नेपालस्थित युएसएआइडीका कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्न थालिएको छ।
अमेरिका अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) अन्तर्गत नेपालमा रहेका कर्मचारीहरू मध्ये २३ प्रतिशत कर्मचारीलाई हालसम्म बिदामा राखिएको छ।
नेपालस्थित अमेरिकी दुतावासका अनुसार हाल नेपालमा युएसएआइडीअन्तर्गत काम गर्ने कर्मचारी १०५ जना छन्। जसमध्ये २५ जना अमेरिकी र ८० जना नेपाली छन्।
सम्बद्ध स्रोतका अनुसार अहिलेसम्म बिदामा राखिएकामध्ये सबै अमेरिकी नागरिक छन्। एक जना मिशन डिरेक्टरबाहेक सबै जना अमेरिकी प्रशासनिक बिदामा छन्।
२१ जना गत सोमबारदेखि बिदामा बसेका थिए। थप तीन जना भने आज (सोमबारबाट) बिदामा बसेका छन्। युएसएआइडी मुख्य कार्यालयले दिएको सूचनाको आधारमा उनीहरू बिदामा बसेको जनाइएको छ।
‘एक जना बाहेक सबै अमेरिकी बिदामा बसिसकेका छन्। नेपालीहरू भने अहिले नियमित काममा गइरहेका छन्,’ स्रोतले भन्यो।
युएसएआइडिमा काम गरिरहेका कमर्चारीहरू पनि अन्योलमा छन्।
पछिल्लो डेढ महिनादेखि कहिलेसम्म काम हो भन्ने स्थितीबाट काम गर्नु परेको युएसएएडमा काम गर्ने एक कर्मचारी बताउँछन्।
नेपालमा युएसएआइडीको जागिर आकर्षक मानिन्छ।
‘कतिपय यहाँ थप राम्रो हुने भएकोले अन्यत्रको राम्रै जागिर छोडेर पनि यहाँ काम गर्न आएका छन्। तर अहिले कहिलेसम्म हो, अब के हो भन्ने अन्योल बढेको छ,’ त्यहाँ कार्यरत एक कर्मचारीले भने।
अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युएसएआईडीका अधिकांश कर्मचारीहरूलाई बिदामा पठाएको छ।
बिबीसीका अनुसार अघिल्लो सातासम्म विश्वभरबाट चारहजार दुई सय कर्मचारी बिदामा राखिएको थियो भने एक हजार ६ सय कर्मचारीलाई जागिरबाट नै निकालिएको थियो।
बिदामा राखिएको कर्मचारी जागिरमा फर्काइन्छ वा अन्य कुनै योजना ल्याएर जागिबाट हटाइन्छ भन्ने अन्योल कायम छन्।
अहिले काम गरिरहेका मध्ये पनि अझै कटौती हुनसक्ने देखिएको छ। गत सोमबारसम्म युएसएआइडी अन्तर्गत नेपालमा काम गर्ने कुनै कर्मचारी बिदामा राखिएको थिइएन। त्यसयता भने २४ जना बिदामा राखिएको हो।
अमेरिकी संघीय अदालतले कर्मचारी कटौती गर्न तथा बिदामा राख्नको लागि सहजीकरण गरेपछि थप कटौती बढाइएको हो।
ट्रम्प प्रशासनले सरकारी खर्च घटाउनको लागि कर्मचारी कटौतीको योजना ल्याएको थियो। अमेरिकाका एक संघीय न्यायाधीशले यस योजनामा रोक लगाएका थिए, तर फेब्रुअरी २१ मा यो रोक स्थायी नहुने बताएको आदेश सुनाएपछि थप कर्मचारी बिदामा राख्न थालिएको हो।
युएसएआइडी अमेरिकी विदेशी सहायता र विकास कार्यक्रमहरू सञ्चालन गर्ने स्वतन्त्र संस्था हो।
