पछिल्लो ८ महिनाको अवधिमा १० वस्तुको निर्यातबाट एक खर्ब बढी रूपैयाँ बराबरको विदेशी मुद्रा कमाइ भएको छ।
गत भदौमा भारतमा कतिपय वस्तुको भन्सार शुल्कमा गरेको परिवर्तनको लाभ नेपालको अन्तर्राष्ट्रिय व्यापार पनि बढेको छ। अघिल्ला दुई वटा आर्थिक वर्ष र चालु वर्षको पहिलो तीन महिना लगातार घटेको अन्तर्राष्ट्रिय व्यापारमा सुधार आएको छ।
२०८१ साउनदेखि फागुन महिनासम्म नेपालले भटमासको तेल, धागाे, सूर्यमुखी तेल, ऊनी गलैंचा तथा कार्पेट, प्लाइउडको निर्यात सबैभन्दा धेरै गरेको छ।
त्यस्तै धेरै निर्यात गर्नेको सूचीमा फलामे पाता, अलैंची, तयारी कपडा, फलफूलको जुस र जुटबाट बुनिएका कपडा पनि छ।
यी १० किसिमका वस्तुहरूको निर्यातबाट मात्रै एक खर्ब ४ अर्ब १४ करोड रूपैयाँ बराबरको विदेशी मुद्रा कमाइ भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
अघिल्लो वर्षको ८ महिनामा यिनै १० वस्तुको निर्यात जम्मा ४७ अर्ब रूपैयाँ बराबरको थियो।
यति धेरै निर्यात बढ्नुमा सबैभन्दा धेरै योगदान भटमास र सूर्यमुखी तेलको नै छ। ८ महिनामा भएको समग्र निर्यातमा यी दुई तेलको हिस्सा मात्रै ३५ प्रतिशत बढी छ।
८ महिनामा भटमासको तेलको निर्यात ४७ अर्ब ९४ करोड ७१ लाख रूपैयाँ बराबरको भएको छ। गत यही समयमा जम्मा ७५ करोड ४१ लाख रूपैयाँको मात्रै भएको थियो।
सूर्यमुखी तेलको निर्यात ७ अर्ब ९८ करोड ४२ लाख रूपैयाँ बराबरको भएको छ। गत वर्ष यसै समयमा १४ करोड रूपैयाँ बरारबको भएको थियो। यी दुई तेलको निर्यात गर्त वर्ष ८ महिनामा एक अर्ब पनि नभएकोमा अहिले ५६ अर्ब रूपैयाँ बराबरको पुगेको हो।
वनस्पति तेलको निर्यात उतारचढावमा भारतीय भन्सार नीतिको प्रभाव देखिएको छ। नेपालबाट प्रशोधित वनस्पति तेल भारत निर्यात गर्दा भन्सार छुट सुविधा छ।
दुई देशबीचको वाणिज्य सन्धि अनुसार ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन गरिएको वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश पाउँछ।
तर, अन्य मुलुकबाट भित्रिने तेलको भन्सार भने गत भदौमा भारतले बढाएर २७ प्रतिशत पुर्याएको थियो। जसको लाभ अहिने नेपाली व्यवसायीले पाएको छन्।
विगतमा भारतले यसैगरी भन्सार घटाउँदा भने नेपाली व्यवसायी समस्यामा परेका थिए।
भारतले सन् २०२२ मा अन्य मुलुबाट आयात हुने यस्तो तेलको भन्सार घटाएको थियो। त्यसपछि नेपालबाट हुने निर्यात पनि करिब ठप्प भएको थियो। यो वर्ष भन्सार बढाएसँगै नेपाली उद्योगले लाभ लिएका हुन्। नेपालमा यस्तो तेलसँग सम्बन्धित २५ वटा उद्योगहरू रहेका छन्।
धेरै निर्यात हुनेमा धागो पनि रहेको छ। यो वर्ष धागोको निर्यात २३ प्रतिशतले बढेर ९ अर्ब १९ करोड पुगेको छ।
ऊनी गलैंचा तथा कार्पेटेको निर्यात ७ अर्ब २१ करोड रूपैयाँ बराबरको भएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ४ प्रतिशतले बढी हो।
प्लाइउडको निर्यातमा २० प्रतिशतले बढेर ५ अर्ब ८८ करोड पुगेको छ। प्लाइउड पूर्णत नेपाली कच्चा पदार्थमा आधारित वस्तु हो।
फलामे पाताको पनि धेरै निर्यात हुनेको सूचीमा रहेको छ। तर यसको नपर्यात २७ प्रतिशतले घटेर ५ अर्ब ८६ करोड रूपैयाँ बराबरको भएको छ।
अलैंचीको निर्यात १३ प्रतिशतले बढेर ५ अर्ब ८४ करोड रूपैयाँ बराबरको भएको छ।
तयारी कपडाको निर्यातबाट पनि ५ अर्ब ४९ करोड रूपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको छ। यसको निर्यात भने सामान्य घटेको छ।
फलफूलको जुस ४ अर्ब ८८ करोड र जुटबाट बुनिएका कपडा ३ अर्ब ८२ करोड रूपैयाँ बराबरको निर्यात भएको छ।
समग्रमा चालु वर्षको ८ महिनामा ५७ प्रतिशतले निर्यात बढेर एक खर्ब ५८ अर्ब रूपैयाँ बराबरको पुगेको छ। तर, १० वस्तुको हिस्सा मात्रै ५४ प्रतिशत पुगेको छ।
चालु वर्षको आयात पनि बढेरको छ। ८ महिनामा समग्र आयात ११ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब रूपैयाँ बराबरको भएको छ।
सबैभन्दा बढी आयात हुनेको सूचीमा डिजेल रहेको छ।
७८ अर्ब ८६ करोड रूपैयाँ बराबरको डिजेल आयात भएको छ। यो मूल्यको हिसाबले गत वर्षको तुलनामा ११ प्रतिशतले कम छ। तर, परिमाण भने बढेको छ।
५१ अर्ब ३५ करोड बराबरको अर्धप्रशोधित भटमासको तेलको आयात भएको छ।
पेट्रोल ४२ अर्ब ८० करोड रूपैयाँ बराबरको र खाना पकाउने ग्यास ४१ अर्ब रूपैयाँ बराबरको आयात भएको छ।