केही लक्जरी तथा उच्च महसुल लाग्ने सामानहरूको मागमा सुधार आएको दखिएको छ। यसको प्रभाव भन्सार राजस्वमा परेको छ।
पछिल्लो सात महिनामा आयात भएका १० वस्तुबाट मात्रै भन्सार विन्दुमा एक खर्ब ११ अर्ब नौ करोड रूपैयाँ बराबरको राजस्व संकलन भएको भन्सार तथ्यांकले देखाएको छ।
पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, एलपी ग्यास), पेट्रोलियम गाडी (जिप, कार, भ्यान), विद्युतीय गाडी (जिप, कार, भ्यान), तयार तथा अर्धतयारी मोटरसाइकल सबभन्दा धेरै भन्सार राजस्व संकलन गर्ने वस्तुमा छन्। तयारी कपडा, शुद्ध फलाम र मोबाइल टेलिफोन रहेका छन्।
उल्लेखित १० वस्तुको आयात मूल्य जम्मा पाँच प्रतिशतले बढेर पनि भन्सार राजस्व भने १७ प्रतिशतले बढेको छ।
कतिपय वस्तुको परिमाणात्मक आयात बढेको, कति वस्तुको महसुल नै बढाइएको प्रभाव देखिएको कारण आयात मूल्यको तुलनामा राजस्व धेरै बढेको भन्सार अधिकारीहरूको भनाइ छ।
सबभन्दा धेरै राजस्व संकलन भएका वस्तुहरूमध्ये डिजेलको मात्रै गत वर्षभन्दा राजस्व घटेको छ। गत वर्षको सात महिनामा डिजेल आयातबाट २९ अर्ब ६९ करोड राजस्व संकलन भएकोमा यो वर्ष सामान्य घटेर २९ अर्ब ४५ करोड संकलन भएको छ।
डिजेलको परिमाणात्मक आयात बढे पनि मूल्य घटेको कारण मूल्य अभिवृद्धिकरमा आएको कमीले यसको राजस्व कमी देखिएको हो।
सबभन्दा धेरै राजस्व सुधार तयारी तथा अर्धतयारी मोटरसाइकलबाट देखिएको छ। पछिल्लो चार वर्षदेखि ओरालो आएको सुधारले भन्सार राजस्वमा ठूलो सहयोग पुर्याएको छ।
अर्धतयारी (अनएसेम्बल) मोटरसाइकलबाट संकलन हुने राजस्व ९३ प्रतिशतले बढेको छ। नौ अर्ब ६७ करोड आयात मूल्य भएका यी मोटरसाइकलको आयातबाट नौ अर्ब एक करोड भन्सार राजस्व उठेको छ।
तयारी मोटरसाइकलको आयातबाट संकलन हुने राजस्व पनि ४३ प्रतिशतले बढेको छ। ४ अर्ब ४१ करोड आयात मूल्यका यस्ता मोटरसाइकलबाट ५ अर्ब ४५ करोड राजस्व संकलन भएको छ। तयारी मोटरसाइकलको परिमाणात्मक आयातको तुलनामा राजस्व वृद्धिदर १० प्रतिशत विन्दुले बढी छ। यसको अर्थ महँगो धेरै सिसीका मोटरसाइकलको आयात बढी भएको संकेत गर्छ।
गाडी विशेषगरी जिप, कार र भ्यान पनि महँगो बढी आयात भएको देखिएको छ। गाडीमा सबभन्दा धेरै ३५८ प्रतिशतसम्म (महसुल, अन्तशुल्क, सडक निर्माण दस्तुर र भ्याट) भन्सार राजस्व उठाइएने गरिन्छ। सबभन्दा बढी तीन हजारभन्दा बढी सिसीका गाडीबाट उठाइन्छ। चालु वर्षको सात महिनाको अवधिमा यस्ता २० वटा आयात भएका छन्।
चालु वर्षको सात महिनामा तीन अर्ब ६० करोड आयात मूल्यका पेट्रोलियम जिप कार तथा भ्यानबाट नौ अर्ब ५३ करोड राजस्व संकलन भएको छ। यस्ता गाडीको परिमाणात्मक आयात दुई प्रतिशतले बढे पनि राजस्व भने १४ प्रतिशतले बढेको छ। यसले महँगो मूल्यका तथा धेरै सिसीका गाडीको आयात बढी भएको संकेत गर्छ।
विद्युतीय गाडीको आयात घट्यो राजस्व बढ्यो
लगातार उच्च गतिले बढेको विद्युतीय जिप, कार र भ्यानको आयात यो वर्ष घटेको छ। आयात मूल्यका हिसाबले ४.५ र परिमाणमको हिसाबले १.३ प्रतिशतले घटेको छ। राजस्व भने ३४ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधानको लाग्ने कर केही बढाइएको कारण गत वर्षको भन्दा आयात घट्दा पनि राजस्व बढेको हो।
सात महिनाको अवधिमा १४ अर्ब ७५ करोड आयात मूल्य भएका विद्युतीय जिप, कार र भ्यानको आयातबाट नौ अर्ब ८ करोड राजस्व संकलन भएको छ। गत वर्ष यही समयमा १५ अर्ब ४५ करोडको यस्ता गाडी आयातबाट ६ अर्ब ७५ करोड राजस्व सकंलन भएको थियो।
चालु वर्षमा तयारी कपडा, मोबाइल टेलिफोन तथा फलामको खपत बढेको देखिएको छ। तयारी कपडको परिमाणात्मक आयात नौ र राजस्व १४ प्रतिशतले बढेको छ।
मोबाइल टेलिफोनको परिमाणात्मक आयात २१ र राजस्व ११ प्रतिशतले बढेको छ। त्यस्तै शुद्ध फलामको परिमाणात्मक आयात ४१ र राजस्व ४८ प्रतिशतले बढेको छ।
कुन वस्तुको आयातबाट कति राजस्व संकलन?
डिजेल-२९ अर्ब ४५ करोड रूपैयाँ
पेट्रोल-२४ अर्ब ५८ करोड रूपैयाँ
जिप कार र भ्यानहरू- नौ अर्ब ५३ करोड रूपैयाँ
विद्युतबाट सञ्चालित जिप कार र भ्यानहरू-नौ अर्ब ८ करोड रूपैयाँ
मोटरसाइकल (अन एसेम्बल्ड)- नौ अर्ब एक करोड रूपैयाँ
तयारी कपडा- आठ अर्ब ८६ करोड रूपैयाँ
एलपी ग्यास- ६ अर्ब ६१ करोड रूपैयाँ
मोटरसाइकल- पाँच अर्ब ४१ करोड रूपैयाँ
शुद्ध फलाम- चार अर्ब ७३ करोड रूपैयाँ
मोबाइल टेलिफोन- तीन अर्ब ७६ करोड रूपैयाँ