दम्पती सूर्यप्रसाद र लक्ष्मी लामिछानेलाई अचेल लाग्न थालेको छ — मान्छेभन्दा मौरी सचेत प्राणी हुन्।
किनभने, उनीहरूको तर्क छ — मानिससहित अरू प्राणीले अन्य जीवजन्तु र वातावरण विनाश गरेका छन्। मौरीले गर्दैनन्।
मानिस र प्रकृतिका साना साथी मौरीले दिने योगदान देखेर उनीहरू आफै पनि दंग पर्छन्।
'मौरीले कसैलाई हानि गर्दैन। आफू स्वच्छ वातावरणमा बस्छ। प्रकृति विनाश हुनबाट रोक्न ठूलो भूमिका खेल्छ,' सूर्यले भने, 'यो प्रणाली देख्दा मौरी हामीभन्दा सचेत छ जस्तो लाग्छ।'
मौरीले परागसेचन मार्फत खेतीबाली र जंगली फूलहरूको फल बनाउन भूमिका खेल्छ। मानिसका लागि मह दिन्छ। वातावरण सन्तुलनमा राख्न अरू ठूला शरीर भएका जीवले भन्दा महत्वपूर्ण योगदान गर्छ।
मौरीका यिनै गुणहरूसँग खेलिरहेका सूर्य र लक्ष्मीको आयआर्जनको माध्यम पनि मौरीपालन हो। कास्की, पोखरा महानगरपालिका वडा नम्बर ३१ का उनीहरूले मौरीपालन थालेको झन्डै दुई दशक भइसक्यो।
पृथ्वीनारायण क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेपछि उनीहरू दुवैले जागिर खोजे। शैक्षिक योग्यता र रूचिका क्षेत्रमा काम पाएनन्। पाएको काममा अत्यन्त कम तलब हुन्थ्यो।
उनीहरूको घरमा पहिल्यैदेखि मौरीको घार थियो। उनका दाजु मह काढ्थे। महमा सूर्य लोभिएका थिए। तर भविष्यमा यही व्यवसाय गरौंला भन्ने सोचेका थिएनन्।


२०६२ सालमा बिहे गरेका सूर्य र लक्ष्मीले २०६३ सालमा छोरी जन्माए।
'बच्चा जन्मिँदा पनि रोजगारी गर्न नसकेको भनेर हामीलाई कतिपय मानिसले होच्याउँथे। विदेश जान भन्थे,' सूर्यले सुनाए, 'हामीलाई भने यहीँ केही गरूँ भन्ने थियो।'
लेखनाथमा उनीहरूको घर नजिकै मौरीको घार बनाउने घरेलु उद्योग थियो। त्यसका सञ्चालकले एक दिन उनीहरूलाई आफ्नो उद्योग किन्न र मौरीघार र मह बेच्न भने।
सूर्यले घरमा खाएको महको स्वाद सम्झे। प्रस्ताव स्वीकार गरे र २०६४ सालमा १२ हजार रूपैयाँ लगानीमा त्यो उद्योग किने। त्यति बेला उद्योगमा मौरीसहित दुइटा घार, एउटा मेसिन र केही सामग्री मात्र थिए।
उद्योग चलाउने निधो गरे पनि सूर्य र लक्ष्मीसँग मौरीपालन, रेखदेख र मह काढ्ने सीप थिएन। त्यसैले सूर्यले मौरीपालनको तालिम लिए।
पहिलो वर्षमै उनीहरूले मौरीसहितका १२५ वटा घार उत्पादन गरे। मौरी नभएका घार करिब ५ सय वटा बनाए। घार बनाउन चार जना कामदार राखे।
उनीहरूको 'बेगनास मौरी घार उद्योग' बाट पहिलो वर्षमै झन्डै १२ लाख रूपैयाँको कारोबार भयो। नाफा करिब ५ लाख रूपैयाँ भएको लक्ष्मी सम्झिन्छिन्।
'सुरूमा हामीले राम्ररी हिसाब त राखेनौं। तर घार बनाउने खर्च, भाडा, कर्मचारीको तलब लगायत कटाएर ५ लाख जति नाफा भयो होला,' उनले भनिन्।
