सरकारी अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूले लामो समयदेखि उपभोग्य वस्तुको मागमा कमी आएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
लामो समयदेखि आयातमा निरन्तर कमी आएको छ। आन्तरिक उत्पादनहरूमा पनि सुधार देखिन सकेको छैन। निर्माण गतिविधि सुस्त छ। जसको प्रभाव सरकारको राजस्वमा समेत परेको छ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व र आयातमा सामान्य सुधार देखिएको थियो। भदौ र असोज महिनामा भने पुनः खस्कियो।
विशेषगरी गत असोजमा आएको बाढी पहिरोको असर सर्वत्र देखिएको सरकारी अधिकारीहरूको भनाइ थियो।
महिनागत रूपमा कात्तिकमा सरकारले संकलन गर्ने राजस्व ११ महिना यताकै उच्च देखिएको छ। उपभोगमा सुधारको संकेत गर्ने अन्य तीन सूचकमा पनि सुधार देखएको छ। आयात बढेको छ, मूल्य अभिवृद्धि कर र अन्तशुल्कको संकलनमा पनि उल्लेखनीय वृद्धि भएको आन्तरिक राजस्व विभागको तथ्यांकले देखाएको छ।
असोज महिनासम्म समग्र आयात ४ प्रतिशतले गिरावट भएकोमा कात्तिक मसान्तमा आइपुग्दा आयात ०.१७ प्रतिशतले बढेको छ।
गत वर्ष असोजसम्म चार खर्ब सात अर्बको आयात भएकोमा यो वर्ष असोजसम्म तीन खर्ब ९० अर्ब रूपैयाँ बराबरको मात्रै वस्तु आयात भएको थियो।
आइपुग्दा भने गत वर्ष कात्तिकसम्म पाँच खर्ब १२ अर्ब रूपैयाँको आयात भएकोमा अहिले पाँच खर्ब १३ अर्ब रूपैयाँ बराबर पुगेको छ।
महिनागत आयात भने कात्तिक महिनामा १७ प्रतिशतले बढेको छ। गत वर्ष कात्तिक महिनामा एक खर्ब ५ अर्बको आयात भएकोमा यो वर्ष एक खर्ब २३ अर्ब रूपैयाँ बराबरको भएको छ।
आयात मात्रै होइन निर्यात पनि बढेको तथ्यांकले देखाएको छ।
असोजसम्म ६ प्रतिशतले कमी देखिएको निर्यात पनि कात्तिसम्म आइपुग्दा ४ प्रतिशतको वृद्धिदर देखिएको छ।
गत वर्षको असोज महिनासम्म ४० अर्ब ८७ करोड रूपैयाँ बराबरको निर्यात भएकोमा यो वर्षको असोज महिनासम्म ३८ अर्ब ३७ करोड रूपैयाँको निर्यात भएको छ। तर, गत वर्ष कात्तिकसम्म ५० अर्ब ५६ करोडको निर्यात भएकोमा यो वर्ष ५२ अर्ब ६७ करोड पुगेको छ।
महिनागत रूपमा कात्तिकको निर्यात ४७ प्रतिशतले बढेको छ। गत वर्ष कात्तिक महिनामा मात्रै नौ अर्ब ६७ करोड रूपैयाँको निर्यात भएको थियो। यो वर्ष भने कात्तिकमा भने १४ अर्ब ३० करोड पुगेको छ।
यता उपभोग र उत्पादन उतारचढावले तत्काल प्रभाव पार्ने आन्तरिक सेवा तथा उत्पादनमा केन्द्रित मूल्य अभिवृद्धि कर संकलन र अन्तशुल्कको संकलनमा पनि सुधार देखिएको छ।
आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार कात्तिक महिनामा मूल्य अभिवृद्धिकर (आन्तरिक) २३ प्रतिशतले बढेको छ।
गत वर्ष कात्तिक महिनामा मात्रै यस्तो राजस्व ८ अर्ब १२ करोड संकलन भएको थियो। यो वर्ष कात्तिकमा भने १० अर्ब दुई करोड रूपैयाँ पुगेको छ।
कात्तिक २२, २३ र २५ गतेको दिनमा मात्रै करिब २० अर्ब राजस्व संकलन भएको छ।
आन्तरिक रूपमा बिक्री गरिएको वस्तु तथा सेवाको भ्याट व्यवसायीहरूले अर्को महिनाको २५ गतेसम्म राजस्व खातामा जम्मा गर्ने व्यवस्था गरिएको छ।
जसअनुसार यी दिनमा बढी राजस्व संकलन हुने गर्छ। यद्यपि गत वर्ष यही दिनहरूमा भएको राजस्व संकलनको तुलनामा अहिले बढेको छ। यसले असोजमा वस्तु तथा सेवाको बिक्री केही बढेको देखाउँछ।
समग्रमा चार महिनामा भने भ्याट (आन्तरिक) २० प्रतिशतले बढेको छ। विगत १५ वर्षसँग तुलनामा गर्दा यो औसतभन्दा राम्रो देखिन्छ। यो अवधिमा जम्मा ३४ अर्ब २७ करोड भ्याट (आन्तरिक)संकलन भएको छ।
अन्तशुल्क (आन्तरिक) पनि उल्लेखनीय सुधार देखिएको छ। कात्तिक महिनामा मात्रै अन्तशुल्क आन्तरिक ५४ प्रतिशतले बढेको छ। गत वर्ष कात्तिक महिनामा जम्मा ७ अर्ब ३३ करोड रूपैयाँ संकलन भएको थियो। अहिले भने ११ अर्ब २९ करोड संकलन भएको छ। जबकी कात्तिक महिनाको सरकारको लक्ष्य ११ अर्ब १० करोड रूपैयाँ मात्रै थियो।
समग्र चार महिनामा पनि अन्तशुल्क २५ प्रतिशतले बढेको छ। गत वर्ष यो अवधिसम्म २९ अर्ब ८१ करोड अन्तशुल्क (आन्तरिक) संकलन भएको थियो। अहिले यो अवधिसम्म ३७ अर्ब ४८ करोड संकलन भएको छ।
आन्तरिक उत्पादनहरूमध्ये विशेषगरी मदिरा र सुर्ती तथा चुरोटमा अन्तशुल्क लगाइने गर्छ। आर्थिक वर्ष २०८०/८१ अघिका वर्षहरूमा कहिले पनि अन्तशुल्क घटेको थिएन। औसत रूपमा २० प्रतिशत माथिको वृद्धिदर रहेकोमा गत वर्ष भने घटेको थियो। यो वर्ष कात्तिक महिनामा उल्लेखनीय रूपमा र चार महिनामा औसत वृद्धिदर देखिएको छ।
यद्यपि, अहिले पनि घरजग्गाको कारोबारमा सुधार आउन सकेको छैन भने बैंकहरूबाट पनि अपेक्षित कर्जा विस्तार भएको छैन।