उपभोग्य सामग्रीको मूल्य वृद्धिदरमा लगातार सुस्तता देखिएको छ।
सामान्यता: अघिल्लो समयको तुलनामा कुनै पनि वस्तु वा सेवाको मूल्य बढेको हुन्छ। यो वर्षको फागुन महिनासँग अघिल्लो वर्षको फागुनको तुलना गर्दा औसत मूल्य ४.८२ प्रतिशतले बढेको छ।
तर, वृद्धिदर भने पछिल्ला महिनाहरूमा लगातार घटिरहेको छ। मूल्य वृद्धिदरको मापन गर्ने निकाय नेपाल राष्ट्र बैंकका अनुसार अहिले यस्तो वृद्धिदर पछिल्लो ३० महिनायताकै न्यून छ।
कतिपय वस्तुमा उच्च मूल्य वृद्धिदर भएको छ भने केही वस्तुको मूल्य गत वर्षभन्दा पनि घटेको छ।
जस्तै गत वर्षको फागुन महिनाको तुलनामा मरमसलाको मूल्य २८ प्रतिशतले बढेको छ। तर, घ्यू-तेलको मूल्य भने करिब १२ प्रतिशतले घटेको देखिएको छ। औसतमा भने ४.८२ प्रतिशतले बढेको हो।
यसअघि २०७८ असोजमा महँगीदर ४.२४ प्रतिशत पुगेको थियो। त्यसयता हरेक महिना बढ्दै जाँदा २०७९ भदौ महिनामा ८.६४ प्रतिशतसम्म पुगेको थियो।
यस्तो छ पछिल्लो ३० महिनाको महँगीदर:
महिना | मूल्य वृद्धिदर |
२०७८ साउन | ४.३५ |
२०७८ भदौ | ३.४९ |
२०७८ असोज | ४.२४ |
२०७८ कात्तिक | ६.०४ |
२०७८ मंसिर | ७.११ |
२०७८ पुस | ५.६५ |
२०७८ माघ | ६.२४ |
२०७८ फागुन | ७.१४ |
२०७८ चैत | ७.२८ |
२०७९, वैशाख | ७.८७ |
२०७९ जेठ | ८.५६ |
२०९ असार | ८.०८ |
२०७९ साउन | ८.२६ |
२०७९ भदौ | ८.६४ |
२०७९ असोज | ८.५ |
२०७९ कात्तिक | ८.०८ |
२०७९ मंसिर | ७.३८ |
२०७९ पुस | ७.२६ |
२०७९ माघ | ७.८८ |
२०७९ फागुन | ७.४४ |
२०७९ चैत | ७.७६ |
२०८० वैशाख | ७.४१ |
२०८० जेठ | ६.८३ |
२०८० असार | ७.४४ |
२०८० साउन | ७.५२ |
२०८० भदौ | ८.१९ |
२०८० असोज | ७.५ |
२०८० कात्तिक | ५.३८ |
२०८० मंसिर | ४.९५ |
२०८० पुस | ५.२६ |
२०८० माघ | ५.०१ |
२०८० फगुन | ४.८२ |
गत वर्षको सोही महिनाको तुलनामा समीक्षा महिनाको हिसाबले ३० महिनायताकै न्यून बिन्दुमा भए पनि वार्षिक औसत मूल्य वृद्धिदर भने ६.०८ प्रतिशत छ।
सरकारले चालु आर्थिक वर्षमा ६.५ प्रतिशतको वृद्धिदरभित्र कायम राख्ने लक्ष्य राखेकोमा औसत लक्ष्यभन्दा तल मूल्य वृद्धिदर रहेको छ।
नेपाल राष्ट्र बैंकका अधिकारी तथा सरकार प्रतिनिधिहरू मूल्य अब घट्ने क्रममा रहेको बताउँछन्। मूल्य वृद्धिदर घट्दो क्रममा देखिन थालेपछि नेपाल राष्ट्र बैंकले आफ्ना नीतिमा पुनरावलोकन गर्न सुरू गरेको छ।
गत वर्ष लगातार मूल्य बढ्न थालेपछि राष्ट्र बैंकले ब्याजदर वृद्धिको औजार अघि सारेको थियो।
आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले वार्षिक प्रक्षेपित मुद्रास्फीतिभन्दा कम नहुने गरी नीतिगत दर तय गर्ने व्यवस्थाको सुरूआत गरेको थियो।
मूल्य घट्नुको कारण आयात केन्द्रित उपभोग भएको तथा धेरै उपभोग्य वस्तु आयात गरिने राष्ट्र भारतमा पनि मूल्य वृद्धिदर घट्नु हो। तर, अहिले भारतको भन्दा पनि न्यून मूल्य वृद्धिदर देखिएको छ। कात्तिक महिनादेखि यता भारतभन्दा नेपालमा यस्तो मूल्य वृद्धिदर कम रहेको छ।