पहिलो वर्षमै सोचेभन्दा बढी नाफा भएपछि उनीहरूको हौसला बढ्यो। लामिछाने दम्पतीले मौरीपालन विस्तार गर्यो।
अहिले पनि लेखनाथमा उनीहरूले भाडाको घरमा मौरीपालन गरेका छन्। घरबेटीले घरको भाडा लिए पनि घार राखेको जग्गाको भाडा नलिएको उनीहरूले बताए।
'घरबेटीले घरको मात्र भाडा लिनुहुन्छ, जग्गाको लिनुहुन्न,' उनले भनिन्, 'जति जग्गा चाहिए पनि चलाउनू भनेर हौसला दिनुभएको छ।'
मौरीपालनमा लागेको चार वर्षमै उनीहरूले बेगनासमा जग्गा किनेर मौरीपालन विस्तार गरे। सुरूमा मौरीसहितका घार चार हजारमा बेचेका उनीहरू अहिले १० हजार रूपैयाँमा बेच्छन्। त्यस्तै दुई हजार ५ सय पर्ने रित्तो घारको मूल्य अहिले ४ हजार रूपैयाँ पुगेको छ।
मह होस् वा घार, जति उत्पादन गरे पनि बेच्न उनीहरूलाई समस्या छैन। ग्राहकले घरमै आएर लैजान्छन्।
'मह र मौरीसहितको घारको यति धेरै माग आउँछ, पुर्याउनै गाह्रो छ,' लक्ष्मीले भनिन्।
अहिले उनीहरूको उद्योगबाट वर्षमा कम्तीमा १२ सय वटा मौरीघार उत्पादन हुन्छ। त्यस्तै १२ सय किलो मह उत्पादन हुन्छ। मह प्रतिकिलो एक हजार ५ सय रूपैयाँमा घरबाटै बिक्री हुन्छ।


'वर्षमा कम्तीमा एक करोड रूपैयाँको कारोबार हुन्छ। मौरीबाट फाइदै फाइदा छ, घाटा केही पनि छैन,' सूर्यले भने।
मौरीपालनमा लाग्दाका दुःखका दिन पनि उनीहरूले बिर्सेका छैनन्। घारबाट जंगल गएर बसेको मौरी छोपेर फेरि ल्याउन खोज्दा सूर्यलाई झन्डै २ सय वटा मौरीले टोकेको थियो। त्यति बेला उनलाई ज्वरो आयो।
अनि उनले थाहा पाए — एउटा मौरीले टोकेर विष चढेपछि अरू पनि टोक्न आउँदा रहेछन्। मौरी रिसायो भने आक्रामक हुने रहेछ। तर मौरीलाई फकायो भने नटोक्ने रहेछ।
अचेल उनी मौरीलाई फकाउन सक्छन्। आफ्नो शरीरभरि मौरीको बथान राख्न सक्छन्। मौरीसँग दोस्ती बढाउने उपाय पनि उनी सुझाउँछन्।
मौरी नजिक होहल्ला, मदिरा सेवन गरेर जान हुँदैन। प्रदूषण गर्न, मिच्न हुँदैन। मौरी फकाउन मह वा चिनीपानी दिनुपर्छ।
एउटा बथानमा एउटा रानी मौरी हुन्छ। त्यसले दिनमा ३ सयदेखि ८ सय वटासम्म अण्डा पार्छ र रानी गन्ध छाड्छ। त्यो गन्ध पछ्याउँदै भाले र कर्मी मौरी रानीका वरिपरि गोलबन्द हुन्छन्।
सूर्यका अनुसार सिजनका बेला एउटा बथानमा २५ प्रतिशतसम्म भाले मौरी उत्पादन हुन्छ। भालेको काम रानी मौरीसँग सहवास गर्ने मात्र हो। कर्मीले फूलको रस ल्याएर मह संकलन गर्ने, चाका बनाउने, परागकण ल्याउने र रानी मौरीको स्याहारसुसार गर्ने काम गर्छ।
एउटा घारमा भएको मौरीको आधा बथान अर्को खाली घारमा लैजान पनि उनीहरूले जानेका छन्। यसरी विभाजन गरेर उनीहरू एक घारबाट वर्षमा चार वटा घार तयार गर्छन्।
'बिस्तारै मौरीसँग खेल्दै दिन बितेको पनि पत्तो पाउँदैनौं हामी,' सूर्य र लक्ष्मी भन्छन्।
