चालु वर्षमा पनि पुँजीगत खर्च बढेको छ।
६ महिनाको अवधिमा छुट्याइएको बजेटमध्ये १६.१६ प्रतिशत मात्रै खर्च भएको छ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस मसान्तसम्म ५७ अर्ब रूपैयाँ पुँजीगत खर्च भएको छ।
यो वर्षको लागि सरकारले तीन खर्ब ५२ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको थियो। चालु वर्षको पहिलो महिना साउनमा उल्लेख्य बजेट खर्च बढे पनि त्यसपछिका महिनामा भने गत वर्ष बराबर पनि खर्च हुन सकेको छैन।
गत वर्ष पनि ६ महिनाको अवधिमा १६ प्रतिशत मात्रै पुँजीगत खर्च भएको थियो।
यो वर्ष भने करिब २३ अर्ब रूपैयाँ निर्माण व्यवसायीको बक्यौता भुक्तानीमा सकिएको अर्थका अधिकारीहरूले बताएका छन्।
अर्थका अनुसार गत वर्षको करिब २८ अर्ब रूपैयाँ बक्यौता तिर्न बाँकी रहेको थियो।
यो वर्ष परियोजनाहरूमा निर्माण गतिविधिहरू थप सुस्त देखिएको छ। यसले ठूलो रकम गत वर्षको भुक्तानी गरेर पनि समग्रमा पुँजीगत खर्च बढ्न सकेको छैन।
पछिल्ला वर्षहरूमा सरकारको भुक्तानी दायित्व बढ्दै गएको छ भने भुक्तानीमा समस्या देखिएको छ।