दसैं तथा तिहारलाई लक्षित गरेर चीनबाट मगाइएको सामानहरू दसैंअघि नआउने भएका छन्।
हालसालैको बाढी पहिरोको कारण नेपाल–चीन दुवैतर्फ बाटो तथा पुल भत्किएपछि सामान आउन नसक्ने अवस्थामा पुगेको भन्सार अधिकारी तथा व्यापारीहरूले बताएका छन्।
विशेषगरी तातोपानी नाकाबाट आउने सामानमा नेपाल तर्फको बाटो अवरूद्ध भएको कारण सामान ल्याउन सकिएको छैन। त्यस्तै रसुवा नाकामा भने नेपाल तर्फबाट बाटो खुलाइए पनि चीन तर्फको बाटो (केरूङ) भत्किएको कारण सामान ल्याउन नसक्ने अवस्थामा पुगिएको भन्सार अधिकारी निर्मलराज कँडेलले बताए।
'चाइना केरूङको सबै बाटो भत्किएको छ। बाटोमा खोला पसेपछि सामान गाडीबाट निकालेर गोदाममा राखिएको छ, दसैंअघि आउन अवस्था छैन,' कँडेलले भने।
उनकाअनुसार केरूङतर्फ करिब साढे तीन सय गाडी रोकिएका थिए। ती सामानहरू अब कहिले आउँछ भन्ने सक्ने अवस्था नरहेको उनले बताए।
केरूङ तर्फको पहिरोभन्दा वारि आएका गाडीहरू भने केही बाहेक भन्सार यार्डमा आइसकेको उनले बताए। अहिले पनि ५/७ वटा कन्टेनर फसे पनि अरू भने भन्सार यार्डमा ल्याइएको छ।
सोमबार मात्रै ८६ वटा कन्टेनरहरू यार्डमा ल्याइएको थियो। अहिले रसुवा भन्सार यार्डमा साढे दुई सय गाडी रहेका छन्।
यी गाडी भने पर्सी क्लियर हुने उनले बताए।
अहिले विशेषगरी लसुन, फलफूल, रेडिमेड कपडा तथा अन्य रोल गरिएका सामान र जलविद्युत आयोजनाका सामानहरू आयात भएको छ।
लामो समय बाटोमा रोकिएको कारण केही फलफूल तथा लसुनहरू बिग्रिएको व्यापारीहरूले बताएका छन्। भन्सारमा आइसकेका सामग्रीको हकमा भने नष्ट हुने सक्ने सामानलाई प्राथमिकता दिएर भन्सार पास गरिएको भन्सार अधिकृत कँडेलले बताए।
गत शुक्रबारदेखि नेपालतर्फ पनि स्याफ्रुबेसी र टिमुरे बीचमा रहेको सडक भत्किएको थियो।
मंगलबारदेखि भने यो सडक नियमित रूपमा सुरू भएको छ। रसुवा नाकाबाट पछिल्लो समय अत्यधिक मात्रामा विद्युतीय गाडी पनि आयात भएका छन्।
अहिले यार्डमा भएका सबै गाडीको भन्सार पास गरिएको र बाटोमा पनि नरहेको भन्सार कार्यालयले जनाएको छ।
रसुवा नाका २०७१ मंसिरदेखि विधिवत रूपमा सञ्चालनमा आएको थियो।
चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेको थियो। विशेषगरी कोरोनापछि ३८ महिना आंशिक रूपमा मात्रै आयात–निर्यात भएको थियो। २०७९ चैतबाट भने पूर्ण रूपमा सञ्चालन भइरहेको छ। अन्य नाकाहरूबाट आयात घट्दा पनि यी नाकाबाट पछिल्लो दुई वर्षमा भने आयात बढ्दो छ।
यता नेपाल तर्फको बाटो बिग्रिएको कारण तातोपानी नाकामा ३०० बढी कन्टेनर अलपत्र परेको हिमालय सीमापार व्यापार संघका अध्यक्ष रामहरि पोखरेलले बताए।
बाढी पहिरोको नेपाल तर्फका तीन वटा पुल नै भत्काएको छ। अस्थायी रूपमा बाटो खुलाएर सामान ल्याउने प्रयास भए पनि सफल हुन नसकेको उनले बताए।
'धेरै गाडी अलपत्र भएका छन्। अस्थायी रूपमा बाटो खुलाउन सकिन्छ कि भनेर प्रयास त भइरहेको छ अब दसैंअघि सामान आउने सम्भावना देखिँदैन,' पोखरेलले भने।
२०७२ सालको भूकम्पपछि तातोपानी नाकामा विभिन्न प्रकारको अवरोध रहँदै आएको छ।
बाढी पहिरो अघि पनि चीनतर्फ बाटो मर्मतसम्भार गर्नुपर्ने कारण देखाएर निश्चित समय मात्रै बाटो खुलाइएको थियो।
सर्वसाधारण आवतजावतको लागि करिब साढे आठ वर्ष रोकिएको यो नाका गत भदौमा मात्रै खुलाइएको थियो।
हालसालैको बाढी पहिरोभन्दा पहिले आंशिक रूपमा आयात भने भइरहेको छ। चालु वर्षको दुई महिनामा आठ अर्ब ९४ करोड रूपैयाँको सामान आयात भएको छ। निर्यात भने एक रूपैयाँको पनि भएको छैन।
गत आर्थिक वर्षमा ४० अर्ब ३४ करोडको आयात र करिब एक करोड रूपैयाँको निर्यात भएको थियो।