पछिल्ला महिनाहरूमा नेपालको वैदेशिक व्यापार सुधारोन्मुख देखिएको छ।
२०८१ साउन महिनादेखि यता करिब एक खर्ब (९८ अर्ब ७९ करोड) रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ। आयातको अनुपातमा निकै कम निर्यात हुने गरेपनि पछिल्लो तीन महिनादेखि निर्यातमा उच्च वृद्धि छ।
करिब साढे दुई वर्षदेखि आयात र निर्यात व्यापार लगातार कम हुँदै गएकोमा पछिल्ला तीन महिनामा उल्लेखनीय बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
हालसम्म नेपालले गरेको अन्तर्राष्ट्रिय व्यापारमा वार्षिक दुई खर्ब रूपैयाँसम्म निर्यात पुगेको थियो। आर्थिक वर्ष २०७८/७९ मा भएको दुई खर्ब तीन करोड रूपैयाँ नै अहिलेसम्मको उच्च निर्यात हो।
पछिल्लो तीन महिनाको रफ्तारले यो वर्ष हालसम्मकै उच्च निर्यात हुने आकलन गरिएको छ।
गत साउनदेखि असोजमहिनासम्म जम्मा ३८ अर्ब ३७ करोड रूपैयाँको निर्यात भएको थियो। अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.११ प्रतिशतले कम निर्यात थियो। कात्तिक, मंसिर र पुस महिनामा ६० अर्ब ४२ करोड रूपैयाँको वस्तु निर्यात भएको छ।
पुस महिनामा मात्रै २५ अर्ब ३० करोड रूपैयाँको निर्यात भएको छ। यो महिनागत निर्यातमा अहिलेसम्मकै धेरै हो।
महिनागत निर्यातको अवस्था
चालु आर्थिक वर्षमा चिया, धागो, अलैँची, प्लाइउड लगायतका धेरै मूल्य अभिवृद्धि हुने नेपाली उत्पादनहरू केही बढेको छ।
व्यापारीहरूका अनुसार यो वर्ष दार्जलिङमा चिया उत्पादन घटेको कारण नेपाली चियाले राम्रो बजार पाएको छ। गत वर्षको तुलनामा परिमाणात्मक रूपमा चियाको निर्यात ३३ प्रतिशतले बढेको छ। मूल्यको हिसाबले भने ४७ प्रतिशतले बढेको छ।
नेपाली अलैँचीले गत वर्षको तुलनामा बढी मूल्य पाएको कारण परिमाणात्मक रूपमा गत वर्षको भन्दा कम निर्यात भएर पनि मूल्यको हिसाबले १७ प्रतिशतले बढेको छ।
तर धेरै निर्यात बढ्नुमा सबैभन्दा ठूलो हिस्सा खाने तेलको छ। राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थविद् केशव आचार्यका अनुसार २०५२ सालदेखि यता नेपालको जहिले निर्यात बढेको हुन्छ, त्यतिबेला सबैभन्दा धेरै योगदान, बनस्पति घ्यू तेलको हिस्सा बढी छ।
नेपालले कच्चा खाने तेल तेस्रो मुलुकबाट आयात गर्छ र भारतमा निर्यात गर्ने गरेको छ।
यो वर्ष ६ महिनाको अवधिमा भटमासको प्रशोधित तेलको निर्यात मात्रै १८ अर्ब ९१ करोड रूपैयाँको भएको छ।
गत वर्ष यसै समयमा यस्तो तेल ४१ करोड रूपैयाँको मात्रै निर्यात भएको थियो। यो वर्ष भटमासको प्रशोधित तेलको निर्यात ४६ गुणाले बढेको छ।
यसैगरी सूर्यमुखी तेल ५ अर्ब ६१ करोड रूपैयाँको र प्रशोधित पामको तेल १ अर्ब १३ करोड रूपैयाँको भएको छ। यसरी समग्र निर्यात भएको मूल्यमा खाने तेलको हिस्सा मात्रै २६ प्रतिशत हिस्सा रहेको छ।
तर, यी बाहेकका अन्य धेरै वस्तुहरूको निर्यातमा पनि सुधार आएको छ।
यस्ता छन् ६ महिनामा सबैभन्दा धेरै निर्यात हुने १० वस्तु
निर्यात भएको वस्तु | निर्यात परिमाण | निर्यात मूल्य | परिमाणको आधारमा वृद्धिदर (प्रतिशतमा) | मूल्यको आधारमा वृद्धिदर (प्रतिशतमा) |
भटमासको तेल प्रशोधित | नौ करोड नौ लाख लिटर | १८ अर्ब ९१ करोड रूपैयाँ | ४५९० | ४५५५ |
सेन्थेटिक यार्न | दुई करोड ६५ लाख किलो | ६ अर्ब ८६ करोड रूपैयाँ | १३ | २० |
उनी गलैंचा कार्पेट | दुई लाख ७१ हजार स्क्वायर मिटर | ५ अर्ब ६१ करोड रूपैयाँ | २७ | ७ |
सूर्यमुखीको प्रशोधित तेल | दुई करोड १२ लाख लिटर | चार अर्ब ९८ करोड रूपैयाँ | २५६३ | ३२५२ |
अलैची | २६ लाख ७४ हजार किलो | चार अर्ब ५६ करोड रूपैयाँ | -७ | १७ |
तयारी कपडा | ७९ लाख आठ हजार पिस | चार अर्ब ३८ करोड रूपैयाँ | ९ | -६ |
प्लाइउड | ६ करोड ४८ लाख किलो | चार अर्ब २५ करोड रूपैयाँ | १४ | २० |
फलामे पाता | तीन करोड ५० लाख किलो | चार अर्ब ७ करोड रूपैयाँ | -२४ | -३४ |
फलफूलको जुस | तीन करोड ५६ लाख लिटर | तीन अर्ब ४५ करोड रूपैयाँ | -१० | -९ |
चिया | एक करोड १३ लाख किलो | तीन अर्ब १६ करोड रूपैयाँ | ३३ | ४७ |