कुनै पनि निर्माणमा सिमेन्ट अत्यावश्यक छ। निजी आवासको कुरा गर्दा हिजोआज ढुंगा माटोको घर कमैले बनाउँछन्। सिमेन्ट निर्विकल्प बनिसक्यो।
हामीकहाँ ओपिसी र पिपिसी गरी २ प्रकारका सिमेन्ट निर्माण क्षेत्रमा प्रयोग गरिन्छ। घर बनाउन प्रयोग गरिने सिमेन्टबारे जान्नुअघि ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) ले कसरी काम गर्छ बुझ्न आवश्यक छ।
यसबारे हामीले निजी आवास निर्माण कम्पनी 'मेरो घर' का सिइओ तथा इञ्जिनियर विपीन गैरेसँग कुराकानी गरेका छौं।
उनका अनुसार कुनै पनि सिमेन्टले पानीको सम्पर्कमा आएपछि यसको वास्तविक गुण देखाउँछ।
'ओपिसी निर्माणमा छिटो सेट हुने सिमेन्ट हो,' इञ्जिनियर गैरेले भने, 'जुन निर्माणलाई छिटो सक्नुपर्ने हुन्छ वा छिटो फर्मा खोल्नुपर्ने हुन्छ, त्यहाँ यो सिमेन्ट प्रयोग गरिन्छ।'
ओपिसी बजारमा विभिन्न नाम र दाममा पाइन्छन्। सामान्यतया यसको बजारमूल्य कम्पनीअनुसार ८ सय देखि १ हजार रूपैयाँसम्म पर्छ। स्ल्याब, पिलर, पुल ढलान आदि काममा यो सिमेन्ट प्रयोग गरिन्छ। अर्घाखाँची, शिवम्, होङ्सी, अल्ट्रा, मारुती, उदयपुर सिमेन्ट, हेटौंडा आदि ओपिसीका उदाहरण हुन्।
तर ढलानका लागि ओपिसी मात्रै प्रयोग हुँदैन। धेरै उपभोक्तामा ढलानका लागि ओपिसी मात्रै प्रयोग गरिने बुझाइ रहेको इञ्जिनियर गैरे बताउँछन्। निर्माण समय लामो राखिएको छ भने पिपिसी पनि प्रयोग गर्न सकिने उनको भनाइ छ।
'ढलानका लागि ओपिसी नै चाहिने होइन,' उनले भने, 'कुनै ढलान लामो समय (फर्मा नखोली) राख्न सकिन्छ भने पिपिसी पनि प्रयोग गर्न सकिन्छ।'
ओपिसी पिपिसीभन्दा प्रतिबोरा १०० रूपैयाँ महँगो पर्छ। सामान्यतया ओपिसी ढलानको 'क्योरिङ' (ढलान बस्न दिइने समय) २० दिनसम्म हुन्छ। स्ट्यान्डर्ड क्योरिङ समय भने २८ दिनसम्म हुने गैरेले जानकारी दिए।
ओपिसी ३३, ४३ र ५३ ग्रेडमा पाइन्छ। ग्रेड भन्नाले सिमेन्टको मजबुती हो। छिटो सुक्ने र छिट्टै चर्किने भएकाले भित्ता प्लास्टरमा यो सिमेन्ट प्रयोग नगर्न इञ्जिनियर गैरेको सुझाव छ।
अब कुरा गरौं पिपिसीको।
पिपिसी ओपिसीभन्दा मसिनो हुन्छ। साथै प्रतिबोरा १०० रूपैयाँसम्म सस्तो हुन्छ। गैरेका अनुसार सस्तो हुनुको मतलब कमसल हुनु भने होइन।
'पिपिसी हतार नगरी निर्माण सम्पन्न गर्ने, लामो समय पानी राख्न सकिने (क्युरिङ) निर्माणमा प्रयोग गर्न सकिन्छ,' गैरेले भने, 'सस्तो हुनु भनेको कमसल हुनु होइन। पिपिसीको पनि ढलान गरी निर्माण बन्न सक्छ।'
पर्खाल वा गारोको मसला, प्लास्टर, भुइँ ढलान आदिमा लामो समय पानी राख्न सकिन्छ। त्यसैले यस्ता ठाउँमा पिपिसीको उपयोगिता धेरै हुने उनले बताए।
कहिलेकाहीँ ओपिसी बढी बलियो मानेर सबै निर्माणमा यही सिमेन्ट प्रयोग गर्न उपभोक्ता तत्पर हुने गैरेको अनुभव छ। तर प्लास्टरमा ओपिसी प्रयोग गर्दा छिटै चर्किने सम्भावना हुन्छ। साथै संरचना नराम्रो देखिने गैरे बताउँछन्। ब्रिज, अग्नि, जगदम्बा, वुद्ध, सोना आदि बजारमा पाइने पिपिसीका उदाहरण हुन्।
सिमेन्ट किन्दा ध्यान दिनुपर्नेः
सामान्यतया सिमेन्ट बनेको मितिबाट ३ महिनाभित्र प्रयोग गर्नु उपयुक्त हुन्छ। सिमेन्टको मिति हेर्न अरू उत्पादनभन्दा अलि फरक छ। यसमा हप्ताअनुसार मिति लेखिएको हुन्छ।
यदि सिमेन्ट २०७७ साल वैशाख पहिलो हप्तामा बनेको छ भने यसमा २०७७ र १ लेखिएको हुन्छ। त्यस्तै जेठको पहिलो हप्तामा बनेको भए २०७७ र ५ लेखिएको हुन्छ। यसको अर्थ यो सिमेन्ट २०७७ सालको ५ औं हप्तामा बनेको हो।
त्यसैगरी सिमेन्टको बोरा ठीक छ कि छैन, त्यो पनि हेर्नुपर्छ। बोरा प्वाल परेको भए सिमेन्ट कम हुन पनि सक्छ। त्यसैगरी संरचना निर्माण गर्दा स्थलमा ल्याएको सिमेन्ट ओस नपर्ने ठाउँमा भण्डारण गर्नुपर्छ।
सिमेन्ट भण्डारण गर्दा भुइँमा काठको फलेक वा चिसो रोक्ने सामान ओछ्याउनुपर्छ। त्यस्तै पानी पर्दा भण्डारण गरिएको कोठामा पानी पस्छ कि पस्दैन भनेर पनि चनाखो हुनुपर्छ। पानी पसेमा सिमेन्टको गुणस्तरमा ह्रास आउनुका साथै प्रयोग गर्नै नमिल्न सक्छ। यस्तो सिमेन्ट प्रयोग गरेमा उप्किने वा संरचना नै कमजोर हुन्छ।
यी पनि पढ्नुस्ः
४ कोठे घर बनाउन कति खर्च लाग्छ गिटी-बालुवामा?
४ कोठे घर बनाउन इँटामा कति खर्च हुन्छ?
घर बनाउन इँटाको विकल्प एएसी ब्लक, १५ प्रतिशत सस्तो