उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचकहरू ओरालो लाग्ने क्रम रोकिएको बताएका छन्।
सोमबार अर्थमन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचक चलायमान बन्ने क्रम बढेको बताएका हुन्।
अर्थमन्त्री पौडेलले वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधानको लागि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक दिशामा फर्किएको बताए।
अर्थमन्त्री पौडेलले भने, 'अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई नकारात्मक बन्न नदिई लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्छौं। मूल्यवृद्धिलाई सीमाभित्र राख्न सफल भएका छौं।'
सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढंगले विश्लेषण गरी समाधानका लागि एक–एक कदमहरू चाल्दै गएको समेत अर्थमन्त्री पौडेलको भनाइ छ।
उनले अर्थतन्त्रमा देखिएका पछिल्ला सकारात्मक सूचकहरू सरकारको कामको परिमाण भएको समेत दाबी गरे।
'बैंकको ब्याजदर एकल अंकमा आउन सम्भव थिएन,' उनले थपे, 'ब्याजदर एकल अंकमा ल्याउनका लागि सरकारले केही काम गरेको छ।'
गत वर्ष आर्थिक वर्षको चार महिनामा ३ प्रतिशत वृद्धि भएको राजस्व संकलन दर चालु आर्थिक वर्षको सोही अवधिमा १७ प्रतिशत पुगेको छ। अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा धेरै काम भएपछि पुँजीगत खर्चको दायरा समेत बढेको छ। यी सबै वर्तमान सरकारको कामको प्रतिफल भएको उनको भनाइ छ।
उनले सरकारले मुलुकभित्र लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई लगानीमा रुपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने र व्यवसायीहरूको मनोबल उच्च रूपमा बढाउने विषयमा बढी केन्द्रित भएर काम गरिरहेको बताए।
अर्थमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई गतिशील बनाउने, उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उद्देश्यमा अर्थतन्त्रका सकारात्मक सूचकहरूलाई सदुपयोग गरेर जानु पर्नेमा जोड दिए।
भेटका क्रममा नाफिज अध्यक्ष मेनुका कार्कीले सरकार अन्तर्निकाय समन्वयमा कमजोर देखिएकाले यसलाई सुधार गर्नुपर्नेमा जोड दिइन्।
यस्तै, पुँजीगत खर्च वृद्धिमा जोड दिनुपर्ने तथा वैदेशिक लगानी भित्र्याउन थप मेहेनत गर्नुका साथै 'कन्ट्री रेटिङ'मा पाएको सम्मानजनक रेटिङको सदुपयोग गर्दै आर्थिक सुधारको उपाएको खोजी थाल्नुपर्ने बताइन्।