गत कात्तिक १२ गतेपछि बैंकहरूले आयात गरेको सुनको बिक्री वितरण हुन सकेको छैन।
सरकारले सुनको भन्सार घटाएका कारण स्थानीय बजारमा मूल्य अत्यधिक घटे पनि उपभोक्ताले त्यसको सहज लाभ लिन सकेका छैनन्। व्यवसायीहरूका अनुसार अहिले औपचारिक रूपमा आयात भएको सुन बजारमा छैन।
सुनको सिफारिसको क्रममा व्यवसायी संगठनबीच भएको विवाद तथा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका कारण अहिले सुन बैंकमा नै रोकिएको हो।
मंसिर १६ गते मात्रै वाणिज्य बैंकले एक सय केजी सुन आयात गरेका छन्। त्यसअघि वाणिज्य बैंकले गत कात्तिक १२ गते ३२ केजी आयात गरेका थिए।
अघिल्लो महिना आयात भएको सुन बिक्री भएको छ। तर, पछिल्लो पटक आयात भएको सुन बैंकमा होल्ड छ। यस्तो सुन नयाँ तथा संशोधित कार्यविधि नबनेको खण्डमा पुस २ गते पछि मात्रै व्यवसायीले किन्न पाउनेछन्। त्यसअघि संशोधन भएमा भने संशोधित कार्यविधिले गरेको व्यवस्था अनुसार नै बैंकले व्यवसायीलाई बिक्री गर्ने छन्।
बैंकले आयात गरेको सुन व्यवसायीकोमा कसरी जान्छ, पुस २ गते अघि बिक्री गर्न किन समस्या?
नेपालमा सुनको आयात वाणिज्य बैंकहरूले गर्छन्। सुन आयात तथा बिक्री वितरण 'सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८' को आधारमा गरिन्छ। जस अनुसार आयात गरिएको सुन वाणिज्य बैंकहरूले सुन व्यवसायी अथवा बैंकहरूलाई मात्रै बिक्री गर्न पाउँछन्।
व्यवसायीलाई बिक्री गर्ने क्रममा उनीहरूले दुई वटा उपाय अवलम्बन गर्छन्। आयात भएको १५ दिनभित्र बिक्री गर्ने सुनको हकमा व्यवसायी संस्थाहरूले सिफारिस गरेको आधारमा बिक्री गर्छन्। १५ दिनभित्र त्यस्तो सुन बिक्री भई नसकेको खण्डमा भने व्यवसायीहरूलाई नै बिक्री गरिन्छ।
अहिले सुनको लागि नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण महासंघ र हस्तकला महासंघले सिफारिस गर्छन्। उनीहरूले आफ्नो सदस्य व्यवसायीलाई मात्रै सिफारिस गर्छन्।
तर, नेपाल सुनचाँदी व्यवसायी महासंघले सिफारिस गर्ने क्रममा व्यवसायी बीच भएको विवादलाई लिएर अहिले अन्योल छ। महासंघ गठन गर्नुपूर्व रहेको संस्था नेपाल सुनचाँदी व्यवसायी संघ केन्द्र र महासंघ बीचको विवादको कारण यस्तो सिफारिसमा समस्या भएको हो।
यता सर्वोच्च अदालतले व्यवसायी संगठनका नभएकै कारण सुन खरिद गर्न नरोक्नको लागि अन्तरिम आदेश दिएको छ। मंसिर ७ मा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको इजलासले यस्तो अन्तरिम आदेश दिएको थियो।
यस कारणले पनि कार्यविधि संशोधन गर्नु पर्ने बाध्यता छ। यद्यपि सुन आयात भएको १५ दिन भित्रको हकमा व्यवसायी संगठनमा नभएका व्यवसायीले पनि यस्तो सुन खरिद गर्न पाउने भएकोले सर्वोच्चको आदेशले बाधा नपुग्ने राष्ट्र बैंकका अधिकारीले बताएका छन्। यसर्थ पछिल्लो पटक १६ मंसिरमा सुन आयात भएको थियो। पुस २ मा १५ दिन कट्ने भएकोले सिफारिस बिना पनि बैंकहरूले व्यवसायीलाई बिक्री गर्न पाउने भएका हुन्।
केही सुनचाँदी व्यवसायीले नयाँ बनाउने कार्यविधिमा व्यवसायी स्वयमले पनि सुन आयात गर्न सक्ने व्यवस्था गर्न आग्रह गरेका छन्।
‘अहिले विदेशी मुद्राको सञ्चिति राम्रो छ, २०६६ सालअघि व्यवसायी आफैले पनि आयात गर्न पाउँथे अब सोही व्यवस्था गर्ने गरी कार्यविधि संशोधन गर्नुपर्छ,’ सुन व्यवसायी तथा सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने।