राजस्व स्रोतमा दबाब बढ्दै गएको समयमा गुमेको राजस्व उठाउन सरकारले विभिन्न उपायहरूमाथि बहस सुरू गरेको छ।
सरकारले ठूलो मात्रामा राजस्व उठाउन नपाएको भन्दै नयाँ अवधारणाबाट उठाउन सकिने विज्ञहरूले बताएका छन्।
यसै सन्दर्भमा सरकारले गठन गरेको एक समितिले मिनिमम अल्टरनेट ट्याक्स (म्याट) अवधारणा लागु गर्न सिफारिस गरेको छ।
मिनिमम अल्टरनेट ट्याक्स (म्याट) लाई न्यूनतम वैकल्पिक कर भनिएकाे छ। कर कम तिर्ने वा कर नतिर्ने कम्पनीबाट राजस्व बढाउने आधारकाे रूपमा यसलाई लिइएकाे छ।
करदाताको वित्तीय विवरण नाफामा रहेको, प्राप्त लाभको ठूलो अंश लाभांशको रूपमा भुक्तानी पनि गरेको तर, आयकरसँग सम्बन्धित कानुनी प्रावधानले दिने छुट, खर्च कट्टी, सहुलियत लगायतका कारणले गर्दा कम्पनीहरू करको दायित्वमा नदेखिने अवस्था छ। यस्तो अवस्थामा कम्तीमा त्यस्ता करदाताबाट न्यूनतम कर लगाउन म्याटको अवधारणा अघि सारिएकाे हाे।
पूर्वअर्थ सचिव विद्याधर मल्लिकको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय कर प्रणाली सुधार समितिले सरकारलाई यस्तो अवधारणा सुरू गर्न सिफारिस गरेको छ। करको दायरा विस्तार गर्न तथा करको आधार खोज्न यो अवधारणा अनुसार कर उठाउँदा राजस्व संकलनमा देखिएको कमी पूरा गर्न सहयोग पुग्ने उल्लेख गरिएको छ।
'वित्त प्रणालीमा देखिएको राजस्व संकलनको न्यूनता पूर्ति गर्न र करदातालाई कर तिर्नका लागि बढी जिम्मेवार बनाउन यो अवधारणा अवलम्बन गर्न समिति सिफारिस गर्दछ,' सरकारलाई बुझाएको प्रतिवेदनमा भनिएको छ।
यो राज्यको लागि वैकल्पिक कर हो। आयकर कानुन बमोजिम कम्पनीलाई लाग्ने आयकरको दरलाई सामान्य कर दायित्वको रूपमा बुझिन्छ। यदि सामान्य कर दायित्वभन्दा वैकल्पिक कर बढी हुने अवस्थामा सरकारले तत्कालको लागि वैकल्पिक कर लगाउन पाउने व्यवस्था हो।
समितिका एक सदस्यका अनुसार यस्तो कर कारोबारको दुई प्रतिशत तोकिएको छ। यदि कुनै कम्पनीले आयका आधार तिर्नुपर्ने करभन्दा कारोबारको दुई प्रतिशत बढी भयो भने वैकल्पिक कर लागु हुनेछ।
मुख्यत: यस्तो कर आयमा नै लाग्ने भएकोले करदाताले तिरेको कर दायित्व पछिल्लो वर्षहरूमा सार्न भने पाइनेछ।
अर्थात् पछिल्ला वर्षहरूमा सामान्य कर बराबरको आम्दानी गरियो भने त्यसअघि बढी भएको करबाट कटाउन पाइन्छ।
यसरी कर उठाउँदा वार्षिक ७६ अर्ब बढी करको दायित्व बढ्ने अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९/८० को आन्तरिक राजस्व विभागमा पेस गरिएको आय विवरणमा कर दायित्व रकम र कारोबार रकमका आधारमा ७६ अर्ब राजस्व बढ्ने अनुमान गरिएको हाे। अहिले विभागमा पेस भएकाे आय विवरणकाे आधारमा उठ्ने करभन्दा यसरी वैकल्पिक कर लगाउँदा याे बराबरकाे रकम थप उठ्ने देखिएकाे हाे।
