सरकारले मंसिर दोस्रो साताबाट दुई अर्ब रूपैयाँको नागरिक र ५० करोड रूपैयाँको वैदेशिक रोजगार गरी साढे दुई अर्ब रूपैयाँको बचतपत्र बिक्रीमा राखेको छ। तर अहिलेसम्म ७८ करोड रूपैयाँ बराबरको मात्रै बिक्री भएको छ।
अहिले मात्रै होइन विगतमा कहिले पनि सरकारले लक्ष्य अनुसार बचतपत्र बिक्री गर्न सकेको छैन। यसले यस्तो बचतपत्रमा नागरिकको आकर्षण कम भएको संकेत गर्छ। वैदेशिक रोजगार बचतपत्र त नगन्य मात्रै खरिद हुने गर्छ।
बचतपत्र के हो? किन खुलाइन्छ? अहिलेसम्म यस्तो बचतपत्र कसले बढी किन्ने गरेको छ? के लाभ हुन्छ?
बचतपत्र सरकारको आन्तरिक ऋण उठाउने एउटा औजार हो। मुख्यतया सरकारले विकास ऋणपत्र, नागरिक बचतपत्र र ट्रेजरी बिल्स बिक्री गरेर आन्तरिक ऋण उठाउने गरेको हुन्छ।
यस्तो पत्र दिएर सरकारले पैसा लिन्छ। यही पत्रका आधारमा पछि ब्याज र सावाँ फिर्ता गरिन्छ। सरकारले ट्रेजरी बिल्स र विकास ऋणपत्र सधैं लक्ष्यअनुसार नै बिक्री गर्न सकेको छ।
तर, अहिलेसम्म सरकारको आन्तरिक ऋण (१२ खर्ब ८९ अर्ब रूपैयाँ) मा बचतपत्रको हिस्सा एक प्रतिशत पनि पुगेको छैन। बचतपत्रमा अन्य ऋण पत्रको तुलनामा सरकारले प्रोत्साहन दिएको हुन्छ। बढी ब्याज दिएको हुन्छ।
यसका मुख्यत चार वटा ध्येय हुने गर्छन्। सरकारको बजेट घाटा पूर्ति गर्न ऋण उठाउने, नागरिकले कमाएको केही हिस्सा बचत गर्न सहयोग गर्ने, व्यापार व्यवसाय वा अन्य कुनै क्षेत्रमा लगानी गर्न वा जोखिम उठाउने नसक्ने नागरिकलाई बचतपत्रबाट लाभ उठाउन दिने।
यस्तो बचतपत्रले अप्ठ्यारो पर्दा पैसा बराबर नै काम पनि गर्छ। सामान्यत बचतपत्रको ब्याजदर वाणिज्य बैंकको औसत ब्याजदरभन्दा सधैं बढी हुन्छ। अहिले वाणिज्य बैंकको औसत ब्याजदर ६.५ प्रतिशत छ। तर नागरिक बचतपत्र खरिदमा ७.५ प्रतिशत ब्याज दिइएको छ। त्यस्तै वैदेशिक रोजगार बचतपत्रमा ८.५ प्रतिशत ब्याज दिइएको छ।
यस्तो छ विगतमा दिइएको ब्याजदर
बचतपत्र बिक्री र दिइएको ब्याज |
नागरिक बचतपत्र |
ऋणपत्रको नाम | बचतपत्र बिक्री रकम | दिइएको ब्याजदर |
२०८२ | एक खर्ब ६० करोड ५२ लाख | ९ प्रतिशत |
२०८२ क | दुई अर्ब | ९ प्रतिशत |
२०८३ | एक अर्ब ९५ करोड ३९ लाख | ९ प्रतिशत |
२०८३ क | ९६ करोड ३९ लाख | १० प्रतिशत |
२०८४ | एक अर्ब ८६ करोड | ११ प्रतिशत |
२०८४ क | दुई अर्ब १७ करोड ८५ लाख | ११.५ प्रतिशत |
२०८५ | १८ करोड २८ लाख | १० प्रतिशत |
२०८६ | ३६ करोड ९८ लाख | ८ प्रतिशत |
वैदेशिक रोजगार बचतपत्र |
२०८२ | १७ लाख | १० प्रतिशत |
२०८२ क | ३ करोड ११ लाख | १० प्रतिशत |
२०८३ | एक करोड ५३ लाख | १० प्रतिशत |
२०८३ क | तीन करोड ९९ लाख | १० प्रतिशत |
२०८४ | ५ करोड ६७ लाख | १२.५ प्रतिशत |
२०८४ क | दुई करोड २४ लाख | १२.५ प्रतिशत |
२०८५ | ३९ लाख | ११ प्रतिशत |
२०८६ | पाँच करोड १६ लाख | नौ प्रतिशत |
सावाँ फिर्ता हुने तथा परिपक्व हुने वर्षलाई ऋणपत्रको नाम दिइएको हुन्छ |
भोलिको दिनमा बैंकको ब्याज बढेको खण्डमा नागरिकले तत्काल बचतपत्र बिक्री गरेर वाणिज्य बैंकमा निक्षेप जम्मा गर्ने सुविधा छ।
वाणिज्य बैंकले यस्तो बचतपत्र किन्दिनँ भन्नै पाउँदैन। ब्याज भने ६-६ महिनामा दिइन्छ। यही बचतपत्र धितो राखेर बैंकबाट ऋण पनि लिन पाइन्छ।
यदि व्यक्तिलाई तत्काल पैसा चाहियो भने पनि चेककै रूपमा पनि यो बिक्री भइहाल्छ। बैंकले तत्काल किन्न पर्छ। यति धेरै सुविधा दिइए पनि र लाभ भए पनि बचतपत्र खरिदको अवस्था न्यून छ। नागरिक बचतपत्रको तुलनामा वैदेशिक रोजगार बचतपत्र खरिदको अवस्था निकै न्यून छ। वैदेशिकको तुलनामा नागरिक बचतपत्र खरिद बढी छ।
कसले किनेको छ त यस्तो बचतपत्र?
