निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरूमा सुधारको संकेत देखा परेका छन्। लामो समय निर्माण उद्योग ऋणात्मक बन्दा समस्यामा परेका यी उद्योगहरूले अहिले उत्पादन बढाएका छन्।
निर्माण सामग्रीको माग बढेसँगै पछिल्लो तीन महिनादेखि उत्पादनमा उल्लेख्य सुधार आएको सम्बद्ध व्यवसायीहरूको प्रतिक्रिया छ। उनीहरूका अनुसार चालु वर्षमा सिमेन्ट उद्योगहरूको उत्पादन क्षमता ५० देखि ७० प्रतिशतसम्म (औसत) पुगेको छ।
यो भनेको कुनै उद्योगको २४ घण्टाको उत्पादन क्षमता सय बोरा बराबर छ भने ७० बोरासम्म उत्पादन गरेको हो। पुस अघि उत्पादन क्षमता निकै कम थियो।
सिमेन्ट उत्पादकहरूले ६० प्रतिशतभन्दा माथिको उत्पादन क्षमतालाई राम्रो मान्ने गर्छन्। क्षमताको ५५ प्रतिशत उत्पादन गर्न सक्दा सञ्चालन खर्च उठ्ने उनीहरूको भनाइ छ। त्यसमाथि उत्पादन हुँदा उद्योग नाफामा जान्छन्।
'अहिले सबै उद्योगको उत्पादन बढेको छ। औसत रूपमा क्षमताको ६० देखि ६५ प्रतिशत उत्पादन भएको छ,' शिवम् सिमेन्टका प्रबन्ध निर्देशक तथा सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारूले भने, 'अहिले त हामी खुसी छौँ, माग बढेको छ।'
अर्घाखाँची सिमेन्ट तथा श्री स्टिलका सञ्चालक राजेशकुमार अग्रवालले अहिले मागमा सुधार आएको बताए। उनले अहिले ५५ देखि ६० प्रतिशत क्षमतामा उद्योग सञ्चालन भएको प्रतिक्रिया दिए।
सर्वोत्तम र जगदम्बा श्री सिमेन्ट तथा सर्वोत्तम र लक्ष्मी स्टिलका सञ्चालक विष्णु न्यौपाने पनि अहिले मागमा राम्रो सुधार देखिएको बताउँछन्।
'सिमेन्ट र डन्डीको सँगसँगै डिमान्ड घट्ने तथा बढ्ने हुन्छ। अहिलेको डिमान्ड राम्रो छ,' न्यौपानेले भने, 'औसत रूपमा चालु वर्षमा सिमेन्ट र डन्डी उद्योगले ६० प्रतिशत माथिको उत्पादन क्षमतामा चलेका छन्।'
निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरूमा पुस महिनादेखि माग बढेको उत्पादकहरूको प्रतिक्रिया छ। पुस महिनापछिको समयलाई निर्माण सिजनको रूपमा पनि हेर्ने गरिन्छ। पुस अघि ३०/३५ प्रतिशत क्षमतामा मात्रै उद्योग सञ्चालन भएका थिए। गत वर्ष यसै समयमा (पुसपछि फागनसम्मको अवधि) भने ४०/४५ प्रतिशत क्षमतामा चलेका थिए।
सिमेन्ट उद्योगहरूले आर्थिक वर्ष २०७४/७५ मा उत्पादन क्षमताको ९० प्रतिशतसम्म उत्पादन गरेका थिए। अन्य समयमा भने धेरै उत्पादन हुँदा ६५/७० प्रतिशत नै हो। यस हिसाबले अहिले सिमेन्टको उत्पादन क्षमता राम्रो देखिएको छ।