मुख्यत: निकाय र व्यावसायिक व्यक्तिका विवरणहरू यथार्थ र सही नहुँदा सरकारले नाफा भएको अवस्थामा मात्र कर प्राप्त हुने हालकाे व्यवस्थाकाे कारण राज्यले यथार्थपरक कर प्राप्त गर्न नसकेको समितिकाे ठम्याइ छ।
त्यसैले पनि राज्यले उपयुक्त एवं यथार्थपरक कर प्राप्त गर्न नसकेको अवस्था यस्तो कर उठाउन, समाजमा कर तटस्थता र समता कायम गर्न, करदातालाई कर तिर्ने सहज वातावरण बनाउन यस्तो कर लगाउनु पर्ने समितिको सिफारिस छ।
करसम्बन्धी जानकार सिए उमेशराज पाण्डे भारत लगायतका देशमा म्याटको प्रयोग भइरहेकाेले नेपालमा पनि यस विषयमा आवश्यक छलफल तथा परामर्श आवश्यक भएकाे बताउँछन्।
प्रचलित किताबी नाफा अनुसार गणना गरिएको मुनाफामा लाग्न सक्ने करभन्दा आयकर कानुनबाट लगाउने कर कम हुने तर सम्बन्धित निकायले मुनाफा वितरण गर्छ भने त्यस्तो निकायलाई म्याटको अवधारणाबाट कर लगाइने गरेकाे उनी बताउँछन्। तर, लेखामानमा नै नाफा नभएमा भने यस्तो कर लगाइँदैन।
म्याट आयकरको अभिन्न अंग भएको कारण कारोबार रकमको आधारमा यसको कर उठाउने विषय सैद्धान्तिक रूपमा नमिल्ने उनी बताउँछन्।
'म्याट आयकरको अंग हो, किताबी आय हुने तर करयोग्य आय नहुने अवस्थामा पछिल्ला वर्षहरूमा सार्ने गरी यो कर लगाइन्छ,’ पाण्डेले भने', 'आयकर ऐनलाई आयकर उठाउने साधन मात्रै बनाइनु पर्छ, मूल्य अभिवृद्धि कर जस्तै यसलाई लिनु भएन।'
भारतमा पनि म्याट लागु गरिएको छ। भारतले कम्पनीबाट वैकल्पिक न्यूनतम कर (एमटी) को अवधारणा सुरू गरेको थियो। त्यसलाई पछि म्याटको अवधारणामा लगिएको हो। विशेष गरी शून्य कर दायित्व देखाउने करदाताको संख्यामा वृद्धि भएपछि सन् १९८८/८९ बाट यस्तो अवधारणा सुरू गरिएको थियो।
भारतले म्याट वा सामान्य कर दायित्वमध्ये जुन बढी हुन्छ त्यसलाई कर तिर्ने प्रयोजनकाे लागि मान्यता दिएको छ। तर, तोकिएका निश्चित कम्पनी, क्षेत्र (सरकारले लाभ दिन चाहेका क्षेत्र) लाई म्याटमा समावेश गरिएको छैन।
त्यस्तै, सामान्य कर दायित्वभन्दा म्याटबाट तिर्नुपर्ने दायित्व भएको बढी रकमलाई क्रेडिटको रूपमा पछिल्लो वर्षमा दाबी गर्न पाउने व्यवस्था समेत भारतमा लागु गरिएको छ। यहाँ सबै प्रकारका करदातालाई भने समान म्याट लागु हुँदैन अर्थात् भिन्न-भिन्न प्रतिशत रहेको छ। म्याट किताबी नाफालाई आधार बनाएर उठाइन्छ।