सरकारले पछिल्ला वर्षहरूमा लक्ष्य अनुसारको राजस्व उठाउन सकेको छैन।
चालु वर्षमा लक्ष्य अनुसार राजस्व संकलन नभए पनि गत वर्षको तुलनामा सुधार देखिएको छ। पुस महिनामा सबैभन्दा बढी राजस्व संकलन हुने गर्छ। यही महिनालाई केन्द्रित गरेर राजस्व प्रशासनले काम गरेको छ।
'सबैभन्दा बढी राजस्व पुस महिनामा उठ्छ, यो महिना हामीले अपेक्षाअनुसारको राजस्व उठाउन सक्यौ भने वार्षिक लक्ष्य नजिक पुगिने छ,' अर्थ मन्त्रालयका एक अधिकारीले बताए।
पुस महिनामा मात्रै एक खर्ब ७८ अर्ब रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। यो आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रूपैयाँको राजस्व उठाउने लक्ष्य निर्धारण गरिएको छ। जसमध्ये मंसिर मसान्तसम्म तीन खर्ब ९९ अर्ब रूपैयाँ संकलन भएको छ।
पुस महिनामा डेढ खर्बको राजस्व संकलन गर्नको लागि अर्थमन्त्रालयले आन्तरिक राजस्व विभागलाई एक खर्ब ३ अर्ब ७५ करोड रूपैयाँको लक्ष्य तोकेको छ।
भन्सार विभागलाई ४६ अर्ब ३४ करोड रूपैयाँको लक्ष्य दिएको छ। यो एक महिनामा गैर कर राजस्व भने २७ अर्ब ५९ करोड रूपैयाँ सकंलन हुने लक्ष्य राखिएको छ।
समग्रमा छ महिनाको अवधिमा भने ६ खर्ब ७२ अर्ब रूपैयाँ राजस्व संकलन हुने लक्ष्य राखिएको छ। अहिलेसम्म भने ४ खर्ब ८३ अर्ब रूपैयाँ मात्रै संकलन भएको छ।
पुस १ गतेदेखि २५ गतेसम्म लक्ष्यको ४७ प्रतिशतमात्रै (८४ अर्ब रूपैयाँ) राजस्व उठेको छ। २४ दिनको अवधिमा आन्तरिक राजस्व विभागले ४० अर्ब रूपैयाँ र भन्सार विभागले ३४ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ। त्यस्तै गैरकर राजस्व १० अर्ब रूपैयाँ संकलन भएको अर्थमन्त्रालयले जनाएको छ।
पुस महिनाको राजस्व संकलन गर्ने दिन अब चार दिन मात्रै छ। महिनागत लक्ष्य पूरा गर्नको लागि चार दिनको अवधिमा करिब एक खर्ब (९४ अर्ब) रूपैयाँ राजस्व संकलन गर्नुपर्ने हुन्छ।
कर अधिकृतहरूले यो वर्ष पनि पुस महिनामा लक्ष्य अनुसारको राजस्व उठ्न मुस्किल रहेको प्रतिक्रिया दिएका छन्।
अघिल्लो वर्ष पुस महिनामा एक खर्ब ८८ अर्बको लक्ष्य राखिएको थियो। जसमध्ये ७० प्रतिशत अर्थात् एक खर्ब ३३ अर्ब रूपैयाँ राजस्व संकलन भएको थियो।
यो वर्ष भने लक्ष्यको ८५ प्रतिशतसम्म उठ्ने आकलन गरिएको छ।
'हाम्रो प्रयास त शत प्रतिशत उठाउने नै हुन्छ। तर भन्सार र आन्तरिक राजस्वका साथीहरूले गरेको रिपोर्टिङ अनुसार ८५ प्रतिशतसम्म उठ्ने देखिन्छ। यदि ९० प्रतिशत पूरा भयो भने धेरै राम्रो सुधार देखिने छ,' अर्थका एक अधिकारीले भने।
पुस महिनामा मुख्यतः आन्तरिक राजस्व बढी संकलन हुने गर्छ। यसमा ठूला करदाता कार्यालयको योगदान बढी हुन्छ।
पुस महिना महिनागत रूपमा सबैभन्दा धेरै राजस्व उठाउने महिना हो। आर्थिक वर्ष २०७८–७९ मा उठेको १० खर्ब ६३ अर्ब रूपैयाँको राजस्वमा पुस महिनामा मात्रै एक खर्ब २९ अर्ब रूपैयाँ उठेको थियो।
आर्थिक वर्ष २०७९–८० मा नौ खर्ब ५७ अर्ब रूपैयाँको राजस्वमा पुस महिनामा मात्रै एक खर्ब २५ अर्ब रूपैयाँ राजस्व उठेको थियो।
आर्थिक वर्ष २०८०–८१ मा नौ खर्ब २९ अर्ब राजस्व संकलन भएकोमा पुस महिनामा मात्रै एक खर्ब ३३ अर्ब रूपैयाँ राजस्व संकलन भएको थियो।
राजस्व प्रशासनले पुस महिनालाई राजस्वको आधार महिनाको रूपमा लिने गर्छन्। पुस महिनामा उठ्ने राजस्वले आगामी ६ महिनामा उठ्ने राजस्व निर्धारणमा सहयोग पुग्ने राजस्वका अधिकारीहरूको भनाइ छ।
विशेषतः पुस महिनामा सबैभन्दा धेरै आयकर उठ्ने गर्छ।
आयकर ऐनको व्यवस्थाअनुसार पुस महिनामा वार्षिक अनुमानित आम्दानीको आधारमा तिर्नुपर्ने करको ४० प्रतिशत भुक्तानी गर्नुपर्ने हुन्छ।
यसको अर्थ पुस महिनासम्म करदाताले त्यस आर्थिक वर्षमा कति आम्दानी हुन्छ भन्ने अनुमान गरेको हुन्छ। त्यस्तो अनुमानयोग्य आम्दानीबाट पुस महिनामा ४० प्रतिशत, चैत महिनासम्म थप ३० प्रतिशतसहित ७० प्रतिशत कर तिर्नुपर्छ।
त्यस्तै असार महिनामा थप ३० प्रतिशत कर सहित शत प्रतिशत बुझाउनु पर्ने हुन्छ।
त्यस्तै अघिल्लो आर्थिक वर्षको आय विवरण पनि पुस महिनाभित्र नै पेस गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा अघिल्लो वर्ष छुटेको वा उठ्न बाँकी रहेको राजस्व पनि उठ्ने गर्छ। यसैले राजस्व प्रशासनले पुस महिनाको विशेष प्राथमिकता दिने गर्छ।