आइएमई समूहको मुख्य पहिचान सेवा क्षेत्रमा छ। यो बैंक तथा वित्तीय संस्था, रेमिट र पर्यटन तथा भोजन सेवामा अग्रणी समूह हो।
रेमिटमा नेपालको पहिलो रेमिट 'आइएमई रेमिट', बैंकिङ क्षेत्रमा ग्लोबल आइएमईको उपस्थिति निकै बलियो छ।
पछिल्लो समय आइएमई समूहका अध्यक्ष चन्द्र ढकाल 'केबलकार म्यान' तथा पर्यटन पूर्वाधार निर्माणकर्ताको रूपमा पहिचान बटुलेका छन्। उनको समूहले काठमाडौंमा चन्द्रागिरी, गैँडाकोटमा मौलाकालिका, बुटवलमा लुम्बिनी केबलकार सञ्चालन गरेको छ।
ताप्लेजुङमा पाथीभरा केबलकार निर्माणाधीन छ। सातै प्रदेशमा सात ठूला पर्यटन पूर्वाधार बनाउने लक्ष्यसहित कामहरू भएको उनी बताउँछन्।
होटल व्यवसायमा पनि अग्रणी नाम हो, आइएमई समूह। दुई महिनाअघि मात्रै गण्डकी प्रदेशको बाग्लुङमा लक्जरी होटल 'इला कम्फर्ट' सञ्चालनमा ल्याइएको थियो। काठमाडौं, पोखरा, चितवनमा उनका होटल सञ्जाल छन्।
शिक्षा, प्रविधि तथा डिजिटल सेवा, व्यापार तथा खुद्रा व्यवसाय, ऊर्जा पूर्वाधार, अटोमोबाइल क्षेत्रमा पनि आइएमई समूहको उपस्थिति लामो समयदेखि छ।
आइएमई समूहले अर्को क्षेत्रमा पनि पाइला अघि बढाएको छ। त्यो हो उत्पादनमूलक उद्योग।

लामो समयदेखि उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न नसकेको, ठूला घरानाहरू उत्पादनबाट आयात केन्द्रित व्यापारतर्फ केन्द्रित भएको तथा जिडिपीमा उत्पादनमूलक उद्योगको हिस्सा क्रमशः घट्दै गएको समयमा ढकालको समूहले एक साथ दुई नयाँ उद्योग र दुई नयाँ उत्पादन लिएर बजार प्रवेश गरेको हो।
उनले ठूलो लगानीका पेपर र फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा ल्याएका हुन्। पेपर उद्योगले उत्पादन सुरू गरिसकेको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले यो उद्योगको विधिवत उद्घाटन गर्ने तयारी छ।
फाइबर सिमेन्ट बोर्ड भने अबको एक महिनापछि सञ्चालनमा ल्याइँदैछ।
नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज
- लगानीः २ अर्ब बढी
- उद्योग सञ्चालन भएको क्षेत्रः महोत्तरी, गौशाला नगरपालिका–१, इँटाटार गाउँ
- उत्पादन हुने सामग्रीः विद्यालय तथा कलेजका कापी, फोटोकपी पेपर, टिस्यु पेपर
- उद्योग प्रयोग हुने कच्चा पदार्थः पूर्णत नेपालमा उपलब्ध
- उद्देश्यः कागज उत्पादनमा स्वदेशी आत्मनिर्भरता, रोजगारी सिर्जना, कागज आयात प्रतिस्थापन, नयाँ उत्पादनमा प्रवेश
- उत्पादन क्षमता र लक्ष्यः हाल दैनिक ७५ मेट्रिक टन, भविष्यमा १५० मेट्रिक टन
- रोजगारीः प्रत्यक्ष ५०० जना
- बजार हिस्साः कुल वार्षिक मागको करिब ३० प्रतिशत स्वदेशमै उत्पादन गर्ने योजना
- नेपालको कागज बजार स्थितिः वार्षिक १.५ लाख मेट्रिक टन कागजको खपत, हालसम्म आयातमा निर्भर, वार्षिक ८ देखि १० अर्ब रूपैयाँ बराबरको आयात।
आइएमई समूहका अनुसार अहिले नेपालमा कागज उद्योग छैनन्। यो उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउँदा अहिले भइरहेको आयात ३० प्रतिशत घट्ने छ।

एभरेष्ट फाइवर सिमेन्ट बोर्ड
फाइवर सिमेन्ट बोर्ड एक निर्माण सामग्री हो। विशेषरूपमा भित्तो, सिलिङ, बाहिरी पर्खाल, फर्निचर तथा अन्य संरचनात्मक काम गर्नको लागि सहयोग पुग्छ।
- लगानीः डेढ अर्ब
- रोजगारीः २०० जना
- उद्योग सञ्चालन हुने क्षेत्रः फतुवा विजयपुर नगरपालिका, रौतहट
- उद्देश्यः नयाँ उत्पादनमा प्रवेश, आयात कम गर्ने, आपतकालीन संरचना निर्माणको लागि आवश्यक सामग्री उपलब्ध गराउने, कम लागतमा व्यक्तिगत संरचना निर्माणको लागि आवश्यक उत्पादन उपलब्ध गराउने
- उत्पादित वस्तुको प्रयोगः भवन निर्माणको क्रममा (बाहिरी पर्खाल, भित्री भित्तो, हल्का टिकाउ र जलरोधक भित्ता), साना उद्योग तथा व्यावसायिक प्रयोजन (बाथरूम, किचन, स्विमिङ पुल वरिपरिको जलरोधक सतह बनाउन)।
- कच्चा पदर्थः पूर्णमा नेपाली कच्चा पदार्थमा केन्द्रित
- दैनिक उत्पादनः दिनको ७५ हजार स्क्वायर फिट
- अहिलेको बजारः आयातमा केन्द्रित
आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले आफ्ना पूर्व मान्यता अनुरूप नयाँ उद्योग सञ्चालनमा ल्याएको बताउँछन्।
'हामी राज्यको प्राथमिकता, देशको आवश्यकता र बजारको सुनिश्चिततालाई हेरेर नै लगानी गर्ने गरेका छौं, अहिले हामीले ल्याएका दुवै प्रकृतिका उद्योगहरू यहाँ छैनन्, यी सामान हामी आयातमा निर्भर छौँ,' अध्यक्ष ढकालले भने, 'जहिले पनि सुलभ सेवा र अधिक रोजगारी सिर्जनामा हाम्रो ध्यान छ। विगतमा हामी सेवा क्षेत्रमा केन्द्रित भएका थियौं। अब हाम्रो ध्यान स्वदेशी कच्चा पदार्थको प्रयोगबाट उत्पादन बढाउनेमा पनि केन्द्रित भएको छ।'
उनले सरकार, राजनीतिक दल तथा सरोकारवालालाई निजी क्षेत्रले गर्ने लगानीमा सहयोग पुर्याउन आग्रह पनि गरे।
'निजी क्षेत्र जहिले पनि लगानी थप्न, रोजगारी बढाउन केन्द्रित हुन्छ। हामीले सबै काम ऐन नियमको अधिनमा बसेर नै काम गरेका छौँ। यसरी लगानी गर्दा पनि निश्चित समूहले विरोध गर्ने र काममा बाधा पुर्याउने अवस्था आयो भने भयो लगानी टिकाउन र नयाँ लगानी थप्न समस्या हुन्छ।'