विश्वभर यसका लगभग १०,००० कर्मचारी छन्। पूर्व राष्ट्रपति जो बाइडेनले युएसएआइडीका प्रमुखलाई राष्ट्रिय सुरक्षा परिषदमा राखेका थिए।
युएसएआइडीले संसारभरका कयौं मुलुकमा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, घातक रोगहरूको उपचार, आर्थिक विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका क्षेत्रमा काम गर्छ।
युएसएआइडी नेपालमा विगत ७० वर्षदेखि कार्यरत छ। यो संस्थाले सन् २०२२ मा नेपाललाई पाँच वर्षका लागि ६६ करोड अमेरिकी डलर (करिब ९१ अर्ब रुपैयाँ) सहायता दिने घोषणा गरेको थियो।
अहिले जिटुजी अन्तर्गतका सबै कार्यक्रमलाई ९० दिनको लागि स्थगित गरिएको छ। अन्य कार्यक्रमहरू भने क्रमश रद्द गरिँदै लगिएको छ।
युएसएआइडीले नेपालमा मुख्य ३३ वटा कार्यक्रम सञ्चालन गरेको छ।
यीमध्ये चार वटा कार्यक्रम तथा कामका लागि सरकारलाई प्रत्यक्ष अनुदान दिइन्छ र सरकारी कोषबाट रकम खर्च गरिन्छ। यस्तो रकम नौ अर्ब ८० करोड रूपैयाँ बराबरको छ।
यस अन्तर्गत स्वास्थ्य, कृषि, शिक्षा तथा समावेशी नीति सुधार परियोजनाहरू सञ्चालनमा छन्। यसमध्ये चार अर्ब ७४ करोड रूपैयाँ बराबर रकम प्राप्त भइसकेको छ। पाँच अर्ब ६ करोड रूपैयाँ प्राप्त हुन बाँकी छ।
त्यस्तै २९ वटा कार्यक्रम युएसएआइडीले नै प्रत्यक्ष खर्च गर्ने गरी (अन बजेट अफ ट्रेजरी मोडल) सञ्चालनमा छन्। यिनको सम्झौता रकम ८१ अर्ब रूपैयाँभन्दा बढी छ। यस अन्तर्गत सामाजिक, शैक्षिक, स्वास्थ्य तथा कृषि विकासका परियोजनाहरू सञ्चालनमा छन्।
स्वास्थ्य र शिक्षा क्षेत्र अन्तर्गत स्वास्थ्य सुरक्षा, सामुदायिक स्वास्थ्य सेवा विस्तार र आपतकालीन स्वास्थ्य प्रतिक्रिया लगायत कार्यक्रम छन्। प्रारम्भिक ग्रेड सिकाइ, शिक्षा समावेशीकरण र समानता तथा आपतकालीन शिक्षा प्रतिक्रिया गतिविधि जस्ता परियोजना पनि छन्।
यी योजनामार्फत विपन्न तथा पिछडिएका समुदायमा शिक्षा पहुँच विस्तारको काम गरिएको छ।
त्यस्तै जलवायु कृषि, कृषि लगानी, बजार सुधार, महिलाहरूलाई व्यवसायमा सशक्तिकरण, महिला उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्यसहितका कार्यक्रम छन्।
लोकतान्त्रिक अभ्यास र सामुदायिक न्याय अन्तर्गत पनि विभिन्न कार्यक्रम छन्। डिजिटल वित्तीय समावेश कार्यक्रम पनि छ।
केही कार्यक्रमहरूको सञ्चालन अवधि हालसालै सकिएको छ जसअन्तर्गत महालेखा परीक्षक कार्यालय सहायता कार्यक्रम, कर्णाली नदी बेसिन पुनर्निर्माण कार्यक्रम, स्थानीय कार्य सहायता कार्यक्रम लगायत छन्।
सम्बन्धित समाचार:
युएसएआइडीको अनिश्चितताले नेपालमा ९१ अर्बका कुन कुन कार्यक्रम प्रभावित?
दुई दिनमा युएसएआइडीका २३१ परियोजना रद्द
अमेरिकापछि बेलायतले पनि सहायता घटाउने, स्रोत खोज्न अर्थलाई दबाब