चालु वर्षमा अन्तशुल्कको संकलनमा उल्लेखनीय सुधार देखिएको छ।
सरकारले आन्तरिक वस्तुमा उत्पादनको क्रममा र आयतित वस्तुमा भन्सार विन्दुमा अन्तशुल्क संकलन गर्ने गर्छ। दुवै प्रकारको अन्तशुल्कमा उल्लेखनीय सुधार देखिनुले उत्पादन र बिक्री दुवै बढेको संकेत गर्छ।
आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार अन्तशुल्कको संकलन १२ अर्ब ७५ करोड रूपैयाँले बढेर ७५ अर्ब ५७ करोड पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी हो। चालु वर्षको फागुनसम्मको लक्ष्यसँग तुलना गर्ने हो भने ९६ प्रतिशत हो।
आयातको क्रममा संकलन हुने अन्तशुल्क पनि अघिल्लो वर्षको तुलनामा चार अर्ब ७९ करोड रूपैयाँले बढेर २८ अर्ब ७६ करोड रूपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी हो। चालु वर्षको फागुनसम्म राखिएको लक्ष्यको तुलनामा भने ७३ प्रतिशत हो।
आन्तरिक उत्पादनहरूमध्ये विशेषगरी मदिरा र सुर्ती तथा चुरोटमा अन्तशुल्क लगाइने गर्छ। यस्ता वस्तुको उत्पादन बढेसँगै अन्तशुल्क संकलन बढ्ने गर्छ।
आर्थिक वर्ष २०८०/८१ अघिका वर्षहरूमा कहिले पनि अन्तशुल्क घटेको थिएन। औसत रूपमा २० प्रतिशत माथिको वृद्धिदर रहेकोमा गत वर्ष भने घटेको थियो।
यो फागुन मसान्तसम्म आइपुग्दा १७ प्रतिशतको वृद्धिदर छ। यसले यी वस्तुको माग बढेको देखिन्छ।
आयातको क्रममा पनि मदिरा, सुर्तीजन्य, सवारी साधन तथा कतिपय औद्योगिक कच्चा पदार्थको आयातमा अन्तशुल्क लगाइने गरिएको छ।
चालु वर्षको बजेटबाट अन्तशुल्कका दरहरू करिब स्थिर राखिएको कारण पनि यो वृद्धिले उपभोग नै बढेको देखिन्छ।
अन्तशुल्क मात्रै होइन मूल्य अभिवृद्धिकर भ्याटमा पनि सुधार देखिएको छ। भन्सार विन्दु बाहेकको भ्याट अघिल्लो वर्षको तुलनामा १२ अर्ब १९ करोड रूपैयाँले बढेर ८७ अर्ब ५६ करोड रूपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १४ प्रतिशले बढी हो।
भन्सार विन्दुमा संकलन गरिने भ्याट भने ६ प्रतिशतले बढेको छ। फागुनसम्म भन्सार विन्दुमा एक खर्ब २६ अर्ब रूपैयाँ भ्याट संकलन भएको छ।
भ्याट र अन्तशुल्कको वृद्धिले बजार कारोबार तथा उपोग बढेको संकेत गरेको छ। तर, आयमा भने अपेक्षित सुधार देखिएको छैन।
फागुनसम्म आयकर संकलन जम्मा ५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष फागुनसम्म एक खर्ब ३७ अर्ब संकलन भएको थियो। चालु वर्षको फागुनसम्म एक खर्ब ४५ अर्ब संकलन भएको छ।
अर्थमन्त्रालयका अधिकारीहरू भने भ्याट र अन्तशुल्को वृद्धिले आगामी दिनमा आयमा प्रभाव देखिने अनुमान गरेका छन्।
आयकरका लागि पुस, चैत र असार महिना महत्त्वपूर्ण मानिन्छ। आयकर ऐनको व्यवस्थाअनुसार पुस महिनामा वार्षिक अनुमानित आम्दानीको आधारमा तिर्नुपर्ने करको ४० प्रतिशत भुक्तानी गर्नुपर्ने हुन्छ।
थप ६० प्रतिशतमध्ये चैत महिनासम्म थप ३० प्रतिशतसहित ७० प्रतिशत कर तिर्नुपर्छ।
त्यस्तै असार महिनामा थप ३० प्रतिशत करसहित शतप्रतिशत कर बुझाउनु पर्ने हुन्छ। मंसिर महिनापछि नै कारोबार थप बढेको कारण यसको प्रभाव दोस्रो किस्ताको आय बुझाउने समय चैतमा देखिने अनुमान गरिएको छ।
चालु वर्षमा ब्याज आय बाहेक सबै किसिमका कर संकलन बढेको छ।
आन्तरिक राजस्व विभाग मातहतबाट संकलने हुने राजस्वमा भाडा आम्दानीबाट तिर्नुपर्ने आयकर ८ प्रतिशतले बढेर एक अर्ब ७० करोड पुगेको छ।
ब्याज आम्दानीबाट तिर्नुपर्ने कर २० प्रतिशले घटेर २२ अर्ब ५८ करोड मात्रै संकलन भएको छ। पछिल्लो दुई वर्षदेखि निक्षेपको ब्याजदर घट्दो क्रममा छ। जसको प्रभाव ब्याज आम्दानीबाट संकलन हुने राजस्वमा देखिएको हो। भ्याट १४ र अन्तशुल्क १७ प्रतिशतले बढेको छ।
स्वास्थ्य शिक्षा सेवा शुल्कबाट संकलन हुने कर सामान्य बढेको छ। अन्य शुल्कबाट संकलन हुने राजस्व भने २७ प्रतिशतले बढेर ७ अर्ब ५५ करोड पुगेको छ।
भन्सार विभागले संकलन गर्ने राजस्वमा भन्सार महसुल १४ प्रतिशले बढेर एक खर्ब २४ अर्ब पुगेको छ।
भ्याट र अन्तशुल्क क्रमशः ६ र २० प्रतिशतले बढेको छ।
सडक मर्मत तथा सुधार र निर्माण दस्तुर २५ प्रतिशतले बढेर नौ अर्ब ६६ करोड संकलन भएको छ। पूर्वाधार कर ४ प्रतिशतले बढेर १३ अर्ब ८ करोड संकलन भएको छ।
चालु वर्षको बजेटबाट सुरू गरिएको हरित कर दुई अर्ब ४ करोड संकलन भएको छ।