जग्गा भाडामा लिएर भए पनि फूल खेती गर्नुहोस्: मन्त्री विश्वकर्मा


वाणिज्यमन्त्री मिनबहादुर विश्वकर्माले जग्गा भाडामा लिएर भए पनि फूलको खेती गर्न सुझाव दिएका छन्।

नेपाल उद्यमशील महिला महासंघको बुधबार राजधनीमा अयोजित दोस्रो साधारणसभामा बोल्दै मन्त्री विश्वकर्माले महिलाहरुको जीवनस्तर र सामाजिक हैसियत बढाउन उद्यम नै उत्कृष्ट बिकल्प रहेको बताएका हुन्।

‘तिहार, भ्यालेनटाइन्स डे लगायतमा करिव ९० प्रतिशत फूल हामीले विदेशबाट आयात गर्छौँ, यदी हाम्रा महिला दिदी बहिनीले नेपालमै व्यवसायिक फूल खेती गर्ने हो भने महिलाहरु उद्यमशील हुनुको साथै केही हदसम्म नेपालको ब्यापार घाटा पनि घट्छ’ मन्त्री विश्वकर्माले भने।

ब्यवसायमा ठूलो लगानी गर्न नसक्नेले पनि मैन बत्ति बनाउने, टिका बनाउने, चुरा बनाउने जस्ता काम ब्यवसायीक रुपमा गर्न सकिने मन्त्री विश्वकर्माले बताए।

यस्ता उत्पादनको प्रवद्र्धन गर्न मन्त्रालयले बिदेशमा प्रदर्शनीको ब्यवस्था समेत मिलाइदिने उनले प्रतिबद्धता जनाए।

कार्यक्रममा बोल्दै महासंघकी अध्यक्ष देविका बुढाथोकीले महिला उद्यमीहरुको उत्पादकत्व बढाउन राज्यले बिशेष कदम चाल्नुपर्ने बिचार राखेकी थिइन। नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्याको भत्सर्ना गर्दै अध्यक्ष बुढाथोकीले उद्यमीहरुले सुरक्षको प्रत्याभुती नगरी देश विकास सम्भव नभएको बताइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.