राष्ट्र बैंकका निर्देशक शतेन्द्र तिमिल्सिना कतिपय वस्तुमा मागमा आएको कमीको कारण पनि असर परेको हुन सक्ने बताउँछन्।
'मूल्य वृद्धि मापनमा महत्त्वपूर्ण हिस्सा रहने कतिपय वस्तुको मागमा आएको कमीको असरले पनि कम भएको हुन सक्छ,' तिमिल्सिनाले भने।
यस्तै, पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटले पनि समग्र मूल्य वृद्धिदर कम गर्न सहयोग पुगेको देखिएको छ।
चालु वर्षको विगतका महिनाको तुलनामा पेट्रोलियम पदार्थको मूल्य बढे पनि गत वर्षको तुलनामा मूल्य न्यून छ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचक २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचक ११.७९ प्रतिशतले घटेको छ।
त्यस्तै, मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत मूल्य १२.६१ प्रतिशत, शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको १.१५ प्रतिशतले घटेको छ।
कसरी हुन्छ मूल्य मापन?
राष्ट्र बैंकको सर्वेक्षण तथ्यांकले मूल्य वृद्धिदर न्यून विन्दुमा रहेको देखाए पनि उपभोक्ता अधिकारकर्मीहरू यसलाई विश्वास गर्न मान्दैनन्। उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बजारको यथार्थ मूल्यवृद्धि र राष्ट्र बैंकको सर्वेक्षणमा देखिने वृद्धिदर यथार्थ नहुने तर्क गर्छन्।
'बजारको मूल्य र सर्वेक्षणमा देखिने तथ्यांकमा आकाश पातलकै फरक छ, मूल्य वृद्धिदर सरकारको नियन्त्रणमा छैन,' तिमिल्सिनाले भने।
राष्ट्र बैंकले आफ्नो सर्वेक्षणमा गत वर्षको सोही महिनामा भएको सोही वस्तुको मूल्यसँग तुलना गर्ने गरेको हुन्छ।
मानौं कुनै एक वस्तुको मूल्य गत वर्ष फागुनमा १०० रूपैयाँ थियो र यो वर्षको माघमा नौ रूपैयाँ झरेर फागुनमा १०२ रूपैयाँमा बिक्री भएको छ भने दुई प्रतिशतको वृद्धिदर देखिन्छ। तर उपभोक्ताले भने असोजसँगको तुलना गरेको कारण सर्वेक्षण यथार्थ नभएको पनि भन्ने गरेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।
राष्ट्र बैंकले हाल ४०२ वस्तु तथा ९४ सेवा गरी ४९६ वस्तु तथा सेवाहरूको मूल्य संकलन गर्ने गरेको छ।
यी वस्तु तथा सेवाहरूले घर परिवारको खर्चको ९७ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने भएकाले उपभोक्ता मूल्य सूचकांकका लागि उक्त वस्तु तथा सेवामा गरिने खर्चले घरपरिवारको खर्च संरचनाको यथार्थपरक प्रतिनिधित्व गर्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।
उपभोक्ता मूल्य सूचकांक गणनाका लागि २९ वटा ग्रामीण तथा ३१ वटा सहरी गरी ६० बजार केन्द्रहरू तोकिएका छन्।
यसरी छानिएका बजार केन्द्रहरूबाट साप्ताहिक, मासिक तथा त्रैमासिक रूपमा वस्तु तथा सेवाहरूको मूल्य संकलन गर्नुपर्ने विधि राष्ट्र बैंकले बनाएको छ।