सबै इट्टा गुणस्तर चिन्हविहीन, अनिवार्य गरेमा लागू गर्छौँ: व्यवसायी  


जिन्दगीभरको मिहेनतले बनाएको घरको गुणस्तरका लागि कसैले पनि सम्झौता गर्न चाहँदैन।

घर बलियो हुनका लागि प्रयोग हुने निर्माण सामाग्री गुणस्तरीय हुनुपर्दछ। सिमेन्ट, स्टिल, फलामसँगै मुख्य सामाग्री हो इट्टा। नेपालमा इट्टाको व्यवसायिक उत्पादन १९५० को दशकबाट सुरु भएको मानिन्छ।

सामान्यतया नेपालमा परम्परागत माटो पकाएर तयार पारिने इट्टाको प्रयोग धेरै छ। भूकम्पपछि छिटो घर निर्माण गर्नको लागि होलो कंक्रिट ब्लक, लाइट वेट र कम्प्रेस्ड प्रविधिमा आधारित इट्टाको प्रयोग बढेको ब्यवासायीहरु बताउँछन्।

इट्टा बनाउने मापदण्ड छ कि छैन ?, इट्टा कत्तिको गुणस्तरीय छन् ?, के यिनीहरुले गुणस्तर चिन्ह प्राप्त गरेका छन् ?

इट्टा किन्नुअघि यी प्रश्नको उत्तर खोज्नु जरुरी छ। सरकारले इट्टाको मापदण्ड तोकेको छ। इट्टाको तौल, पानी सोस्ने क्षमता, पुर्ण रुपमा सुकाएपछिको तौल आदीको सामान्य मापदण्ड तोकिए पनि अनिवार्य रुपमा नेपाल स्ट्याण्र्डड (एनएस) मान्यता पाउनुपर्ने ब्यवस्था भने छैन।

यो व्यवस्था नै नभएकाले कुनै पनि इट्टा एनएस मान्यताप्राप्त छैनन्। फलामे छड, जिआई वायर, ड्राइसेल एण्ड ब्याट्री, साधारण पोर्टल्याण्ड सिमेन्ट, साधारण स्लाग सिमेन्ट, पोर्टल्याण्ड पोजोलोना सिमेन्ट, एलपिजी सिलिन्डर, कम्पोजिट ग्यास सिलिण्डर तथा ट्युब्स, पिभिसी केवल लगायत १२ बस्तुको मात्र अनिवार्य रुपमा नेपाल स्ट्याण्र्डड (एनएस) मान्यता पाउनुपर्ने ब्यवस्था छ।

भूकम्पपछि सरकारले भवन निर्माणमा अत्याधिक कडाई गरेपनि इट्टाको गुणस्तरीयताप्रति भने उदासिन देखिएको छ। परम्परागत इट्टा र होलो कंक्रिट सिमेन्ट ब्लकको सामान्य मापदण्ड तोकिए पनि पछिल्लो समय नेपाल भित्रिएका ब्लक तथा नयाँ प्रबिधिका इट्टाहरुको भने मापदण्ड समेत नभएको गुणस्तर तथा नापतौल विभागका निर्देशक अनिल शाक्य स्वीकार्छन्।

‘एनएसका लागि कसैले डिमान्ड गरेको छैन, स्ट्याण्डर्ड भनेको डिमाण्ड आएपछि बनाउने हो’ उनले भने। विभागमा मापदण्ड समेत लिन नआएका नयाँ इट्टामा त्यति विश्वास गर्न नसकिने उनले बताए।

यस्ता नयाँ प्रविधिका इट्टाहरुको कुनै मापदण्ड नभएपनि परम्परागत इट्टा र होलो कंक्रिट सिमेन्ट ब्लकको गुणस्तर भने विभागमा चेक गर्ने गरिएको उनले बताए।

विभागले इट्टाको कम्प्रेसिभ स्ट्रेन्थ चेक गर्नको लागि १ हजार १ सय, डेमेन्सन चेक गर्नको लागि १ सय, इफल्लोरेन्स चेक गर्नको लागि १ सय, वाटर अब्जर्वेसन चेक गर्नको लागि ७ सय र होलो सिमेन्ट कंक्रिट ब्लक चेक गर्नको लागि ७ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ।

इट्टाको गुणस्तर छुट्याउन समयको माग भएपनि सरकारी काम निकै झण्झटिलो हुने भएकोले अहिलेसम्म कसैले एनएस नलिएको इट्टा उद्योग संघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारले बताए। मापदण्डअनुसार काम गरिएको दावी गर्दै उनले एनएस चिन्ह अनिवार्य नगरिएकाले यसप्रति ध्यान नगएको बताए।

‘माटो अनुसार इट्टाको गुणस्तर फरक फरक हुन्छ, केही ब्यक्तिले बदमासी गरेर कमसल इट्टा बनाएका पनि हुन सक्छन् त्यसकारण सरकारले नै अनिवार्य गरेपछि मात्र यो लागू हुन्छ’ उनले भने।

सरकारले यो विषयमा वास्ता नगरेपनि ब्यवसायी आफैले पहल गर्ने सोच बनाइरहेको चित्रकारले दावी गरे।  माटोमा पोलेर बनाउने इट्टा ८ – ९ हजार वर्ष अगाडि सम्मको भेटिएकोले यसको गुणस्तर माथि चिन्ता लिनु नपर्ने उनको भनाइ छ।

‘हाम्रो इट्टाको इतिहास निकै लामो छ, नेपालमा अहिले आएका केही नयाँ प्रविधिका इट्टा ट्रायलको लागि मात्र ल्याइएको हो’ चित्रकारले थपे। सरकारले अनिवार्य गरेमा आफूहरुलाई एनएस प्रमाणित गर्न कुनै कठिनाई नहुने उनको भनाई छ।

नेपाल स्ट्यान्डर्ड नभएपनि आफ्नो उत्पादन परम्परागत इट्टाको तुलनामा निर्माण सम्पन्न हुँदासम्म करिब २० प्रतिशत सस्तो, साठी प्रतिशत हलुका र १ नम्बर इट्टा बराबरको भार वहन क्षमता भएकोे एएसी ब्लक ब्यवसायी सुवास अधिकारीको दावी छ।

गुणस्तर विभागले कुनै मापदण्ड नै नबनाएको कारणले आफूहरुले एनएस लिन नपाएको अधिकारीले गुनासो गरे। ‘सरकारी निकाय उदासिन भएपनि आफ्नो उत्पादनको एन एस प्रमाणित गर्न अन्तर्राष्ट्रिय मापदण्डको डकुमेन्टेसन गरिरहेको उनले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.