विमान भाडामा लिन नपाउँदा नेपाल एयरलाइन्सका उडान कटौति


राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले विमान भाडामा लिन नपाउँदा अन्तर्राष्ट्रिय उडान संख्या कटौति गरेको छ। २ एयरबस र एउटा बोइङ मार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको एयरलाइन्सले नियमित मर्मत (सि–चेक)को लागि भन्दै सिंगापुर पठाएपछि अन्तर्राष्ट्रिय गन्तव्य उडान संख्या कटौति गरेको छ।

दुईमहिनासम्म बोइङ नियमित उडानमा नफर्किने भएकोले उडानमा असर नपरोस भनेर निगमले विमान भाडामा लिने निर्णय गरेको थियो। विश्वव्यापी टेन्डरमार्फत भुटान एयरलाइन्सको विमान भाडामा लिने निर्णय गरेको निगमले सरकारी नीतिप्रतिकुल भएको भन्दै पर्यटन मन्त्रालयको निर्देशनपछि त्यसपछि पछि हटेको थियो।

हवाई नीतिले १५ वर्षभन्दा पुरानो विमान नेपाल ल्याउन प्रतिबन्ध लगाएकोमा भुटानले निगमलाई दिने विमान भने १६ वर्ष पुरानो रहेको थियो। किन्नको लागि नीतिले प्रतिबन्ध लगाएको भएपनि भाडामा लिन त्यो नियम लागू नहुने निगमका अधिकारीहरुले तर्क गर्दै आएपछि नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालयले भने उक्त तर्कलाई अस्वीकार गरिदिएको थियो।

विमान अभाव भएपछि निगमले दोहा, क्वालालम्पुर, दिल्ली र बैंगलोरका रात्रिकालिन सबै उडान स्थगन गरेको प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए। सबै उडान कटौति नगरिएपनि सबैतिर उाडनको फ्रिक्वेन्सी घटाइएको र त्यसकारणले पहिले टिकट काटिसकेका यात्रुलाई समस्या सिर्जना नहोस भनेर अन्य विमानमार्फत यात्राको व्यवस्था मिलाइने उनले बताए।

यसअघि निगमले अहिले निगमले सातामा भारतका तीन सहरसहित १७ , दुबई ४, दोहा ३ बैंकक ३, मलेसिया ३ र हङकङ ४ अन्तर्राष्ट्रिय उडान गर्दै आएको थियो।

निगमले उडान कटौति गरेपछि विभिन्न रुटमा विदेशी एयरलाइन्सले भाडामा बढाएका छन् र यसबाट यात्रुहरुलाई मर्का परेको छ। एकातिर नेपाल एयरलाइन्सको बजार शाख गिर्ने, घाटा हुने र अर्कोतिर यात्रुले पनि दुःख पाउने अवस्था आएको भन्दै निगमका अधिकारहरु रुष्ट देखिएका छन्।

 

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.