेखनीय बढे पनि कारोबार भने अपेक्षा अनुसार नबढेको साहको प्रतिक्रिया छ।
'हामीले प्रयोग गर्ने कच्चा पदार्थ (कागज) को मूल्य निकै बढेको छ। तीव्र प्रतिस्पर्धाको कारण हामीले मूल्य बढाएर बेच्न सक्ने अवस्था छैन,' साहले भने, 'बिक्री निकै बढे पनि कच्चापदार्थ २० प्रतिशत महँगोमा खरिद गर्नु परेको र बिक्री पुरानै मूल्यमा गर्नु परेको कारण अपेक्षित कारोबार भने बढेको छैन।'
नेपाल कोरोगेटेड बक्स उत्पादक संघका अध्यक्ष सुकृतराज पराजुली पनि अहिलेको मुख्य माग बढ्नुको कारण तेलको कारोबार नै रहेको प्रतिक्रिया दिन्छन्।
'अन्य उद्योगहरूको मागमा सुधार रहेको छैन। धेरै खानेतेल उद्योगले ठूलो मात्रामा कार्टनको माग गर्नु भएको छ, यही कारण हाम्रो उत्पादनमा पनि सुधार आएको छ,' उनले भने।
नेपाल कोरोगेटेड बक्स उत्पादक संघको तथ्यांक अनुसार अहिले यस्ता १३० वटा बढी उद्योगहरू रहेका छन्।
यी उद्योगहरूले गत वर्ष औसत रूपमा क्षमताको ३५/४० प्रतिशत मात्रै उत्पादन गरेका थिए। यो वर्ष भदौपछि भने ६५/७० प्रतिशतसम्म उत्पादन गरेका छन्।
बढोत्तरी टिनको भाडो र प्लाष्टिकको पाउचको बिक्रीमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ।
'अघिल्लो वर्षको तुलनामा कारोबार बढेको छ। वार्षिक दुई करोडको बिक्री गर्नेले अहिले ४ करोडको पुर्याएका छन्। ४ करोडको बिक्री गर्नेले ८ करोड पुर्याएका छन्,' साइ मेटल उद्योगका सञ्चालक प्रदीप केडियाले भने 'अहिले ठूला उद्योगले आफै प्याकेजिङ उद्योग पनि चलाएका छन्। आफ्नो उत्पादनले नपुगेपछि हाम्रो बिक्री पनि बढेको छ।'
त्यस्तै पेपर खपत पनि ५० प्रतिशतले बढेको व्यवसायीको भनाइ छ। पेपर कार्टनका उत्पादनको लागि कच्चा पदार्थ हो।
पेपरको प्रयोग बढ्न थालेपछि भुसको मूल्य समेत निकै बढेको व्यवसायीको भनाइ छ।
विगतमा सात रूपैयाँ किलो पाइने भुसको मूल्य अहिले १६ रूपैयाँ किलो पुगेको उनीहरूले बताएका छन्। भुस पेपर बनाउनको लागि प्रयोग गरिने उनीहरूको भनाइ छ।
यसरी एउटा औद्योगिक चक्रमा सुधार ल्याउनका कारण भने वनस्पति तेलको कारोबार रहेको व्यवसायीहरूको प्रतिक्रिया छ।
गत वर्ष वनस्पति तेल (अर्धप्रशोधित भटमास, सूर्यमुखी र पाम) को आयात निकै घटेको थियो। निर्यात करिब ठप्प प्रायः थियो।
चालु वर्षको पहिलो ८ महिनाको अवधिमा भने ५८ अर्ब रूपैयाँ बराबरको प्रशोधित तेलको निर्यात भएको छ। भने ९० अर्ब रूपैयाँ बराबरको आयात भएको छ।
नेपालबाट प्रशोधित वनस्पति तेल भारत निर्यात गर्दा भन्सार छुट सुविधा छ।
दुई देशबीचको वाणिज्य सन्धिअनुसार ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन गरिएको वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश पाउँछ।
तर, अन्य मुलुकबाट भित्रिने तेलको भन्सार भने गत भदौमा भारतले बढाएर २७ प्रतिशत पुर्याएको थियो। जसको लाभ अहिले नेपाली व्यवसायीले पाएका छन्।
विगतमा भारतले यसैगरी भन्सार घटाउँदा भने नेपाली व्यवसायी समस्यामा परेका थिए।
भारतले सन् २०२२ मा अन्य मुलुबाट आयात हुने यस्तो तेलको भन्सार घटाएको थियो। त्यसपछि नेपालबाट हुने निर्यात पनि करिब ठप्प भएको थियो। यो वर्ष भन्सार बढाएसँगै नेपाली उद्योगले लाभ लिएका हुन्। नेपालमा यस्तो तेलसँग सम्बन्धित २५ वटा उद्योगहरू रहेका छन्।
यी उद्योगले अर्धप्रशोधित तेल आयात गरेपछि नेपालमा प्रशोधन र प्याकिङ गर्ने गर्छ।
श्रम, प्रविधि, ऊर्जा र प्याकेजिङ गर्दा वार्षिक औसत रूपमा ३० प्रतिशतको मूल्य अभिवृद्धि हुने व्यवसायीहरूको दाबी छ।