विगत २४ वर्षदेखि निरन्तर डिजेलबाट चल्ने माइक्रो र ठूला बस चलाइरहेको सामाखुसी यातायात प्रालिले बिजुली गाडीतर्फ यात्रा मोडेको छ।
सामाखुसी यातायातले बिहीबारदेखि डिजेलबाट चल्ने केही माइक्रो गाडीको साटो बीसवटा बिजुली माइक्रोबस थपेको हो।
दस करोड ३० लाख रूपैयाँ लगानीमा बीसवटा बिजुली माइक्रो थपिएको प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले जानकारी दिए।
कम्पनीले अहिले एनएसी (सुन्धारा/न्यूरोड गेट) र रत्नपार्कबाट बानियाँटार, झोर, टोखा, मनमैजु, म्हैपी र सूर्यदर्शन हाइट लगायत स्थानमा यस्ता गाडी चलाइरहेको छ। बिजुली माइक्रो पनि यिनैमध्येका रूटमा चलाइने प्रजापतिले बताए।
सामाखुसी यातायातले २४ वर्षदेखि डिजेल गाडी मात्रै चलाइरहेको थियो। ९५ वटा जापानी माइक्रो र ५० भन्दा बढी ठूला बस सञ्चालनमा थिए।
अध्यक्ष प्रजापतिका अनुसार बीस वर्ष पुराना गाडी चलाउने नपाउने सरकारी नियम छ। नयाँ गाडी फेर्दा बिजुली गाडी किनेको उनले बताए।
'३५ वटा जति जापानी गाडी बीस वर्ष चलेपछि विस्थापन गर्नुपर्यो। तिनको सट्टाभर्नामा बीसवटा बिजुली माइक्रो थपेको हुँ। सबै एकैपटक थप्न नसके पनि क्रमशः थप्दै जाने योजना छ,' उनले भने।
सामाखुसी यातायात प्रालिले २०५७ सालदेखि सार्वजनिक यातायात चलाइरहेको छ। सुरूमा सातवटा गाडीबाट सेवा सुरू गरिएको थियो। अहिले ८० वटा माइक्रो र ५० वटाभन्दा धेरै ठूला बस चलिरहेको प्रजापतिले बताए।
'हालसम्म बस तथा माइक्रोमा १३ अर्ब रूपैयाँभन्दा बढी लगानी परिसकेको छ,' उनले भने।
टोखा, झोर, मनमैजु, म्हैपी लगायत स्थानका यात्रुलाई सहज सेवा दिने उद्देश्यले काम गरिरहेको पनि उनले बताए।
'म पनि त्यतैको स्थानीय हुँ। आफ्नो क्षेत्रका सबै मानिसहरूले सहज यातायात गर्न सकुन भन्ने हिसाबले काम गरिरहेको छु। हामीले जति सेवा थप्यो, उति नै सुविधा हुन्छ भन्ने लागेको छ,' उनले भने।
अहिले सामाखुसी यातायातले चालक, सहचालक तथा कम्पनीका विभिन्न पदमा गरी तीन सयभन्दा धेरैलाई रोजगारी समेत दिइरहेको उनले बताए।