सरकारले निर्माण व्यवसायीलाई तिर्न बाँकी भनिएको मध्ये लगभग सबै रकम तिरिएको अर्थमन्त्रालयले बताएको छ।आइतबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्रीले यस्तो दाबी गरेका हुन्।
'हामीले व्यवसायीहरूलाई भुक्तानी दिनुपर्ने रकम लगभग सबै भुक्तानी भएको छ,' अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भने, 'हालसम्म २३ अर्ब बक्यौता रकम भुक्तानी भएको छ।'
लामो समयदेखि निर्माण व्यवसायीले सरकारबाट भुक्तानी पाउन नसकिरहेको बताइरहेका थिए। सरकारको अध्ययनले भने प्रक्रिया पुगेका करिब २८ अर्ब बक्यौता रहेको देखाएको थियो।
अर्थमन्त्री पौडेलले बाँकी भुक्तानी रकम पनि प्रक्रियामा रहेकालाई प्राथमिकता दिएर भुक्तानी गर्दै जाने बताएका छन्।
व्यवसायीहरूले भने बाँकी भुक्तानीका लागि पनि प्रक्रिया लगायतमा वातावरण बनाइदिन सरकारलाई अनुरोध गर्दै आएका छन्।