करदाताहरूले चालु आर्थिक वर्षको अनुमानित आय विवरण तथा तोकिएको कर बुझाउँदै छन्।
आयकर ऐनको व्यवस्थाअनुसार पुस महिनामा वार्षिक अनुमानित आम्दानीको आधारमा तिर्नुपर्ने करको ४० प्रतिशत भुक्तानी गर्नुपर्ने हुन्छ।
थप ६० प्रतिशतमध्ये चैत महिनासम्म थप ३० प्रतिशतसहित ७० प्रतिशत कर तिर्नुपर्छ।
त्यस्तै असार महिनामा थप ३० प्रतिशत कर सहित शत प्रतिशत कर बुझाउनु पर्ने हुन्छ। यस हिसाबले राजस्व प्रशासनलाई चालु वर्षमा उठ्ने आयकरको विवरण करिब थाहा हुने गर्छ।
करदाताहरूले गत वर्षको बुझाएको आयकरको आधारमा वा यो वर्ष पहिलो ६ महिनामा भएको कारोबारको आधारमा वार्षिक आम्दानी अनुमान गर्ने गर्छन्।
पुस मसान्तसम्म सोही आर्थिक वर्षको अनुमानित आय विवरण र त्यस आधारमा तिर्नुपर्ने ४० प्रतिशत कर बुझाउनु पर्ने व्यवस्था छ।
नबुझाएमा प्रति विवरण पाँच हजार वा भएको कारोबारको ०.०१ प्रतिशत रकम जुन धेरै हुन्छ सोही बराबरको जरिवाना बुझाउनु पर्ने हुन्छ।
अनुमानित विवरणअनुसार नै आय हुन्छ भन्ने हुँदैन। यस्तो अवस्थामा चैत वा असारमा विवरण सुधार गर्न सकिनेछ। आर्थिक वर्षको अन्तिमसम्म पनि १० प्रतिशत धेरै वा थोरै भएमा सोही अनुसार कुनै पनि जरिवाना वा ब्याज तिर्न नपर्ने र समायोजन गर्न सकिने व्यवस्था गरिएको छ।
१० प्रतिशतभन्दा धेरै वा थोरै भएमा भने ब्याज तिर्नुपर्ने हुन्छ। यस्तो आय विवरण त्यसपछिको आर्थिक वर्षको असोजमसान्तसम्म बुझाउनु पर्ने व्यस्था छ।
त्यो समयमा बुझाउन नसकेमा थप तीन महिना समय थप गर्न सकिने व्यवस्था छ।
त्यसैले धेरै निकायहरू पुस मसान्तको दिन अघिल्लो आर्थिक वर्षको आय विवरण र चालु वर्षको अनुमानित आय विवरण बुझाउने गर्छन्।