सरकारले अघि बढाएको सामाजिक सुरक्षा भत्ताका कार्यक्रमबाट चालु आर्थिक वर्षमा ३५ लाखभन्दा बढी नागरिक लाभान्वित भएका छन्।
सरकारले चालु वर्षमा सामाजिक सुरक्षा भत्ता दिनको लागि एक खर्ब १६ अर्ब रूपैयाँ बजेट छुट्ट्याएको छ।
गत आर्थिक वर्षको अन्तिमसम्मको विवरणअनुसार यस्तो भत्ता लिने व्यक्तिको संख्या ३८ लाखभन्दा बढी थियो।
पहिलो त्रैमासमा भत्ता लिने कार्ड नवीकरण कम हुने गरेको कारण लाभग्राही थोरै देखिन्छ।
सरकारले ८ भागमा विभाजन गरेर विभिन्न वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ। लाभग्राहीको संख्यामध्ये सबैभन्दा बढी ज्येष्ठ नागरिकको नाममा भत्ता लिनेको संख्या छ।
६८ वर्ष उमेर पुगेका सबै र ६० वर्ष उमेर पुगेको (तोकिएका) गरी करिब १६ लाख २० हजार नागरिकले जेष्ठ नागरिक भत्ता लिने गरेका छन्।
कसलाई के नाममा कति दिइन्छ भत्ता?
भत्ता पाउने वर्ग | प्रति महिना भत्ता रकम |
जेष्ठ नागरिक (६८ वर्ष उमेर पुगेको) | चार हजार रूपैयाँ |
अन्य जेष्ठ नागरिक (६० वर्ष उमेर पुगेका साविक कर्णालीका जिल्लाहरूका नागरिक र देशभरिका दलित नागरिक) | दुई हजार ६६० रूपैयाँ |
एकल महिला (विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी, बसेका ६० वर्ष उमेर पुगेका र पतिको मृत्यु भएका ६० वर्ष उमेर पुगेका) | दुई हजार ६६० रूपैयाँ |
विधवा (पतिको मृत्यु भएका जुनसुकै उमेरका) | दुई हजार ६६० रूपैयाँ |
पूर्ण अपाङ्गता भएका (सम्बन्धित निकायबाट 'क' वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरू) | तीन हजार ९९० रूपैयाँ |
अति अशक्त अपाङ्गता (सम्बन्धित निकायबाट 'ख' वर्ग अर्थात् नीलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरू) | दुई हजार १८० रूपैयाँ |
लोपोन्मुख आदिवासी/जनजाति (कुसुन्डा, बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया, पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया) | तीन हजार ९९० रूपैयाँ |
बालबालिका (सरकारले तोकेका क्षेत्र तथा जिल्ला र देशभरिका दलित परिवारका पाँच वर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तानलाई) | ५३२ रूपैयाँ |