किन बढ्यो सिमेन्ट र छडको मूल्य ?


भौतिक संरचना निर्माणको समय सुरु भएसँगै त्यसमा प्रयोग हुने सामग्रीहरुको मूल्य बढेको छ। वालुवा, सिमेन्ट र छडको मूल्य बढेसँगै व्यक्तिगत र सार्वजनिक संरचना निर्माणको लागत बढ्ने भएको छ।

निर्वाचन सकिएसँगै सिमेन्ट र छडको मूल्य एक्कासी बढेको हो। सार्वजनिक निर्माणमा संलग्न निर्माण व्यवसायीहरुका अनुसार सिमेन्ट प्रतिबोरा एक सय र छड प्रतिकेजी १२ रुपैयाँ बढेको छ।

त्यस्तै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अध्ययनमा पनि गएको दुई महिनाभित्र सिमेन्ट र छडमा मूल्य वृद्धि भएको छ।

सिमेन्ट र छड उत्पादकहरु अहिलेको मूल्य वृद्धि स्वभाविक र प्राकृतिक भएको बताउँछन्। सधैजसो वर्षाभन्दा हिउँदमा सिमेन्टको लागत बढ्ने गरेको र यो वर्ष पनि त्यही भएको कसमस सिमेन्टका प्रवन्ध निर्देशक तथा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवकुमार थापा बताउँछन्।

‘कोइला तथा क्लिङ्करको मूल्य बढेको छ, ढुवानी लागत बढेको छ’ थापाले सेतोपाटीसँग भने ‘त्यसको असर सिधा उत्पादनको मूल्यमा परेको हो।’

अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य ४० डलरसम्म बढेको थापाको भनाइ छ। त्यस्तै इन्धनको मूल्य बढ्ने वित्तिकै ट्रकवालाहरुले बोरामा ३० बाट ४० रुपैयाँ भाडा बढाएको उनले बताए।

भारतबाट आयात गर्नुपर्ने क्लिङ्करको मूल्य पनि एक हजार भारु बढेको उनले बताए। अर्कोतर्फ आयातमा समस्या हुँदा नेपाली उद्योगबाट उत्पादन पनि कम भएको व्यवसायीहरुको भनाइ छ।

निर्माणको क्रम तीव्र भएअनुसार उद्योगहरुको उत्पादन क्षमता त्यहीअनुसार बढेको छैन। अर्कोतिर ५० सिमेन्ट उद्योगमा १३ वटाले मात्र आफै क्लिङ्कर उत्पादन गर्छन् भने बाँकी भारतकै भरमा छन्। जसको कारण बजारमा सिमेन्टको अभाव भई मूल्य बढेको छ।

चुनावमा दिएको चन्दा वस्तुको मूल्य बढाएर असुल गर्न खोजिएको कतिपयको आरोप छ।  यसरी सिमेन्ट र छडमा मूल्य एकैपटक बढ्दा आम उपभोक्ता र सरकार पनि प्रभावित हुने छ। सिमेन्ट मात्रै नभई छडको मूल्य पनि अन्तर्राष्ट्रिय बजारकै कारण बढेको उत्पादकहरु बताउँछन्।

छड निर्माणको कच्चा पदार्थ ‘बिलेट’को मूल्य भारतमा बढेकाले उत्पादनको मूल्यमा असर परेको निर्माण व्यवसायी संघका अध्यक्ष साहिल अग्रवालको भनाइ छ।

‘जब निर्माणको क्रम सुरु हुन्छ स्वभाविक मूल्य केही बढ्छ’ अग्रवालले भने, ‘तर यो पटक अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य बढेर आएकोले ठूलो असर परेको हो।’

अर्कोतर्फ छड उत्पादनको लागि आवश्यक कच्चा पदार्थ ‘बिलेट’आयात गर्ने मुख्य नाका वीरगन्जको सुख्खा बन्दरगाहमा भारतले कोटा लगाएको उनले बताए। कोटा लगाउँदा बिलेटको अभाव भएपछि भनेजति उत्पादन गर्न नसकिएको उनले बताए। सकारले यसमा कुनै पहल नगरेको उद्योगीको आरोप छ।

व्यक्तिगत निर्माणमा संलग्न उपभोक्ताहरु त यसको मारमा पर्ने नै छन् भने सरकारले पहिलेकै मूल्यमा दिएका ठेक्काको लागत पनि बढ्ने भएको छ।

निर्माण लागत बढ्दा यसै त बजेटभन्दा बाहिर गएर खर्च गर्न नसक्ने अवस्थामा पुगेको सरकारका लागि ठूलो धक्का हुने निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठ बताउँछन्।

‘पहिले नै तय मूल्यमा आधारित ठेक्काको लागत बढ्छ, जसबाट एकातिर हामीले भुक्तानी नपाउने अर्कोतिर कामदारले पनि तलब नपाउने अवस्था आउन सक्छ’ श्रेष्ठले भने। एउटा निर्धारित बजेटको फ्रेम बनाएर निर्माण थालेका सर्वसाधारणलाई पनि आर्थिक भार थपिनेछ।
अरु सबै सामग्रीको मूल्य स्थिर हुँदा पनि लागत स्वतः बढ्ने निश्चित छ।

त्यस्तै बालुवा पनि एक टिप्परको ४ हजार रुपैयाँसम्मले मूल्य बढेको छ। अघिल्लो वर्ष २३ हजारमा आउने टिप्परको मूल्य अहिले २७ हजार रुपैयाँसम्म पुगेको कलंकीमा गिट्टी, इँटा र बालुवाको व्यापार गर्ने अर्जुन श्रेष्ठले जानकारी दिए। उनका अनुसार इँटा भर्खर उत्पादन सुरु हुने भएकोले तत्काल मूल्य बढेको छैन।

सामान्य हिसावमा, सिमेन्ट, वालुवा र छडको लागत घर निर्माणमा २० प्रतिशत मान्ने हो भने पनि समग्रमा पाँच प्रतिशत लागत बढ्ने देखिन्छ। अर्थात कसैको घर कात्तिकसम्म ६० लाखमा निर्माण हुनसक्थ्यो भने अब त्यो बढेर ६३ लाख पुग्ने देखिन्छ।

अघिल्लो वर्षको तुलनामा श्रमिकको ज्यालादर भने बढेको छैन। घर निर्माणमा श्रमिक आपूर्ति गरिरहेका अनिल राईका अनुसार फागुनपछि ज्यालादर बढाउने तयारी भएपनि अहिलेसम्म अघिल्लो वर्षकै कायम छ।

निर्माण सामग्रीमा मूल्य बढेपछि व्यापारीहरु नै विरोधमा उत्रिएका छन्। हार्डवेयर, ग्रिल तथा निर्माण व्यवसायीले देशभर संगठित विरोध सुरु गरिसकेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.