राष्ट्र बैंक तथा सार्वजनकि ऋण व्यवस्थापन कार्यालयका अधिकारीहरूका अनुसार यस्तो बचतपत्र यस विषयमा राम्ररी बुझेका बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारी तथा सरकारी अधिकारीले बढी किन्ने गरेको बताउँछन्।
विगतका वर्षहरूमा नेपाल राष्ट्र बैंकले यस्तो ऋणपत्र निष्कासन गर्ने गरेको थियो। अहिले भने यस्तो ऋणपत्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउँछ।
'यस्तो ऋणपत्र आम मानिसले खरिद गरेको पाइँदैन। विशेषगरी राष्ट्र बैंकमा काम गर्ने कर्मचारी, अन्य बैंक तथा वित्तीय संस्थामा काम गर्ने उच्च तहका अधिकारीले बढी खरिद गरेको पाइन्छ,' नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनीले भने, 'यो विषयमा जसले नजकिबाट बुझेको छ उसले लाभ उठाएको छ तर धेरैलाई बुझाउनै सकिएको छैन।'
आम सर्वसाधारणले यस विषयमा जानकारी नै नपाउने राष्ट्र बैंकका अन्य पूर्वअधिकारीहरू बताउँछन्।
'म राष्ट्र बैंकमा रहँदा हरेक पटक बचतपत्र निष्कासन हुँदा खरिद गर्ने गरेको थिएँ, तर अवकास पाएको १० वर्ष भयो त्यसपछि कहिल्यै थाहा नै पाएको छैन,' उनले भने,'एउटा कम्पनीको आइपिओ खुल्दा कति धेरै मानिसको चासो हुन्छ, कति धेरै खरिद भएको हुन्छ आइपिओ पर्नेले आफूलाई भाग्यमानी सम्झन्छ तर सरकारले उच्च ब्याजदर दिएर निकालेको ऋणपत्र नागरिकले थाहा नै पाउँदैन।'
सार्वजनिक ऋण व्यवस्थापनका कार्यालयका प्रवक्ता प्रकाश पुडासैनी पनि नागरिकलाई बचतपत्र खुलेको र यसको लाभको विषय कम जानकारी भएकै कारणले कम खरिद भएको हुन सक्ने बताउँछन्।
धेरै नागरिकलाई थाहा दिनको लागि कार्यालयको वेबसाइट, दैनिक पत्रिकामा सूचनाको साथै मेरो सेयरको ड्यासबोर्डबाट पनि बचतपत्र निष्कासन भएको जानकारी गराएको उनले बताए।
'बचतपत्रको लागि हामीले निष्कासन गरेभन्दा बढी मूल्य बराबरको आवेदन पर्नुपर्ने हो। तर अति न्यून मात्रै आवदेन देखिन्छ, विगतको तुलनामा भने यो वर्ष नागरिक बचतपत्रमा बढी आवेदन परेको छ,' पुडासैनीले भने।
यो वर्ष नागरिक बचतपत्र करिब ४० प्रतिशत बिक्री भएको छ। तर, वैदेशिक रोजगार बचतपत्र भने ०.१२ प्रतिशत मात्रै खरिद भएको छ। ढिलोमा आगामी पुस १४ गतेसम्म बिक्री खुला हुने भएकोले नागरिक बचतपत्रको बिक्री बढ्ने अनुमान गरिएको छ।
कसरी खरिद गर्ने बचत पत्र?
यस विषयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रवक्ता पुडासैनीसँगको छलफलका आधारमा प्रक्रिया खुलाएका छौं।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नागरिक बचतपत्र र वैदेशिक ऋण बचतपत्र गरी दुई थरिका बचतपत्र निष्कासन गरेको छ। नागरिक बचतपत्र मुलुक भित्रका नागरिक र गैरआवसीय नेपालीलाई हो।
वैदेशिक रोजगार बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर-आवासीय नेपालीले खरिद गर्न सक्छन्।
पहिलो पटक खरिद गर्नेले इन्भेष्टर डट डम्स डट जिओभी डट एनपी लगइन गरी प्रोफाइल बनाउनु पर्छ। आफ्ना विवरणहरू तयार गरेपछि, आफूलाई पायक पर्ने बजार निर्माता (वाणिज्य बैंकहरू) लाई छान्नुपर्छ।
बजार निर्माताले विवरण जाँच गरी प्रोफाइल स्वीकृत गर्छन्। बचतपत्रको प्राथमिक निष्कासन हुँदा आफ्नै खाताबाट अनलाइन आवेदन दिन सकिन्छ। नागरिकले यस्तो बचतपत्र न्युनतम १० हजार रूपैयाँदेखि अधिकतम निष्काशन गरिएको रकमसम्म लगानी गर्ने गरी आवेदन दिन सक्छ।
पहिले आवेदन दिनेलाई आधार बनाएर सरकारले बचतपत्र बिक्री गर्छ।
बाँडफाँट प्रक्रिया सम्पन्न भएपछि रकम खाताबाट झिकिन्छ र बचतपत्र सम्बन्धी विवरण पोर्टलमा उपलब्ध हुन्छ। आवश्यकता परेमा बजार निर्माता (तोकिएका बैंक)लाई वा अन्य व्यक्तिलाई बचतपत्र बिक्री गर्न सकिन्छ।