भवन भट्टले किनेको निगमको बोइङ दिल्ली उडाइने


भवन भट्टको टिबीआई समूह अन्तर्गत रहेको बीबी एयरवेजले नेपाल एयरलाइन्सको बोइङ ७५७ किनेको छ।

१५ करोड रुपैयाँमा किनेको सो बोइङ मर्मतपछि काठमाडौं-नयाँ दिल्ली मात्र उडान गर्ने आफूहरूको योजना रहेको सिईओ अनिमेष कुमार मिश्रले सेतोपाटीलाई जानकारी दिए।

बोइङ मर्मतका लागि मलेसिया लैजाने वा दिल्ली लैजाने निर्णय हुन बाँकी रहेको उनले बताए।

‘बीबी एयरवेज फेरि संचालनमा आउँदैछ,’ सिईओ मिश्रले भने, ‘सुरूवात हामीले नेपाल एयरलाइन्सको बोइङबाट गर्न लागेका छौं।’

निगमले सार्वजनिक उडान गर्न नमिल्ने भन्दै यो पुरानो जहाज बेच्ने निर्णय गरेको थियो।

सिईओ मिश्रले भने कुनैपनि हवाइजहाज उडाउनै नहुने गरि पुरानो नहुने बताए।

‘निगमसँग किनिएको बोइङ उडाउन मिल्ने अवस्थामा छ। एयरक्राप्ट कहिल्यै पुरानो हुँदैन, समय अनुसार सामानहरू परिवर्तन गर्दै जानुपर्ने हुन्छ,’ उनले भने।

उडाउन नमिल्ने भए १५ करोड रुपैयाँ हालेर आफूहरूले किन्नुको कुनै अर्थ नरहने पनि उनले जिकिर गरे।

४ महिनाभित्रमा आफूहरूले बोइङमार्फत दिल्ली उडान थालिने मिश्रले बताए। निगमको बोइङसँगै अर्को बोइङ पनि किन्ने कुरा भइरहेको उनले बताए।

बोइङबाट सेवा सुरू गरेपछि एयरबस किन्ने योजनामा आफूहरू रहेको पनि मिश्रले बताए।

बीबी एयरवेजले नेपालमा यसअघि २०६९ साल भदौ ८ गते व्यवसायिक उडान थालेको थियो। पहिलो उडान उसले मलेसिया गरेको थियो। उडान सुरू भएको ३ महिनामा सो सेवा बन्द भएको थियो। बीबी एयरवेजले २०२ क्षमताको एयरबस लिजमा लिएर सो सेवा सुरू गरेको थियो।

टीवीआई ग्रुपको मातहतमा करीब २१ वटा कम्पनी रहेका छन् । रियल स्टेट, कन्सट्रक्सन, ट्राभल एण्ड ट्रेड, होटल, वेभरेज, मिडिया लगायतका क्षेत्रमा उनको लगानी छ।

त्यसमध्येको एक टीवीआई फुड्सले अहिले जापानमा २ सय भन्दा बढी रेष्टुराँ संचालन गरिरहेको छ। यो समूहको आम्दानीको मुख्य स्रोत तिनै रेष्टुराँ हुन्।

यो पनि हेर्नहोस्

भवन भट्टले किने निगमकाे बाेइङ

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.