नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रका समस्या समाधान गराउन महासंघले निरन्तर सक्रियता देखाएको बताएका छन्।
महासंघमा नयाँ नेतृत्व आएपछिको गरेका कामको समीक्षा गर्दै अध्यक्ष ढकालले महासंघको सक्रियता र उचित कदमलाई सरकारले समेत साथ दिएको प्रतिक्रिया दिएका छन्।
महासंघले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने गरी ल्याउन थालेको विधेयकमा असहमति जनाएको र यस विषयमा पर्याप्त बहस गरेर सरोकारवाला पक्षले साझा धारणा बनाउन सकेको अध्यक्ष ढकालले बताए।
संसदका प्रमुख नेताहरू र सम्बन्धित पक्षहरूसँगको छलफलपछि अख्तियारको दायरमा निजी क्षेत्र ल्याउन नहुनेमा सबै पक्ष सहमत भएको महासंघको बुझाइ छ। यस विषयमा महासंघले डेढ सयभन्दा बढी सांसदहरूलाई राखेर छलफल समेत गरेको थियो।
महासंघको नयाँ नेतृत्व आएपछि अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सासम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको र यसले सरोकारवाला निकायमा निजी क्षेत्रप्रतिको धारणा राम्रो बनाएको महासंघ पदाधिकारीहरूले प्रतिक्रिया छ।
महासंघले निजी क्षेत्रको योगदान देखाउन विश्व बैंक समूहसँग सहकार्यमा 'स्टेट अफ प्राइभेट सेक्टर' प्रतिवेदन सार्वजनिक गरिएको थियो। यो प्रतिवेदनले समग्र अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको देखाएको थियो।
त्यस्तै महासंघले डेडिकेटेड र ट्रंकलाइन विवादमा महासंघले तत्कालीन प्रधानमन्त्री र नेपाल विद्युत प्राधिकरणबीच समन्वय गरी समस्या समाधानका लागि पहल गरेको थियो। यसको स्थायी समाधानका लागि उच्चस्तरीय आयोग गठनको माग गरेको थियो। सरकारद्वारा गठन गरिएको आयोगले प्रतिवेदन बुझाए पनि यो विषय अझै समाधान भइसकेको छैन।
तीन वर्ष यता हरेक वर्ष वैदेशिक लगानीमा गिरावट आएकोमा महासंघले वैदेशिक लगानीलाई केन्द्रित गरेर अन्तर्राष्ट्रिय सम्मेलनहरू गरेको महासंघ अध्यक्ष ढकालले बताए।
विदेशी लगानीलाई प्रोत्साहन गर्न महासंघले चीन, भारत, र दुबईमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो। यस्ता सम्मेलनले नेपालको आर्थिक सम्भावनाबारे विदेशी लगानीकर्तालाई जानकारी गराएको महासंघले जनाएको छ।
महासंघले सामाजिक क्षेत्रमा सहयोग पुर्याउन जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूका लागि २० लाख रूपैयाँबराबरको सहयोग तथा प्यारालम्पिकमा रजत पदक विजेता पलेशा गोवर्धनलाई पाँच लाख रूपैयाँ सहयोग प्रदान गरेको उल्लेख गरिएको छ।
महासंघले आगामी फेब्रुअरीमा नेपाल अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्ने तयारी गरेको छ। सुधार र लगानीमैत्री वातावरण निर्माण गर्दै महासंघ निजी क्षेत्रको दीर्घकालीन हितका लागि प्रतिबद्ध रहेको अध्यक्ष ढकालले बताए।