धान खेती लगाउने जग्गा घटे पनि उत्पादकत्व बढ्दा यो वर्ष अहिलेसम्मकै उच्च धान उत्पादन भएको छ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका अनुसार वर्ष चालु आर्थिक वर्ष २०८१/८२ मा अहिलेसम्मकै उच्च धान फलेको हो।
यो वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ। यो अघिल्लो वर्षको तुलनामा ४.०४ प्रतिशत बढी हो।
पछिल्ला हरेक वर्षहरूमा धान खेती गर्ने जग्गा घटेको छ। आर्थिक वर्ष २०७९/८० मा १४ लाख ४७ हजार ७८९ हेक्टर जग्गामा धान बाली लगाइएको थियो। गत आर्थिक वर्षमा १४ लाख ३८ हजार ९८९ हेक्टर जग्गा लगाइएको थियो।
चालु वर्ष भने १४ लाख २० हजार ६३६ हेक्टरमा धानवाली लगाइएको थियो। अघिल्लो वर्षको तुलनामा १८ हजार हेक्टर जग्गा धान उत्पादन गर्ने क्षेत्रफल घटेको हो।
तर, धानको उत्पादकत्व (निश्चित क्षेत्रमा फल्ने धानको परिमाण) भने उल्लेख्य सुधार आएको छ। गत वर्ष एक हेक्टर जग्गा बराबर ३.९८ मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष भने ४.१३ मेट्रिक टन पुगेको छ।
नेपालको धानको उत्पादकत्व निकै कम देखिएको छ। कृषि मन्त्रालयका अनुसार छिमेकी देश चीनमा ७ मेट्रिक टनसम्मको उत्पादकत्व छ। नेपालले १६औं पञ्चवर्षीय योजनामा ४.८४ मेट्रिकटन पुर्याउने लक्ष्य राखेको छ।
'तुलनात्मक रूपमा हाम्रो उत्पादकत्व कम नै छ। यद्यपि पछिल्ला वर्षहरूमा हाम्रो उत्पादकत्व बढ्दो छ। यसलाई सुधार गर्दै लैजानुपर्छ,' कृषि विभागका वरिष्ठ कृषि अर्थ विज्ञ तिलकराज चौलागाईंले भने।
उत्पादकत्व वृद्धिले यसले गर्दा समग्रमा धान लगाउने क्षेत्रफल घटेर पनि उत्पादनमा उल्लेख्य सुधार देखिएको हो।
यस्तो छ पछिल्लो सात वर्षको उत्पादन
आर्थिक वर्ष २०७५/७६ मा ५६ लाख १० हजार ११ टन धान उत्पादन भएको थियो। यो आर्थिक वर्ष २०७४/७५ को तुलनामा ८.८ प्रतिशतको वृद्धिदर हो।
आर्थिक वर्ष २०७६/७७ मा एक प्रतिशतले घटेर ५५ लाख ५० हजार ८७८ टन उत्पादन भएको थियो। वर्ष २०७७/७८ मा १.२८ प्रतिशतले बढेर ५६ लाख २१ हजार ७१० टन उत्पादन भएको थियो।
आर्थिक वर्ष २०७८/७९ मा ८.७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार ६२५ टन उत्पादन भएको थियो। वर्ष २०७९/८० मा ६.९४ प्रतिशतले बढेर ५४ लाख ८६ हजार ४७२ टन धान उत्पादन भएको थियो।
गत आर्थिक वर्षमा ४.३३ प्रतिशतले बढेर ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो। चालु वर्षमा ४.०४ प्रतिशतले बढेर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ।
नेपालको समग्र अर्थतन्त्रमा नै धानको उत्पादनको महत्त्वपूर्ण अर्थ राख्छ। नेपालको समग्र कृषि उत्पादनमा धानको मात्रै योगदान करिब १३ प्रतिशत रहेको छ। धानको उत्पादन बढी हुँदाको वर्षमा समग्र आर्थिक वृद्धिदरमा नै ठूलो सहयोग पुग्ने कृषि मन्त्रालयका अधिकारीहरू बताउँछन्।
यो वर्ष मधेश प्रदेशको धानको उत्पादकत्वमा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो वर्षको तुलनामा मधेशमा उत्पादकत्व १३ प्रतिशतले बढेर ३.९७ मेट्रिक टन पुगेको छ।
प्रदेशगत रूपमा कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशहरूमा कुल धान उत्पादनमा वृद्धि भएको छ। अन्य प्रदेशमा भने उत्पादन घटेको छ।
कृषि मन्त्रालका अनुसार यो वर्ष रुकुम (पश्चिम) मा धान बाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा कमी रहेकाले समग्र कर्णाली प्रदेशको उत्पादनमा कमी आएको हो।
यसैगरी, नवलपरासी (पूर्व) केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखा परी उत्पादनमा कमी आउँदा र लमजुङ जिल्लामा धान बाली लगाइएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा कुल धान बाली भित्र्याइएको क्षेत्रफलमा कमी आई उत्पादनमा कमी हुन आएको छ।
कहाँ कति धान फल्यो
प्रदेश | गत वर्षको उत्पादन (मे.टन) | चालु वर्षको उत्पादन (मे.टन) | उत्पादन वृद्धिदर |
कोशी | १४ लाख ३५ हजार ५७८ | १४ लाख ६६ हजार ५१८ | २.१६ |
मधेस | १३ लाख ३७ हजार ६७२ | १४ लाख ८० हजार ८३० | १०.७ |
बागमती | पाँच लाख चार हजार ३४४ | चार लाख ९८ हजार ६६२ | -१.१३ |
गण्डकी | तीन लाख ९१ हजार ६२४ | तीन लाख ७९ हजार ३२ | -३.२२ |
लुम्बिनी | १३ लाख १० हजार ८२९ | १३ लाख ६४ हजार ३१ | ४.०६ |
कर्णाली | एक लाख ४५ हजार ६३ | एक लाख ३० हजार १९१ | -१०.३ |
सुदूरपश्चिम | पाँच लाख ९९ हजार १२४ | ६ लाख ३६ हजार २१२ | ६.१९ |
जम्मा | ५७ लाख २४ हजार १३४ | ५९ लाख ५५ हजार ४७६ | ४.०४ |