घरजग्गा व्यवसायीले 'इन्भेष्टमेन्ट कम्पनी' खोलेका छन्।
बैंक तथा वित्तिय संस्थामा कर्जा लिन झण्झट भएको भन्दै व्यवसायीले आफैं पुँजी संकलन गरेर इन्भेष्टमेन्ट कम्पनी खोलेका हुन्।
नेपाल जग्गा तथा आवास विकास महासंघको शुक्रबार रूपन्देहीमा भएको नियमित बैठकले इन्भेष्टमेन्ट कम्पनी खोल्ने निर्णय गरेको महासंघका अध्यक्ष विष्णु घिमिरेले जानकारी दिए।
'हामी बैठक बसेर कम्पनीले खोल्ने निर्णय गर्यौं,' उनले भने, 'कम्पनीमा पुँजी संकलन गर्न पनि सुरू भइसक्यो।'
उनका अनुसार प्रतिव्यक्ति एक लाखको दरले पुँजी संकलन गरिएको छ। शुक्रबार मात्रै एक सय जनाबाट प्रतिव्यक्ति एक/एक लाखको दरले एक करोड रूपैयाँ संकलन भएको छ।
आगामी दिनमा कुनै पनि परियोजना सञ्चालन गर्न व्यवसायीले बैंक तथा वित्तिय संस्थाको मुख ताक्नु पर्दैन। अब व्यवसायीले सोही कम्पनी मार्फत लगानी गर्छन्।
एक लाख रूपैयाँ सुरूआती पुँजी संकलन दर हो। यो महासंघका सदस्यलाई अनिवार्य गरिएको छ। आगामी दिनमा परियोजनाको लागत हेरेर लगानी थप गरिने छ।
महासंघमा एक सय ५० भन्दा बढी सदस्य छन्।
आगामी दिनमा इन्भेष्टमेन्ट कम्पनीमा घरजग्गा व्यवसायी मात्रै नभएर निर्माण व्यवसायीलाई पनि आबद्ध हुन आह्वान गर्ने महासंघको योजना छ।
महासंघले सो कम्पनी मार्फत प्रदेश तथा स्थानीय तहहरूमा आधुनिक सहर निर्माण गर्नेछ।