पछिल्लो २८ महिनायता तेस्रो पटक १४ अर्ब माथिको निर्यात भएको छ।
वार्षिक १८ खर्ब माथिको अन्तर्राष्ट्रिय व्यापार गर्ने नेपालको निर्यातको हिस्सा निकै कम छ। पछिल्लो दुई वर्षमा त वार्षिक डेढ खर्ब बराबरको मात्रै निर्यात भएको छ।
आर्थिक वर्ष २०७८/७९ मा नेपालको निर्यात अत्याधिक बढेर दुई खर्ब माथि पुगेको थियो। औसत रूपमा मासिक १६ अर्ब ७० करोड रूपैयाँ पुगेको थियो।
त्यसपछिका वर्षहरूमा निर्यात उल्लेख्य घटेको छ। आर्थिक वर्ष २०७९/८० मा मासिक औसत १३ अर्ब ३० करोड रूपैयाँको निर्यात भयो। आर्थिक वर्ष २०८०/८१ मा त जम्मा मासिक औसत १२ अर्ब ६९ करोड रूपैयाँ बराबरको निर्यात भएको छ।
चालु वर्षको साउनदेखि असोज महिनासम्म पुनः गत वर्षको भन्दा पनि निर्यात घटेकोमा कात्तिकमा महिनामा निर्यातमा राम्रो वृद्धिदर देखिएको छ।
गत वर्ष कात्तिकको तुलनामा त ४७ प्रतिशतले निर्यात बढेको छ। गत कात्तिकमा जम्मा नौ अर्ब ६९ करोड रूपैयाँ बराबरको निर्यात भएको थियो।
पछिल्लो २८ महिनाको अवधिमा तेस्रो पटक १४ अर्ब बढीको निर्यात भएको छ। आर्थिक वर्ष २०७९/८० को साउन महिनामा १४ अर्ब ८१ करोड रूपैयाँ बराबरको सामान निर्यात भएको थियो। गत वर्ष असोज महिनामा १४ अर्ब ४२ करोड रूपैयाँ बराबरको निर्यात भएको थियो।
यो वर्ष भने कात्तिकमा १४ अर्ब ३० करोड रूपैयाँ बराबरको निर्यात भएको छ। कात्तिकमा भएको निर्यात पछिल्लो १३ महिनायताकै उच्च हो।
विशेषगरी अघिल्ला दुई वर्षमा अत्यधिक मात्रामा निर्यात भएको फलामे पाताको निर्यात यो वर्ष उल्लेख्य घटे पनि चिया, प्लाइउड लगायतका वस्तुको निर्यात उल्लेख्य बढेको भन्सार तथ्यांकले देखाएको छ।
चार महिनाको अवधिमा नेपालबाट निर्यात भएको वस्तुमध्ये ६८ प्रतिशत वस्तु भारतमा मात्रै गएका छन्। यो अवधिमा भारतमा ३५ अर्ब ७६ करोड रूपैयाँको वस्तु निर्यात भएको छ।
यद्यपि अहिले प्रमुख निर्यात वस्तुहरूले भारतीय गुणस्तर चिन्ह नवीकरणमा ढिलाइ भएको कारण वस्तु निर्यात गर्न पाएका छैनन्। अहिले भारत सरकारको ब्युरो अफ इन्डियन स्ट्यान्डर्डसले नयाँ आइएसआई दिन तथा नवीकरण गर्न ढिलाइ गरेको कारण निर्यात नै प्रभावित भएको उद्योगीहरूले गुनासो गरेका छन्।
नेपालले मुख्य रूपमा अहिले निर्यात गर्ने जस्तापाता, सिमेन्ट, जुत्ता, सेनेटरी प्याड लगायतका वस्तु आइएसआई चिह्नको आधारमा निर्यात हुने गरेका छन्।
उद्योगीहरूका अनुसार करिब तीन महिनादेखि भारत सरकारले नयाँ आइएसआई दिएको छैन भने पुरानोको नवीकरण पनि गरेको छैन। यसको कारण अहिले अर्घाखाँची, बालाजी लगायतका सिमेन्टको निर्यात भएको छैन।
बिआइएस नवीकरण भएसँगै यी वस्तुको निर्यात बढ्ने उनीहरूको भनाइ छ।
चार महिनाको अवधिमा तीन अर्ब ६५ करोड रूपैयाँ बराबरको कार्पेट निर्यात भएको छ। कार्पेटको निर्यात गत वर्षभन्दा ५ करोड रूपैयाँले घटेको छ।
यो वर्ष भटमासको तेलको निर्यात भने उल्लेख्य मात्रामा बढेको छ। चार महिनाको अवधिमा मात्रै तीन अर्ब ४१ करोड रूपैयाँ बराबरको यस्तो तेल निर्यात भएको छ।
जबकि गत वर्ष यही अवधिमा एक अर्ब ४४ करोड रूपैयाँ बराबरको भटमासको तेल निर्यात भएको थियो। नेपालले रिफाइन नगरेको भटमास तथा भटमासको तेल तेस्रो मुलुकबाट आयात गर्छ भने रिफाइन गरेर भारतमा निर्यात गर्छ।
अघिल्लो वर्ष उल्लेख्य मात्रामा यस्तो तेलको निर्यात घटेकोमा यो वर्ष भने फेरि बढ्न थालेको छ। जसमध्ये कात्तिक एक महिनामा मात्रै साढे दुई अर्ब रूपैयाँको भटमासको तेल निर्यात भएको छ।
त्यस्तै, नेपाली चियाको निर्यात पनि उल्लेख्य बढेको छ। चार महिनाको अवधिमा दुई अर्ब ३६ करोड रूपैयाँ बराबरको चिया विदेशी बजारमा निर्यात भएको छ। गत वर्ष यही अवधिमा एक अर्ब ४९ करोड रूपैयाँको मात्रै निर्यात भएको थियो।
चार महिनाको अवधिमा एक अर्ब ९० करोड रूपैयाँ बराबरको अलैँची निर्यात भएको छ। अलैँचीको निर्यात भने गत वर्षको तुलनामा घटेको छ। गत वर्ष यस अवधिमा दुई अर्ब १५ करोड रूपैयाँ बराबरको अलैँची निर्यात भएको थियो।
गत वर्ष सबैभन्दा बढी निर्यात भएको फलाम तथा स्टिलजन्य सामग्रीको निर्यातमा उल्लेख्य कमी आएको छ।
यो वर्ष चार महिनाको अवधिमा चार अर्ब ५७ करोड रूपैयाँ बराबरको फलाम तथा स्टिलसँग सम्बन्धित सामग्रीहरूको निर्यात भएको छ। जबकि गत वर्ष यही अवधिमा पाँच अर्ब ७० करोड रूपैयाँ बराबरको निर्यात भएको थियो।