नेपाल उद्योग परिसंघले निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिन सरकारसँग माग गरेको छ। हालै भएको प्रदर्शनको क्रममा धेरै निजी सम्पत्ति र औद्योगिक घरनामाथि तोडफोड तथा आगजनी भएपछि परिसंघले विज्ञप्ती जारी गरेर यस्तो माग गरेको हो।
परिसंघले सुशासन, भ्रष्टाचार निवारण र सार्वजनिक क्षेत्रमा पारदर्शिता हुनुपर्ने लगायतका युवा पुस्ताको आकांक्षालाई उच्च महत्व दिँदै मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास लिएको जनाएको छ।
'विद्यमान अन्योलतालाई चिर्दै अगाडि बढ्नुपर्ने आम नेपालीको चाहना बमोजिम मुलुकमा शान्ति, सुव्यवस्था कायम हुने विश्वास लिएका छौं,' जारी विज्ञप्तिमा भनिएको छ।
आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड र लुटपाटको घटनाले उद्योगी व्यवसायीहरुलाई अत्यन्त दुःखि र चिन्तित बनाएको परिसंघको भनाइ छ।
'औद्योगिक एवं व्यावसायिक क्षेत्रमा परेको गम्भीर असर र व्यक्ति तथा व्यवसाय केन्द्रित तोडफोड, आगजनी एवं लुटपाटका घटनाले लगानीकर्तालाई त्रसित बनाएको छ र धेरैको रोजगारीसमेत प्रभावित भएको छ', विज्ञप्तिमा भनिएको छ।
लगानीकर्ता त्रसित भइरहने स्थिति रहे त्यसको गम्भीर असर रोजगारीसँगै स्वदेशी एवं विदेशी लगानीमा पर्ने भएकाले निजी क्षेत्रलाई निर्बाध रूपमा उद्योग व्यवसाय गर्ने वातावरण बनाई सुरक्षाको प्रत्याभूति दिन परिसंघले आग्रह गरेको छ।
सार्वजनिक एवं निजी क्षेत्रका संरचना पुनर्निर्माणका लागि खर्बौं लगानी आवश्यक पर्ने र राज्यको स्रोतले मात्रै पुनर्निर्माण गर्न नसक्ने परिसंघको भनाइ छ। राज्यको प्रमुख आय स्रोत पनि निजी क्षेत्र नै भएको हुँदा त्रास एवं भयमुक्त भई उद्योग व्यवसाय गर्ने वातावरण सुनिश्चित गर्न पनि परिसंघले आग्रह गरेको छ।
कोभिड-१९ र त्यसपछिका नियामकीय प्रावधानका कारण करिब तीन वर्ष अर्थतन्त्रले निकै चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपरेको स्मरण गराउँदै परिसंघले हालको परिस्थितिमा सहज रूपमा उद्योग व्यवसाय सञ्चालन हुन नसके अर्थतन्त्रको चक्रमा नै असरपरि समग्र अर्थतन्त्रको विकास एवं सरकारको राजस्व प्रभावित हुन सक्ने बताएको छ।
समयमै उचित वातावरण बनाउन परिसंघले सम्बन्धित सबै पक्षसँग अनुरोध समेत गरेको छ। अप्ठ्यारोमा परेको मुलुकको अर्थतन्त्रलाई सबै मिलेर अगाडि बढाउने वातावरण बनाउनु सबैको कर्तव्य भएको परिसंघको बुझाइ छ।
युवा पुस्ताले चाहेको आकांक्षालाई मूर्तरूप दिई मुलुकलाई नयाँ चरणमा प्रवेश गराउने कार्यमा आजैका दिनदेखि नै गम्भीर प्रयत्नशील बन्नुपर्ने परिसंघको धारणा रहेको जानकारी पनि विज्ञप्तिमा गराइएको छ।