केन्द्र तथा प्रदेश सरकारको पुँजीगत खर्च न्यून देखिनुका साथै निर्माण गतिविधि पनि कम देखिएको छ। तर निजी निर्माण गतिविधिमा उल्लेख्य सुधार देखिएको सम्बद्ध अधिकारीहरूको प्रतिक्रिया छ।
त्यस्तै, दातृ निकायसँगको साझेदारीमा लगानी गरिएका परियोजनाको कामले पनि अहिले तीव्रता पाएको व्यवसायीहरूले बताएका छन्। सबैभन्दा धेरै माग जलविद्युत आयोजनाहरूमा देखिएको छ। त्यस्तै निजी घर तथा बिल्डिङ निर्माणको काम पनि अहिले बढेको प्रतिक्रिया उनीहरूले दिएका छन्।
त्यस्तै स्थानीय तहको लगानीमा बन्ने पूर्वाधार निर्माणको काम पनि अहिले बढेको छ।
यो सँगै निर्माण उद्योगहरूमा पनि सुधार देखिने संकेत देखिएको छ।
२०८० माघदेखि २०८१ असोजसम्मका तीन वटा त्रैमासमा निर्माण क्षेत्र लगातार ऋणात्मक देखिएको थियो। जिडिपी मापन गर्ने १८ वटा सूचकमध्ये निर्माण क्षेत्र मात्रै तेस्रो पटक ऋणात्मक देखिएको हो।
आर्थिक वर्ष २०७७/७८ यता पहिलो पटक निर्माण क्षेत्र लागातार तेस्रो त्रैमासमा ऋणात्मक भएको थियो। अन्य कुनै पनि क्षेत्र त्यसयता लगातार तीन पटक ऋणात्मक छैनन्।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ६.३ प्रतिशतले र चौथो त्रैमासमा ८.७ प्रतिशतले ऋणात्मक रहेको थियो। चालु वर्षको पहिलो त्रैमासमा पुनः ०.३ प्रतिशतले ऋणात्मक रहेको छ। चालु वर्षको दोस्रो त्रैमासको तथ्यांक अझै निकालिएको छैन।
दोस्रो त्रैमासमा भने निर्माण उद्योगको उत्पादन वृद्धिदरमा राम्रो सुधार देखिने संकेत निर्माण सामग्रीको मागले देखाएको छ।
आर्थिक वर्ष २०६८/६९ यता निर्माण क्षेत्र दुई पटक लगातार तीन महिना ऋणात्मक भएको देखिन्छ। तर लगत्तै बाउन्स ब्याक (उस्तै गरी बढेको) छ।
२०७२ को भूकम्प ताका लगातार चार त्रैमास ऋणात्मक वृद्धि भएको थियो। तर, त्यसपछिको उल्लेखनीय निर्माण गतिविधिको कारण अर्थतन्त्रको समग्र आकार वृद्धिमा नै ठूलो योगदान पुर्यायो।
आर्थिक वर्ष २०७१/७२ को तेस्रो त्रैमासदेखि लगातार चार वटा त्रैमास निर्माण क्षेत्र ऋणात्मक रहेको थियो।
त्यतिबेला क्रमशः ६.३, ४, १७.७ र ३१.५ प्रतिशतले ऋणात्मक रहेको थियो। तर, आर्थिक वर्ष २०७२/७३ को तेस्रो त्रैमासदेखि लगातार चार पटक उच्च प्रतिशतले धनात्मक देखियो। त्यतिबेला भने लगातार २०.८, २५.९, ५०.८ र ७१.२१ प्रतिशतले निर्माण क्षेत्रको मूल्य अभिवृद्धिदर बढेको थियो।
यस्तै गरी कोभिडको समयमा पनि निर्माण क्षेत्र लगातार तीन वटा त्रैमास ऋणात्मक लगत्तैका तीन वटा त्रैमास उच्च प्रतिशतले बढेको देखिन्छ।
यस्तो छ पछिल्लो १२ वर्षका ४८ वटा त्रैमासमा निर्माण क्षेत्रको उतारचढाव:
-1736316613.jpg)